विश्व बैंकले पोखराको दोविल्ला–कोत्रे सडक स्तरोन्नति गर्ने
पोखरा । विश्व बैंकले पोखराको दोविल्लादेखि कोत्रे खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ ।
पोखरा महानगरपालिकाको तेस्रो परियोजनाको रूपमा बैंकले दोविल्लादेखि बाघमारा हुँदै पुँडीटारबाट तल्लो गगनगौंडासम्मको सडक स्तरोन्नति गर्ने सम्झौता भएको हो ।
सडक निर्माणका लागि महानगरपालिकाले भरतपुरको आसिस निर्माण सेवासँग सम्झौता गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सडक ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । सडक स्तरोन्नति गर्न विश्व बैंकले ७७ करोड ६८ लाख सहयोग गर्नेछ ।
पूरा सडक साढे १२ किलोमिटर छ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ भने सडकको दायाँबायाँ नाला सहितको फुट ट्र्याक बनाइने छ ।
यसअघि विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख समेतको उपस्थितिमा परियोजनाको स्थलगत अवलोकन गरिएको थियो । विश्व बैंकले पोखरामा ३ अर्ब आर्थिक सहायता दिनेछ ।
त्यसमध्ये तालचोकदेखि बेगनास तालसम्मको सडक र शिशुवा–शिशाघाट सडकको काम थालिएको छ ।