आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

ईश्वरको राज्य

शनिबार, ०८ असार २०८१, १७ : ०४
शनिबार, ०८ असार २०८१

चारतिर सेतो सिसाले घेरिएको बन्द कोठालाई एसीको चिसो हावाले चिसो बनाइरहेछ । कोठाको एक कुनामा छ, ठुलो सफा टेबल अनि टेबलपछाडि छ एक सानदार घुम्ने कुर्ची र कुर्चीमा विराजमान छन्— ह्युम पाइप फ्याक्ट्रीका म्यानेजर निमा शाक्य । 

निमाको अनुहारमा मुजा परेका छन् । तालुतिर लगभग खुइलिएको छ, घुच्चुकतिर बाँकी रहेका कपाल अधिकांश फुलेका छन् । यी सबैले उनको उमेर ६० कटेको संकेत गर्छ । रङ उडेको फिक्का सर्ट, मुजा परेको पाइन्ट अनि खुइलिएका एक जोर छालाका जुत्तामा उनी हरेक दिन १० बज्नुअगाडि नै हाजिर हुन्छन्, यही बन्द कोठाभित्र । 

उनलाई यही कोठाभित्र मात्र आनन्द लाग्छ । बाहिरको वातावरण उनलाई फिटिक्कै मन पर्दैन । बाहिरको तातो गर्मी, सिमेन्टको धुलो र डढेको मोबिलले काला भएका फोहोरी मजदुरहरूप्रति उनलाई जति घृणा छ, त्यति घृणा फ्याक्ट्री वरपर बग्रेल्ती भौँतारिरहेका भोका कुकुरप्रति पनि छैन । 

उनलाई देख्नेबित्तिकै कुकुरहरू चुपचाप उनको पछि लाग्थे । किनकि उनले भोका कुकुरहरूलाई बिस्कुट दिन्थे । मजदुरहरूलाई देख्दा भने यिनै कुकुरले झम्टिन्थे ।

निमालाई पहिले कुकुर मनै पर्दैनथ्यो । घरमा न छोराहरू वशमा भए न छोरी !  जेठो छोरो दिनभर कोठा बन्द गरेर टोलाएर बस्ने भयो, उसलाई प्रेमले समात्यो । कान्छो घरमै हँुदैनथ्यो उसलाई साथीहरूले समाते । घर सोचेभन्दा नराम्रोसँग चलिरहेको थियो । छोरी टिकटकमै रमाउने ।

एक दिन बिहान दैलोमै अघोरीझैँ लाग्ने बाबा आए । बम–बम भोले भनेर जोडले चिच्याउनेबित्तिकै निमाकी श्रीमती दगुर्दै आइपुगिन् र दक्षिणास्वरूप पाँचका दुई नोट टोकरीमा खसालिन् । उनको मनमा झस्स आयो, बाबाहरूमा अलौकिक शक्ति हुन्छ भन्थे, यिनीसँग पनि छ कि ! 

उनले सोधिन्— बाबा ! घर सोचेजस्तो राम्रो चलेन के गर्ने होला ? बाबाले दक्षिणा हेरेर नाक खुम्च्याए । उनले कुरा बुझिन् र हरियो सयको नोट टोकरीमा खसालिन् । बाबा मख्ख हुँदै भने, ‘चावल ल्याइए मे देख्ता हुँ ।’ 

उनी दौडँदै चामल लिएर आउँछिन् ! बाबाले घोत्लिएर चामलका दानालाई हेरेर भने, ‘ईस मे पैसा डालिए, कुछ बडावाला डालिए ।’ उनले पाँच सयको एउटा नोट थालीमा राखिन् । बाबाका दृष्टि झन् तेज भए र चामलका दानालाई यता–उता सार्दै भने— घरमे कुत्ता पालिए, कुत्ते को अच्छा–अच्छा भोजन खिलाइए, सब ठिक हो जाएगा ।’ 

त्यसै दिनदेखि हो निमालाई कुकुर प्रिय लाग्न थालेको । निमाकी श्रीमतीले कुकुरलाई दिनमा तीनपटक भोजन दिन्थिन् । कुकुर मोटायो उनी भने दुब्लाइन्, घरको अवस्था जस्ताको त्यस्तै रह्यो । 

निमाले अफिसको भित्तामा झुन्डिएको घडी हेर्छन्, ३ बजेको थियो, उनी बाहिर निस्किए । मजदुरहरूले लामो डोरीले पोखरीमा डुबाएको पाइपलाई निकाल्दै थिए । उनीहरूलाई हेरेर निमाले चिच्याए— दिनभरिमा जम्मा १० वटा पाइप मात्र ? होइन, खाएर पचाउन मात्र आउँछौ कि क्या हो । 

निमाका कुरा सुनेर एक पाका वृद्धले खुइय्य गरे र पसिना पुछे । छेउमै बसेको केटो भने मुखमा भएको सुर्ती थुकेर निच्च हाँस्यो । ऊ अक्सर जति गाली सुन्थ्यो, त्यति हाँस्थ्यो । मामपाकाहरू भन्दै निमा फेरि अफिसमा फर्किए । कुकुरहरूले उनलाई हेरेर पुच्छर हल्लाए । उनी कुकुरहरूलाई हेरेर मुस्कुराए र कुर्चीमा बसेर आराम गर्न थाले । 

साँझ पर्दै जाँदा सहरको व्यस्तता झनै बढेको छ । सहर व्यस्त छ, तर ऊ व्यस्त छैन । सहरमा कोही कसैलाई भेट्न दौडिरहेछ, कोही कसैलाई पर्खिरहेछ, तर उसलाई न कसैलाई भेट्नु छ, कसैलाई पर्खनु ।

‘सर, सर ! मलाई हजार रुपैयाँ दिनु न ? । 

‘मामपाखा ।’ 

केटो निच्च हाँस्यो । 

‘कसलाई दिन्छस् हँ पैसा ?’ 

केटो केही नबोली हाँसिरहेछ । 

निमाले टेबलको घर्राबाट हजारको नोट निकालेर दिए—  मामपाखा दिनकै माग्न आउने होइन नि !  

केटो फेरि निच्च हाँस्छ र फर्कन्छ । 

दिनभरको थकान र भोकले केटाको पेट बटारिरहेको थियो । फ्याक्ट्रीको कालो ठुलो गेटबाट ऊ बाहिर निस्कियो । बाहिर निस्कँदाबित्तिकै उसलाई लाग्यो— आफूभन्दा बाहिर पनि छुट्टै निकै सुन्दर संसार छ, जहाँ बच्चाहरू खेलिरहन्छन्  । उसकै उमेरका जोडीहरू समेत हात समातेर रोमाञ्चित हुँदै हिँडिरहेका छन् । अलि पर उमेर ढल्दै गरेका विवाहित जोडी पसलमा समान मोलमोलाइ गरिरहेका छन् । फ्याक्ट्री र सहर त्यति दूर छैनन्, जति उसका सपना ऊबाट दूर छन् । जुन सपना अरूका लागि साना निकै साना छन्, उसका लागि त्यही सपना जीवनभन्दा ठुला भएका छन् । 

सहर व्यस्त छ, सबै हतारोको दौडमा लम्किरहेछन् । साँझ पर्दै जाँदा सहरको व्यस्तता झनै बढेको छ । सहर व्यस्त छ, तर ऊ व्यस्त छैन । सहरमा कोही कसैलाई भेट्न दौडिरहेछ, कोही कसैलाई पर्खिरहेछ, तर उसलाई न कसैलाई भेट्नु छ, कसैलाई पर्खनु । उसको यात्रा त्यहीँसम्मको हो, जहाँ मःमःका केही डल्ला पाकिरहेका छन्, जसले उसको भोक मेटाउनेछ । अनि उसलाई स्थानीय रक्सीले पनि पर्खिरहेछ । 

रात छिपिँदै छ, ऊ लडखडाउँदै फ्याक्ट्रीको गेटभित्र छिर्छ । ह्युम पाइपका भित्र लुकेका कुकुरहरू एकपछि अर्काे गर्दै बाहिर निस्कन्छन् र जोडले भुक्दै उसको पछि लाग्छन् । ऊ हातमा ढुङ्गा लिन्छ र हिर्काउन खोज्छ, तर हिर्काउँदैन । ऊ सोच्छ— यी कुकुरहरू पनि मजस्तै निरीह छन्, एउटा निरीहले अर्काे निरीहलाई किन चोट दिनु  ? उनीहरू पनि बाँच्नका लागि कसैका भरमा छन् मजस्तै तर उनीहरू र ममा भएको एउटा असमानता छ, त्यो हो उनीहरू स्वतन्त्र छन् म आफैँमा कैदमा छु । 

फ्याक्ट्रीको कुनामै छ उसको अँध्यारो कोठा । जसै ढोका उघ्रियो, मन्द जुनको उज्यालो प्रकाश उसको कोठामा पस्यो । जुनको त्यही उज्यालोमा उसले बत्ती बाल्यो । कोठाबाट मुसाहरू सलबलाउँदै भागे । कोठाको भित्तामा उसका पुराना दुई जोर लुगा झुन्डिएका थिए । भित्ताकै अर्काे छेउमै छ, एउटा झुस्स दारी भएको विदेशी मानिसको फोटो, जो मन्द मुस्कानमा छ । उसले टोपी लगाएको छ, टोपीमा रातो तारा छ, जुन उसलाई खुब सुहाएको छ । उसलाई यो मानिस को हो थाह छैन, कहाँको हो यो पनि थाह छैन तर उसलाई हेर्दा ऊ खुसी हुन्छ, किनकि ऊ पनि ऊजस्तै युवा छ । त्योभन्दा ठुलो कुरा ऊ पनि त्यस्तै मुस्कुराउँछ, जसरी त्यो फोटोको मान्छे मुस्कुराउँछ । 

भुइँमा छन् छरपस्ट केही भाँडाकुँडा, केही प्लास्टिकका पुराना र निकै मैला डब्बा, केही थान प्लास्टिकका झोला । एउटा खाट छ, जहाँ मुस्किलले ऊ एक्लै निदाउन सक्छ, जसका गोडा यति कमजोर भएका छन् कि जुनसुकै बेला भुइँमा थचक्क बस्लान् जस्ता । 

केटो खाटमा पल्टिएको छ । ऊ निदाउन डराइरहेछ, किनकि उसले केही दिनदेखि सपनामा आफ्नो बाबुलाई देखिरहेको थियो । उसलाई बाबुले भनिरहेका थिए— छोरा, हेर म यहाँ कति खुसी छु, यहाँ कति सुखी छु । कहिल्यै नअघाएको म यहाँ आएपछि अघाएको छु । यहाँ कसैले कसैलाई केही गर्दैनन् । सबै तृप्त छन् । सबै खुसी छन् । यहाँ न कोही थिच्ने छ, न कोही थिचिने छ । ईश्वरको राज्यमा छोरा सबैलाई समान छ, तिमी पनि आऊ । 

केटो सपना सम्झँदै मुर्छित भइरहेछ । सिरानमा राखेको बाबुको पुरानो धुमिल फोटो हेरिरहेछ । उसका आँखाहरू टिलपिल भए । ओेठहरूमा कम्पन छुटे । छाती गह्रुङ्गो भयो । उसका आँखाबाट आँसुका थोपा सिरानीमा खसिरहे । ऊ गहिरो निद्रामा डुब्यो, डुबिरह्यो । 

रातिदेखि पानी परिरहेको थियो, बिहान भने आकाश खुल्यो । निमा अफिसमा छिरे मजदुरहरू काममा आए । सबैले फेरि एकपटक धमिलो पोखरीमा आफ्ना पसिना मिसाए । काम सकेर मजदुरहरू टुसुक्क पोखरीको डिलमा बसे ! निमाले केटोलाई सम्झे । आकाशतिर हेर्दै भने, आज त दिउँसै एउटा तारा हिँड्यो नि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुमन सिग्देल
सुमन सिग्देल
लेखकबाट थप