बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : भारतले बंगलादेशलाई हरायो

शनिबार, ०८ असार २०८१, २३ : ३६
शनिबार, ०८ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । जारी विश्वकपमा भारत हालसम्म अपराजित छ ।

लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ । भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

एक खेलबाट दुई अंक जोडेको पूर्वविजेता अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको अफगानिस्तान शून्य अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको बंगलादेशले पनि हालसम्म अंक बटुल्न सकेको छैन ।
टी–२० विश्वकपको पहिलो संस्करणको विजेता भारतले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो । बंगलादेशी टोली भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित भएको थियो । 

शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनाउन सक्यो । 

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले केवल २७ बलमा तीन छक्का र चार चौकाको मद्दतले अविजित ५० रन बनाए । ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । 
कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे । ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे । ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए ।
विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलमा तीन छक्का पनि हिर्काए । 
बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक विकेट लिए । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए । 

कप्तान नजमुलले ३२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए । ओपनर तानजिद हसनले २९ रन जोडे । अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भएका थिए । सकिब अल हसन पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । 

यसैगरी बंगलादेशका लागि तल्लो क्रमका ब्याट्सम्यान रिसाद होसैनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । महमुदुल्लाहले पनि टोलीको खातामा १३ रन थपे । 
भारतीय टोलीका बलर कुलदीप यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप