लुम्बिनीमा भारत र चीनको आ–आफ्नै रणनीति
काठमाडौँ । लुम्बिनीमा हुने भनिएको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ स्थगित गराएर नेपालस्थित चिनियाँ दूतावासले चैत ३० गते ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ आयोजना गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि थिए उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ।
चिनियाँ दूतावासले आयोजना गरेको महोत्सव सकिएको एक महिनापछि भारतीय दूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा बुद्ध जयन्ती विशेष महोत्सव आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा भारतीय दूतावासले असार ६ गते पनि लुम्बिनीमै योग सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सोही दिवसको अवसरमा उसले पोखरामा पनि कार्यक्रम आयोजना गरेको थियो ।
त्यसअघि भारतले २०८० मंसिर २३ गते भारत–नेपाल सांस्कृतिक उत्सव आयोजना गरेको थियो ।
नेपाल भ्रमणमा आएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले गत जेठ ३१ गते लुम्बिनीको भ्रमण गरेका थिए ।
भारत र चीनले लुम्बिनीमा एकपछि अर्को यस्तै कार्यक्रम गर्दै आएका छन् । एक–दुई महिना बिराएर दुवै देशले लुम्बिनीमा कुनै न कुनै बहानामा आफ्नो कार्यक्रम गरेकै हुन्छन् भने दुवै देशले त्यहाँ उच्चस्तरीय भ्रमण गराएका हुन्छन् ।
भारतको चित्त दुखाइ
बौद्ध धर्मलाई लिएर लुम्बिनीप्रति चीनको अत्यधिक चासो बढेको छ । त्यसमा भारतले चित्त दुखाएको छ । भारत–नेपाल सीमाभन्दा १० किलोमिटर दुरीमा रहेको लुम्बिनीमा चीनको गतिविधि बढ्नु भारतका लागि टाउको दुखाइको विषय बनेको छ ।
लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लरिएटस् एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ को आयोजनाको तयारी गरेका थिए । त्यो कार्यक्रममा भारतमा निर्वासित जीवन बिताइरहेका दलाइ लामा पनि आउने भएपछि चीनले आपत्तिमात्र जनाए, कार्यक्रम स्थगित गराउन पहल गरेको थियो । पछि सो सम्मेलन भारतमा आयोजना गरियो ।
गठबन्धन हेरफेरसँगै एमाले–माओवादी केन्द्रको सरकार बनेपछि त्यो शिखर सम्मेलन स्थगित भएको थियो । लुम्बिनीमा भारतले आफ्नो प्रभाव बढाउन थालेपछि चीनले पनि आफ्नो गतिविधि बढाइरहेको छ । गत फागुन २८ र २९ गते हुने भनिएको शिखर सम्मेलन स्थगित भए लगत्तै चिनियाँ दूतावासले चैतमा शान्ति महोत्सव आयोजना गरेको थियो ।
गत चैतमा सम्पन्न शान्ति महोत्सवमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भनेका थिए, ‘बुद्ध जन्मस्थल नेपाल र बौद्धमार्गीहरूको अधिक सङ्ख्या रहेको चीनबिच धार्मिक तथा सांस्कृतिक रूपमा पनि अन्योन्याश्रित सम्बन्ध छ ।’
नेपाली राजकुमारी भृकुटी र मूर्तिकार अरनिकोकै पालादेखि अर्थात् परापूर्वकालदेखि नै नेपाल र चीनबिच गहिरो मित्रता रहेको उनको भनाइ थियो । ‘हामी लुम्बिनीलाई नेपालको ध्यानको राजधानी बनाउने प्रस्ताव राख्ने इच्छा व्यक्त गर्दछौँ,’ उनले भनेका थिए ।
भारतको चासो
लुम्बिनीप्रति चीनको चासोबारे लुम्बिनी विकास कोषका पूर्वसदस्यसचिव अजितमान तमाङ भन्छन्, ‘लुम्बिनीको खोज नै चीनले गरेको हो, बुद्ध धर्मसँग चिनियाँको विशेष लगाव छ । चीनले बौद्ध धर्म र लुम्बिनीका लागि केही गर्न खोजेको छ । त्यही भएर उसले त्यति चासोपूर्वक हेरेको हो ।’
भारतले लुम्बिनीमा किन चासो दिएको छ भन्ने आफूलाई थाहा नभएको उनले बताए । तर आफू सदस्यसचिव भएको बेला त्यहाँ आरएसएसको गतिविधि हेर्दा बौद्ध धर्मभन्दा त्यहाँ हिन्दु धर्मलाई स्थापित गर्न खोजेको देखिने उनको भनाइ छ । सोही क्रममा मायादेवी मन्दिरमा भीमसेनको पूजा गराउने गरेको उनले बताए ।
नेपालमा लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेले मायादेवी मन्दिरको छेउमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा पिपलको बोट जबर्जस्ती रोपेको पनि उनले सुनाए ।
भारतले इन्टरनेशनल बुद्धिष्ठ कन्फेडेरेशन (आइबीसी)मार्फत ठुलो लगानी गरेको छ । आइबीसीमा नेपालबाट पनि केही सदस्य छन् । सरकारको लगानीमा चलेको आइबीसीले लुम्बिनीमा जग्गा प्राप्त गरेको छ भने त्यहाँ गुम्बा पनि बनाएको छ ।
भारतले चीनको गतिविधि रोक्न र त्यसमा निगरानी राख्नका लागि आफ्ना गतिविधिमा तीव्रता दिएको छ ।
नेपालबारे अध्ययन अनुसन्धान गर्दै आएका भारतका वरिष्ट रिसर्चर डा.निहार नायक भन्छन्, ‘भारतका लागि लुम्बिनी धार्मिक मुद्दा हो भने चीनका लागि रणनीतिक मुद्दा हो । बुद्ध नेपालमा जन्मे पनि ज्ञान भारतमा प्राप्त गरे अर्थात् बुद्धको जन्मस्थल नेपाल हो भने कर्मस्थल भारतको हो । त्यसलाई जोडेर भारतले लुम्बिनीसँग विशेष सम्बन्ध बनाउन खोजको हो तर चीनले कुन सम्बन्धका आधारमा किन लुम्बिनीलाई टार्गेट गरेको हो भन्ने मलाई थाहा छैन ।’
चीनले नेपालमा भारतीय सीमाका कति नजिक रहेर गतिविधि गर्न पाउँछ भनेर नेपालले स्पष्ट गर्नुपर्ने उनी बताउँछन् ।
नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा उनी नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनलाई लुम्बिनी भ्रमणको प्रस्ताव गरिएको थियो । लुम्बिनीमा बढ्दै गएको चीनको गतिविधिप्रति असन्तुष्ट रहेका मोदीले लुम्बिनीको भ्रमण गर्न चाहेका थिएनन् ।
दोस्रो कार्यकालमा उनी प्रधानमन्त्री बनेपछि लुम्बिनीको भ्रमण गरेका थिए । सन् २०२२ मा लुम्बिनीको भ्रमण गर्ने भारतका पहिलो प्रधानमन्त्री मोदी नै भए । सो भ्रमणका क्रममा उनले इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एन्ड हेरिटेजको शिलान्यास गरेका थिए ।
श्रीलंकालीहरूको अगुवाइमा लुम्बिनीमा स्थापना गरिएको महाबोधी समाजमा भारत जोडिएको देखिन्छ । भारतको कलकत्ताबाट सञ्चालन हुँदै आएकाले सो महाबोधीलाई कलकत्ताको मन्दिर पनि भन्छन् । त्यस्तै, तौलिहवा जाने बाटोमा भारत सरकारले एउटा संग्रहालय पनि बनाइदिएको छ ।
चीन र भारतको एयरपोर्ट रणनीति
भारतले लुम्बिनीमा आफ्नो पकड बनाउनका लागि भारतको कुशीनगरबाट लुम्बिनी जोड्ने रेल मार्ग बनाउने प्रस्ताव गरेको वर्षौं भइसक्यो तर हालसम्म त्यसको काम अगाडि बढेको छैन । त्यस्तै चीनले पनि काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्ग निर्माणको घोषणा गरेको छ तर त्यो काम पनि अगाडि बढेको छैन ।
२०७३ जेठमा नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन जियाङगोउले लुम्बिनीको भ्रमण गर्ने क्रममा छिङहाईबाट सिगात्से हुँदै केरुङ जोड्ने रेलमार्ग काठमाडौँ, पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सुनाएका थिए । सो रेलमार्गबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा द्विपक्षीय सम्झौता नै भएको थियो ।
दुवै देशले आआफ्नो रेललाई लुम्बिनीसम्म पुर्याउन सकेनन् तर दुवै देशले लुम्बिनीलाई लक्षित गरी एयरपोर्टमा लगानी गरेका छन् । चिनियाँ कम्पनीले निमार्ण गरेको* लुम्बिनीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ भने भारतले नेपाली सीमा नजिकै आफ्नै भू–भाग कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । जबकि भैरहवामा चिनियाँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल भने भारतकै असहयोगका कारण पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।
भारतले हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुटको अनुमति दिएको छैन । प्रधानमन्त्री प्रचण्डले असार ७ गते एक कार्यक्रममा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गर्ने भनेका थिए ।
गत जेठको अन्तिम साता नेपालको भ्रमणमा आएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
भारत र चीनले लुम्बिनीमा आ–आफ्नो बर्चस्व देखाउनका लागि प्रतिस्पर्धा गरिरहेको कुरा यसैबाट पुष्टि हुन्छ ।
भैरहवा एयरपोर्ट सञ्चालनमा नआएसम्म लुम्बिनी आउनका लागि विदेशी पर्यटकका लागि भारतको कुशीनगर एयरपोर्ट नै सजिलो भएको छ । जहाँ भुटान, थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट सिधा उडान हुन्छन् । ती देशबाट आएका बुद्धिष्ठहरू भारतको बौद्ध गया र नेपालको लुम्बिनीसम्म आउने गरेका गरेका छन् ।
सन् २०२२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा कुशीनगरको एयरपोर्ट नै प्रयोग गरेका थिए । दिल्लीबाट कुशीनगर एयरपोर्टमा आएका उनी त्यहाँबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए तर प्रधानमन्त्री मोदीले चिनियाँ लगानीमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेनन् ।
त्यस्तै भारतले बुद्धको नाममा महापरिनिर्वाण एक्स्प्रेस नामको रेल पनि सञ्चालनमा ल्याएको छ । लुम्बिनीलाई नै लक्षित गरी भारतले यी सब गरेकोे धेरैको बुझाइ छ । भारतले नेपालको सीमानजिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य अन्यौलमा रहेको जानकारहरू बताउँछन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट तयार भइसकेको छ । त्यसको उद्घाटन पनि भइसकेको छ तर हालसम्म पूर्ण सञ्चालनमा आएको छैन । चीनले अन्तर्राष्ट्रिय उडान गर्ने भने पनि रुट नपाएको कारण ढिलाइ भइरहेको छ ।
चीनको चासो
चीनले पछिल्लो समय लुम्बिनी आसपासमा सहायता र सम्बन्ध बढाउने कार्यलाई तीव्रता दिएको छ । लुम्बिनीमा चीनले गत असोजमा बीआरआईको कार्यालय सञ्चालनमा ल्याएको छ । बेल्ड एण्ड रोड र सिल्क रोडमार्फत विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु गरेकै दिन बीआरआईको १०औँ वार्षिकोत्सवको अवसरमा त्यहाँ कार्यालय सुरु गरिएको हो ।
त्यस्तै चीनले कपिलवस्तुको वाणगंगा नगरपालिका र चीनको आन्हुई प्रान्तको छिनह्यु सहरबिच भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कपिलवस्तु बहुमुखी क्याम्पसलाई भवन निर्माणका लागि तीन करोड रुपैयाँ पनि चीनले दिएको छ ।
चिनियाँ राजदूत चेन सोङले गत चैतमा लुम्बिनीमा भएको कार्यक्रममा विश्वमै सबभन्दा बढी बुद्धिष्ट चीनमा रहेको दाबी गरेका थिए । लुम्बिनीमा पनि भारतभन्दा बढी चिनियाँ बुद्धिष्ट भेटिन्छन् । त्यही भएर चीन लुम्बिनीप्रति गम्भीर देखिएको बताइन्छ । लुम्बिनी विकास कोषका पूर्वकोषाध्यक्ष ओम आर्यालका अनुसार चीनले लुम्बिनीलाई विश्वमै चिनाउन खोजेको छ । ‘चीनको अरु केही चाहना होइन, बुद्ध धर्मलाई शान्तिको पर्यायको रूपमा कसरी चिनाउन सकिन्छ भन्नेमा लागेको छ,’ उनले भने ।
उनका अनुसार लुम्बिनीसँग चीनको लगाव धेरै पुरानो हो । उनका अनुसार दश वर्षअघि चीनले लुम्बिनीमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । विश्व शान्तिको कामना गर्दै चीनले एक करोड दीप बालेको थियो । हाल लुम्बिनीस्थित स्तूप क्षेत्रमा चीनको एउटा विहार छ भने त्यहाँ अर्को एउटा विहार बनाउनका लागि चीनले जग्गा प्राप्त गरिसकेको छ ।
*सम्पादन गरिएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था
-
चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक
-
शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ–गृहमन्त्री लेखक
-
लरेन्स बिश्नोईका भाइ अनमोल पक्राउ परेको खबरमा अमेरिकाले के भन्यो ?
-
अवैध चुनढुङ्गा उत्खनन गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध मुद्दा, अध्यक्ष मुरारका ४ लाख धरौटीमा रिहा
-
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण