कविता ः रातो घोडा
राता लालीगुराँसले
राताम्मे डाँडाको फेदमा
एक रक्तिम रातमा
जन्मिएको म लालबहादुर
बालापनका रमाइला रसिला रागहरूसँग रत्तिँदै हुर्कें ।
इन्द्रेणी लागेको एक रात
बन्दुक बोकेर केही राता मान्छेहरू आए
रातो किताब पल्टाएर रक्तक्रान्ति पढाए
मेरो अङ्गुरी रगत उम्लिएर आयो
लालसलाम अभिवादन गरी
लालयोद्धाहरूको रक्तिम बाटोमा लामबद्ध भएँ
मसालका लप्काहरूले आकाश छोए ।
सकेटहरू बेलगाम पड्किए ।
रगत मेरो पनि बग्यो
उनीहरूको पनि ।
एक साँझ रातो सूर्य डुब्न लाग्दा कसैको इसारामा
दुवै घाइतेहरूका काला टाउकाहरू मिले
बाघ र बाख्राहरूले एकअर्कालाई रातो पछ्यौरी ओढाए
बादल लागेकै थियो,
प्यासीहरू वर्षात्पछिको इन्द्रेणी पर्खेर बसे
तर लाग्यो चैते खडेरी
रघुवंशीहरूको घमासान
अनि, मौलोमा चढेका दाब्सिएको पेट भएका
लाखौँ लालबहादुरहरूका खुन जमेर काला भए
सिरू उम्रिएका घरहरू
चुँडिएका साइनोका जुइनाहरू
जोडिएनन्
बरू उदायो छानामा खग्रास ग्रहण
निधारमा अयोग्यको ठप्पा भिरेर
कृष्णबहादुर दलालको कालो डुङ्गामा चढी
अरब आएँ म घाम ताप्न
थोरै दिराममा धेरै पसिना साट्ने
नजानेको काम गर्न
रातो किताब सन्दुकमा थन्काएर ।
मलाई आजकाल राति सधैँ ऐठन हुन्छ
भाटे कारबाहीले आँखा सेता पारेका सुराकीका आँखाले तर्साउँछन्
खोला किनारमा सेलाएका सहिद किशोरका निर्दोष अनुहारहरूले कोपर्छन्
शरीरहरूमा छरिएका छर्राहरू गोलीहरूका बिस्कुन लाग्छन्
जति थाके पनि म सुत्न सक्दिनँ रातभर
अनि जान्छु म बरदुबईका चेपहरूमा
रक्तिम यात्रामा बन्दुकको कुन्दाले फुटाएका
जाँडका घ्याम्पाहरू साक्षी राखी म पिउँछु रातो घोडा
पेटीमा टुक्रुक्क बसेर
बगाउँछु राता सपनाका काला धब्बाहरू
र लोलाउँछु
चिहानजस्तो पार्टेसनका बङ्करबेडमा पसारिएर
पर्खंदै छु अझै,
संसारका मजदुरहरू कहिले एक होलान् भनेर ।
–दुबईबाट