बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

दुध किसानको बक्यौता भुक्तानी गर्न सरकारलाई एसोसिएसनको दबाब

शनिबार, ०८ असार २०८१, १५ : ५०
शनिबार, ०८ असार २०८१

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दुध किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ ।  शनिबार एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले किसानको बाँकी रकमबापतको अर्बौँ रुपैयाँ भुक्तानीका लागि सरकारलाई आग्रह गरेको हो ।

एसोसिएसनले कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको जनाएको छ । यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगारी दिनुका साथै दैनिक ६ करोडभन्दा बढी नगद सहरबाट गाउँसम्म प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

राज्य कोषमा वार्षिक २ अर्ब भन्दा बढी राजस्व संकलन हुने तथा पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेलेको छ । कोभिडपछि संसारभरि आर्थिक मन्दी बढ्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । बजारको माग घट्दै जाँदा दूध तथा दुग्ध पदार्थको उपभोगमा कमी आउन थालेको थियो ।

जसले गर्दा कृषकले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै गयो र हालको परिस्थिति उत्पन्न भएको एसोसिएसनको भनाइ छ । ‘कृषकहरूको दुध उत्पादन गरी भुक्तानी गर्नुपर्ने कुराको संवेदनशीलता हामीले बुझ्दा बुझ्दै पनि असहज परिस्थितिका कारण हालको अवस्थामा छौँ,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष २०८१–८२ को बजेटमा नेपाल डेरी एसोसिएसनले दुग्ध पदार्थमा ५० प्रतिशत भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता, बिजुलीमा ५० प्रतिशत छुट लगायत माग राखेकोमा सम्बोधन भएन । जसकारण उत्पादन लागत घटाउन नसकिएको र उपभोग समेत बढ्न नसकेको एसोसिएसनको भनाइ छ ।

यी यावत कारणले गर्दा किसानलाई दिनुपर्ने ७ अर्ब त्यति धेरै रकमको भुक्तानी र हाल बाँकी करिब भुक्तानीका लागि ४ अर्ब रुपैयाँ बाँकी रहेको एसोसिएसनको भनाइ छ । 

‘किसानलाई भुक्तानीमा साथ दिई दुग्ध किसानहरूलाई पूर्ण साथ दिई आगामी दिनमा यसरी सडकमा आउन नपर्ने गरी सबै समस्या हल गर्न पनि अनुरोध गरिन्छ,’ एसोसिएसनले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप