बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
नियात्रा

भालुवाङको भात

शनिबार, ०८ असार २०८१, १५ : ०८
शनिबार, ०८ असार २०८१

समय समात्न हतार छ, समयका पैतालाहरूलाई ।

हामीले काठमाडौँको स्वयम्भू छाड्दा स्वयम्भूका पहेँला बौद्धमूर्तिहरूलाई ज्योतिको लेप लगाउँदैथ्यो मध्याह्नको घामले । बौद्धमाला जप्दै र माने घुमाउँदै जीवनशान्तिको कामनामा समय खर्चिनेहरू लामबद्ध र अनुशासित ढङ्गले चालिरहेथे स्वयम्भूका अगलबगलमा । टुपुक्कको एउटा चैत्यजस्तै डाँडो र डाँडोमाथि बौद्धकलाले सजिएका सुन्दर चैत्यहरू, काठमाडौँका लागि एउटी सुन्दरीका लागि टुपुक्क परेको नाकझैँ सौन्दर्य छरिरहेथ्यो । 

हाम्रो खप्तड यात्रा सुरु भएको छ । 

कङ्क्रिट दहको काठमाडौँ खाल्डो करिब–करिब निसास्सिँदो छ । कलङ्कीमा फलफूल, चकलेट, दालमोठ, केक र पानी किन्छौँ हामी । 

थानकोट छाड्ने बेलामा धुम्म प¥यो काठमाडौँ । पाँचमानेतिरबाट बादल पस्यो उपत्यकामा । साँगातिरबाट झरेको सिमसिमे पानीले पछ्यायो हामीलाई पनि थानकोटदेखि नै । थानकोटपारिका डाँडाहरूमा हावासँगै हल्लँदै छन् बादलहरू । उता उत्तरका हिमालहरूलाई पनि पर्दा हालेका छन् बादलका भुल्काहरूले । धुम्म आकाश, धुम्म धर्ती र धुम्म परिवेशमा मान्छेको अनुहार पनि धूमिल लाग्छ मलाई । कानेटोपी पहिरेका बुढा हजुरबाजस्तो टुप्पाटुप्पामा बादलका टोपी पहिरेर गजधम्म उभिएका पहाडहरूका बिचबाट नौबिसे छिचोल्दै छ हाम्रो बस ।

सडकभन्दा परपर पहाडभरि बन्दा, काउली, लसुन, रायो, मुला लहलहाएका देखिन्छन् । प्लास्टिकले मोडेका ग्रिन हाउसहरूले देखाउँदै छन् मान्छेका सुकिला जाँगर । खेतबारीमा हलक्क हल्केका बालीहरू लहरिरहेछन् हावासँग । लहरिरहेका बालीहरूलाई सुमसुम्याउँदैनन् किसानहरू । जाँगर सप्रेको खुसीयालीमा चराजस्तै चुलबुल गर्दै छन् मान्छेहरू । घामले सालका कलिला पातहरूमा घरी चुम्बन गर्छ, घरी लजाउँदै भाग्छ बादलका केस्राहरूमा कुम जोड्दै ।

बसभित्रको गीतको चर्को आवाजले कानको जाली पड्केला भन्ने डर छ । बेपत्तासँग गीत बजाउँदै बेपत्तामा बस गुडाउन पाए खुसी लाग्छ हाम्रा गुरुजीहरूलाई । चालक र सहचालकको वेशाभूषा र बोलीचाली सुदूर पश्चिमतिरकै जस्तै देखिन्छ । ती दुवैले च्याउकट कपाल काटेका छन् । चालक बेजोडले बस दौडाउँछन् । सहचालक चालककै छेउको हुटमा बसेर मोबाइलमा रहेका फोटोहरू देखाइरहन्छन् चालकलाई । बेलाबेलामा मोबाइलमा लामै गफ हाँक्छन् चालक, गाडी गुडाउँदागुडाउँदै । सडकको समानान्तर बगिरहेको त्रिशूली नदीमा बस पौड्न पुग्ने हो कि अथवा झ¥यामझुरुम टुटफुट हुने हो बसभित्रका प्राणीहरूको जिन्दगी विपरीतबाट आएका साधनहरूसँग जुधेर, आशङ्काको कठोर बादल मडारिइरहेछ मनका कुनाकुनाबाट ।

‘चरीको के भर छ र रात काट्यो डालीमा बसेर’ हामीभन्दा अघिल्लो सिटमा बसेका बुढा बाको थेगो नै रहेछ । एक जमानाको भारतीय सेनामा जागिर खानुभएको रहेछ उहाँले । 

‘जिन्दगी पूरै अर्काको आदेश पालन गर्दैमा बित्यो, आफ्नो मनले त केही सोच्नै नसक्ने भयो । चरा भएर जागिर खानैपर्ने, यन्त्र बनेर जागिर खाएपछि जिन्दगी नचिनेरै सकिँदो रहेछ,’ दर्शन निकाल्नुभयो बाले । उमेर ढाँटढुँट पारेर पन्ध्र वर्षमै सेनामा पसियो । जागिरमा छँदै तीन बिहे भए कोही मागेर, कोही भगाएर । अठार सन्तानलाई हुर्काइयो, पढाइयो, बढाइयो । गुँडबाट भुर्भुरी उँडेर भागे जसरी सबै सन्तान लाखापाखा लागे । एउटी बुढीलाई अल्जाइमरले सताएर केही होसहवास छैन, एउटीलाई घरअघिल्तिरै मिनी टाटाले हानिदियो । आधा शरीर चल्दैन । एउटीले ‘म बेहोर्दिनँ यो झन्झट झमेला’ भनेर छुट्टै बस्न थाली । आफूलाई दुईपटक हर्ट–अट्याक भइसक्यो । कुन बेला फुस्स उड्छ यो दुई मुठी श्वास । एउटा स्यानो झुपडी थियो, त्यो पनि ढालिदियो पोहोरको पहिरोले । गाउँघरमा धनाढ्य बाउबाजेको नाम जोडेर फलानाको नाति भन्छन् । आफ्नो भने यो हबिगत भयो । चरीको के भर छ र रात काट्यो डालीमा बसेर ।’ बुढा बाका दुवै आँखाबाट बलिन्द्र आँसुका भेल बगे ।

‘पीर गरेर चल्दैन बा, जे पर्छ त्यही टर्छ’— हामीले सम्झाउन खोज्यौँ बालाई ।

‘त्यो त हो भोग्न गाह्रो, भन्न सजिलो छ बाबु । यो बस हिँड्दाहिँड्दै यतै पल्टियो भने पनि सहनैपर्छ, ऊ त्यो डाँडाबाट बडेमाको ढुङ्गा खसेर यो बसलाई किचीमिची पा¥यो भने पनि ऐया, आत्था गर्न पाउँदैनौँ हामीहरूले । हिँडुन्जेल जमिनको भर लिनैप¥यो, बाँचुन्जेल एक मुठी श्वास फेर्नैप¥यो । मरेको भोलिपल्ट दुई दिन भइहाल्छ । चरीको के भर छ र रात काट्यो डालीमा बसेर, बुढा बाको कुरा टुङ्गिन पाएको थिएन । बस त जोतिएछ भित्तातिर । बसको स्टार्ट बन्द भयो र मात्रै नत्र सार्थक हुनबेर थिएन बुढा बाको बोली ।

देवदह गाउँकै एउटी ४५ वर्षीया महिलाका पति पाकिस्तान पसेको पाँच वर्ष भएको रहेछ । ती महिला र गाउँकै अर्को २० वर्षीय युवकबिच चार वर्ष अघिदेखि सबै किसिमको सम्बन्ध बढेछ । त्यो बिहान महिलाको घरभित्र दुवैलाई रङ्गेहात भेटेछन् उनका जेठाजुले ।

‘बुढो मान्छे भएर हिँड्दाहिँड्दै अलच्छिन बोल्ने, झन्डै बस घुसमुटिएको,’ पछिल्तिरबाट बेस्सरी कुर्लिए अर्का भाइ । झन्डै पिटुँलाझैँ गरे बालाई । ‘बोलीमै घटना–दुर्घटना हुने त होइन नि भाइ,’ मैले सम्झाएँ, ‘बाले त जिन्दगीको नियति पो बताउनुभएको ।’ धन्न सम्हालिए भाइ ।

अघिल्लो रातको पानीले मुग्लिङदेखि नारायणघाटसम्म धेरै ठाउँमा सडक भत्किएकाले बाक्लै रहेछ ट्राफिक जाम । मुग्लिङमा पुगेपछि रोकियो हाम्रो बस पनि ।

‘अब चार दिन बाटो खुल्दैन । अघिल्तिर ठुलो पहिरोले लगेको छ बाटो । मर्मत गर्न साह्रै गाह्रो छ । मुग्लिङ बजारमै खाने, पिउने कुरा सिद्धिन आँटिसक्यो ।’

यस्तैयस्तै कुरा भट्याउँदै घरी यता घरी उता गर्नेहरू ओहोरदोहोर गरिरहेथे । लौ खानै नपाइने हो कि भन्ने संशयले महँगै परे पनि बिस्कुट, चाउचाउ, स्याउ, केरा जे भेट्यो त्यही किन्दै झोलाझोलामा कोच्नेको प्रतिस्पर्धा नै चलिरहेथ्यो यात्रुहरूबिच । 

‘लौलौ बाटो खुल्यो,’ पोखरा र नारायणगढतिर नदी बगेझैँ गुड्न थाले गाडीहरू । चार दिन केही चल्न सक्तैन भन्नेहरू कता हराए । चार सय प्रतिशतसम्म बढी मूल्य असुल्नेहरू खोइ कता गायब भए । बिचरा यात्रुहरू बित्थामा ठगिएकोमा पुर्पुरोमा हात लगाउँदै झोलाझोलामा कोच्न थाले सामानहरू ।

सडक र यात्राको वास्तविकता जानकारी दिने आधिकारिक निकायहरू ठाउँठाउँमा सरकारले स्थापना नगरुन्जेल ठगिइरहन्छन् निरीह यात्रुहरू ।

जीवनमा धेरैपटक ओहोरदोहोर गरेको छु मैले काठमाडौँ, तराई र पूर्वपश्चिम जोड्ने सडकहरूमा । हरेकपटकको यात्रा नौलो लाग्छ मलाई यी सडकहरूको यात्रा । रूखबिरुवाहरू नूतन भएर उभिन्छन्, घर बस्तीहरू नवीन–नवीन लाग्न थाल्छन् । मान्छेको आनीबानी र लवाइखवाइ फरकफरक देखिन्छन् । परिवर्तनका ती रङ्गहरूमा उमङ्ग पाउँछु म । जीवन त आखिर उमङ्गकै खोजीमा त हो नि । स्पन्दनहरूको बिचमा स्पन्दित भएर बढ्न पाउनुमा खुसी बन्छु म ।

पानी सिमसिम पर्छ । रामनगर नाघ्छौँ । देवघाटवरिपरिको जङ्गल नाघ्छौँ, अनि पस्छौँ सुन्दर नगरी नारायणघाटको मुटुभित्र । रामनगर र नारायणघाटबिचको जङ्गल एउटा सौन्दर्य र एउटा सान लाग्छ मलाई । सुलुत्त परेका अग्ला सालका रूखहरू । रूखका बिचबिचमा झ्यालका लहरजस्तो रिक्तता । रूखको बिचबिचमा झाङ्गिएको सिँयाल । धेरै प्रेमिकाहरूले एकै प्रेमीको खातिर प्रतिस्पर्धा गरेजस्तो घामको स्पर्श खोज्दै अग्लिरहेका रूखहरूको लावालस्कर । म घामलाई हेर्छु । घामका आँखाहरूले अनुराग वर्षा गराइरहेछन् ममाथि ।

‘आधा घन्टामा खाने, पिउने सक्नुहोला ।’ गाडी रोकिनेबित्तिकै सूचना जारी गरे सहचालकले । नारायणी किनारको रिभरसाइड होटलको बाहिरी बेन्चमा पुग्यौँ हामी । बेन्चसँगै झाँगिएको रूखमा लटरम्म झुन्डिएका छन् रूखकटहर । बाँदरहरू हाँगाहाँगामा झुन्डिएझैँ देखिन्छन् कटहर फलहरू । 

हाम्रै अघिल्तिर बेस्सरी कुलेलम ठोक्दै छ नारायणी नदी । केके न भ्याउनुपर्ने हतार छ नारायणीलाई । कुनै बेला त्यतातिर ओहोरदोहोर गर्दा कञ्चन भुल्का र लहरहरूमा एकनास सुसाउँदै बग्ने नारायणी अहिले धमिली र मैली बनेकी छिन् । धमिली भए पनि आत्तिएकी छैनन् नारायणी । अनुहार बेलाबेलामा फेरिन सक्छ, रङ्ग र तरङ्गहरूमा उतारचढाव आउन सक्तछ । तर समयसँगै काँधमा काँध मिलाएर हिँडिरहन सक्यौँ भने मात्र पुग्न सकिन्छ गन्तव्यमा । 

पोलेको मकै, आँप र स्याउ चपाउँदाचपाउँदै तृषित नजरले हेरिरहन्छु म मेरी नारायणीलाई, अघाउँदिनँ । एउटा प्रेमिल समय उर्लिरहेको देख्छु म मेरी नारायणीमा; कैयौँ हिलो, मैलो र अवरोध काटेर पनि प्रेमको मीठो तिर्सनामा बगिरहेकी छिन् मेरी नारायणी । म उनीभित्र डुबुल्की मार्न खोज्छु स्पर्शका उमङ्गमा मात्तिन खोज्छु उनको सुमधुर स्वरको एउटा मीठो सङ्गीतभित्र आनन्दानुभूतिले उचालिन्छु । सँगैको कटहरका पातहरूमा केही कविताहरू लेखिँदिऊँजस्तो लाग्छ मलाई । कैयौँ अँध्याराहरू बगिरहेझैँ लाग्छ नारायणीका लहरहरूमा । कैयौँ उज्यालाहरू फैलिरहेझैँ लाग्छ उनका वेगवान किनारहरूबाट । नारायणीको इन्द्रेणी रूप र इन्द्रेणी मनहरूमा फिँजारिनुले ममा बेग्लै हर्षातिरेक बढिरहेछ ।

नारायणी पुल नाघेर नवलपरासीका फाँटहरू नाघ्दा छिपछिपे पानीले रसिला देखिए खेतका गराहरू । गैँडाकोटदेखि दुम्किवाससम्म यात्रा गर्दा सौन्दर्यको अनौठो जादु भेट्छु म सधैँँभरि । ढकमक्क फक्रेका गोलमोहर, बेगमबेली, घरका आँगन र करेसाभरि फक्रिएका टुपिटानस, मेरिगोल्ड, ह्याविकस, चमेली र लाहुरेफूलहरू । ती सबैका माझमा धानबाला, कहिले तरेली परेर फलेका तरकारी र कहिले संसार नै सुनको लेदो ढाकेझैँ जगमगाएको तोरीबारी देख्दा फक्रेको जीवनसौन्दर्य भेट्छ जोकोहीले पनि । 

बसले प्रगतिनगर छोडेको छ, चौधरीगाउँ पनि छोडेको छ । दिनानुदिन जथाभावी कङ्क्रिटका ठुलाठुला घर ठडिएको देखिन्छ । घर त मान्छेलाई आवश्यकता पूरा गर्ने र जीवनलाई सजिलो र सिर्जनशील बन्न आश्रय दिने हुनुपर्नेमा धाक र रवाफ व्यक्त गर्ने भाँडो पो बनेको छ । घर ठुलो हुँदैमा सुन्दर हुने पनि होइन । वरिपरि बगैँचा, पानी र रूखहरू नहुने हो; एक घर र अर्को घरमा सहज पहुँच नहुने हो र घरका पर्खालहरूले मान्छेका मनहरूलाई कठोर र कटमिरो बनाएर अठ्याइरहने हो भने के अर्थ हुन्छ घरको ? ती बस्तीहरूमा झुपडी घरको आँगनमा मान्छेहरू झुन्डझुन्ड हाँस्दै गफिँदै मख्खिइरहेछन् । कङ्क्रिटघरहरूका प्रायः बन्द देखिन्छन् ढोका र झ्यालहरू । चहलपहल देखिँदैन मान्छेको । प्रायः काठका झुपडीहरू र साना घरहरूको अघिल्तिर लेखिएको देखिन्छ— ‘स्वागतम् ।’ आधुनिक गजधम्मे घरअघिल्तिर भने सूचनापाटी टाँसिएको देखिन्छ । ‘कुकुरदेखि होसियार ।’ 

परपर सिसौँका पातहरूमा टल्किएका शीत थोपामा डुब्नै लागेको घाम टल्किरहेको छ । सिसौँघारीवरिपरि चरिरहेका गाईवस्तुका चलायमान झुन्डहरू र ती झुन्डका वरिपरि लट्ठी हल्लाउँदै बुरुकबुरुक उफ्रिरहेका गोठालाहरूको स्पन्दनले उमारिरहेझैँ लाग्यो उत्साहको मुस्लो । अनुभूति गर्न सके आनन्द त प्रकृतिमा छ, प्रकृति नबिगारी प्रकृतिकै छेउमा उठिरहेको मान्छेको जाँगरमा छ । बायाँतिर फैलिएको उर्वर फाँटको बिचबिचमा हलोले र ट्याक्टरले जोतिरहेका खेतका गराहरू र गराका छेउछाउमा कोदाली चलाइरहेका मान्छेका उज्याला अनुहारहरूले सम्भावनाका उज्याला ज्योतिपुञ्ज फैलाइरहेझैँ लाग्छ अनन्तसम्म । आखिर श्रम र सीपले नै त हो उचाल्ने सिर्जनालाई पनि ।

पाल्पातिरबाट ओर्लेको तिनाउखोला तर्ने बेलामा पुराना र स–साना घरहरूले घेरिएको खस्यौली र बटौली बजारहरू रमाइलो लाग्छन् । भारततिर काम गरेर फर्कने लाहुरेहरू बटौली र खस्यौलीका होटलहरूमा बास बसेपछि सुरा र सुन्दरीको चक्करमा फसाएर लाहुरेलाई टाट फर्काइदिने र त्यतैबाट फेरि विदेश भासिन बाध्य पारिएका घटनाहरूले त्यो ठाउँको बदनामी नकमाएको पनि होइन । त्यस्तै प्रसङ्गहरूलाई रङ्गीन गरेर माधवप्रसाद देवकोटाले ‘हुस्सू पथिक’ लेखे ।

हामी चढेको बस दाउन्ने पहाड चढ्दा दिन भने ओह्रालो झरिसकेको थियो । जङ्गलका पोथ्रापोथ्रीबाट लुकेर आँखा जुधाउने घाम पनि गुड्दैगुड्दै खस्यो पश्चिमी क्षितिजको एक कुनाबाट । 

हामीले एक–एकवटा स्निकर चकलेट खान्छौँ र रित्याउँछौँ एक बोतल पानी । लोकल ढिँडो, लोकल कुखुरा र लोकल घ्युको विज्ञापन गरिएका छन् दाउन्नेका प्रायः सबै भुइँछाप्रे होटलहरूमा । कुनै जमानामा नेपालका गाउँगाउँमा कोदाको ढिँडो, गुन्द्रुक र साग खाँदाखाँदा भात खान पाए ठुलो भइन्छ भन्ने मानसिकता थियो मान्छेहरूको । यतिखेर ढिँडो, रोटी, साग र स्थानीय अचार पाउन धाउनुपर्छ परपरदेखि । हामीलाई पनि रायोको साग, भटमास, गुन्द्रुक र घ्युको माझमा दुई–चार डल्ला ढिँडो उदरस्थ पारूँ भन्ने लागेको थियो । 

ढिँडो माहात्म्य गाउँदागाउँदै बस भने सुलुलुसुलुलु बग्न थालिसकेको थियो सुनवलभन्दा अझै पर ।

संसार पूरै अँध्यारोको माझमा पसेको छ अब । दुई सुइरा उज्यालोको सहारामा हावाजसरी हुइँकिएको छ बस । दायाँबायाँका घरहरूमा कतै पिलपिले बत्ती बलिरहेछन्, कतै लोडसेडिङले अँध्यारो ओढेरै उभिएका छन् बस्तीहरू । कहिले लोडसेडिङमुक्त बन्न सक्षम होला जलस्रोतको धनी नेपाल ? कहिले सकिएला विद्युत्लाई अँध्यारोमा हालेर एक्लै हसुर्ने नियति ? कहिले हट्ला देशबाट पूरै  अँध्यारो ? तर्कवितर्क धेरै भए बसभित्र ।

बस एक्कासि रोकियो देवदहमा । बसको अघिल्तिर लामै पङ्क्ति रहेछ सवारी साधनहरूको । दुई घन्टादेखि लाम लाग्न सुरु गरेका रहेछन् सवारी साधनहरूले । अलि पर सडकमा कोलाहल रहेछ मान्छेहरूको । मान्छेको जमात कहिले पूर्वतिर कहिले पश्चिमतिर दौड्दै थियो । प्रहरीहरू क्षणक्षणमा लाठी बर्साउँथे । अँध्यारो र दोहोरो घम्साघम्सी भएको बेलामा बसबाट ओर्लनु बुद्धिमानी थिएन । बसका कोही पनि बाहिरिएनौँ । ‘बसमै बास बस्नुपर्ने हो कि ?’ मन कोपरियो बेस्सरी । 

‘न्याय नपाउने हो भने यी गाडीहरू सबै जलाइन्छन्, बच्ने छैनन् कुनै पनि,’ एक हुल केटाहरूको आवाज सुनेपछि झन् खतरनाक साबित हुने भयो बसभित्र बस्नु । आगोमा फालहालूँ कि पानीमा डुबूँको स्थिति निम्तियो यात्रुहरूमा । 

केही वर्षअघि चन्द्रौटामा आतङ्कारीहरूले कैयौँ गाडीहरू जलाएका, सयौँ घरहरू भष्मखार बनाएपछिको भयावह तस्बिर नाच्न थाल्यो मनभरि । बसका यात्रुहरूले सम्झिए पनि त्यो घटना । चितवनको माडी बाँदरमुढेमा माओवादी जनयुद्धको नाममा बसभित्रै झन्डै सयको सङ्ख्यामा यात्रुहरूलाई जलाइएको र जनयुद्धकै नाममा टाँडीमा अबोध बालिका काजोल खातुनलाई बसभित्रै खरानी पारिएको घटना सम्झँदा ठाडा हुन थाले रौँहरू ।

‘आखिर के रहेछ कारण, म बुझ्छु है,’ साथीले रोक्न खोज्दाखोज्दै बसबाट बाहिरिएँ म ।

नजिकैका प्रहरी भाइलाई आफ्नो परिचय दिएर घटनाबारे सोधेँ । 

देवदह गाउँकै एउटी ४५ वर्षीया महिलाका पति पाकिस्तान पसेको पाँच वर्ष भएको रहेछ । ती महिला र गाउँकै अर्को २० वर्षीय युवकबिच चार वर्ष अघिदेखि सबै किसिमको सम्बन्ध बढेछ । त्यो बिहान महिलाको घरभित्र दुवैलाई रङ्गेहात भेटेछन् उनका जेठाजुले । उनले दाउराको झट्टी छाडेछन् युवक र महिलामाथि । घरका सबै मान्छेले लाठी बर्साउन थालेछन्, ढुङ्गा र इँटा बर्साउन थालेछन् । महिला र युवक प्रहरी चौकीमा छिरेछन् । त्यसपछि गाउँलेले धम्की दिएका रहेछन्— ती दुवैलाई हामीाले कारबाही गर्छौं, हामीलाई सुम्पनू । भेटेपछि दुवैलाई चौबाटोमा जलाएर मार्छौं । 

जनप्रतिनिधि, गाउँले र प्रशासनको लामो छलफलपछि बल्ल सडक खोल्न दिने सहमति भयो । एक घन्टाजति रोकिएपछि गुड्न थाले गाडीहरू । व्यक्तिगत झगडा साम्य पार्न सडक अवरोध गर्न तम्सिहाल्ने गज्जबको संस्कृति बढेको छ नेपालमा ।

‘बुद्धको मावलीमा यत्रो लफडा,’ बसमा हाँस्यौँ हामी ।

निश्चय बनाउन खोज्दाखोज्दै अनिश्चयमा फस्छ यात्रा । बाँचुन्जेल हिँडिरहन त खोज्छ मान्छे । हिँड्दाहिँड्दै कहाँकहाँ बार, पर्दा र पर्खालहरू उभिएका भेटिन्छन् त्यो कसैलाई थाहा छैन । अवरोधहरूको पूर्वज्ञान नभएकै कारणले हिँड्छ, आनन्द बटुल्छ र केही सिक्छ मान्छे । थाहा पाउने हो भने लडेको खाँबो बनिहाल्थ्यो नि ऊ ।

२० र ४५ बर्से सम्बन्धका बारेमा खुबै चर्चा चल्यो । सम्बन्धमा उमेर, जात, धर्म र भूगोलले केही अर्थ रहँदैन भन्ने बहस पनि चल्यो निकैबेर । शरीरको भोकको ज्वालाको सामु नेता, प्रशासक, व्यापारी, सर्वसाधारण कोही नबचेको उदाहरणहरू खुबै निस्किए । सात वर्षीया गोमा ब्राह्मणीलाई ७० वर्षीय बुढाले भोगेका स्वस्थानीका कथा निस्किए । वर्षौं तपस्यामा लिन ऋषिमुनिले अप्सरा देख्नेबित्तिकै बाटो परिवर्तन गरेका कथा निस्किए । शरीरको भोकले जोसुकै नातागोता डढेको उदाहरण निस्किए ।

तीनतिर डाँडाले घेरिएको सुन्दर बुटवल झलमल्ल बत्तीमा चुरीफुरी देखाइरहेको रहेछ । रात भए पनि व्यापार, किनमेल र आवतजावतमा कुनै अवरोध देखिँदैनथ्यो बुटवलमा । निमका रूखहरू, अशोकका रूखहरू र चमेलीका बोटहरूमुन्तिर उभिएर गफिनेहरू पनि प्रशस्तै देखिइरहेथ्यो । चोकबजारबाट दायाँ मोडिएर बजारको सिरान हुँदै पश्चिमतिर मोडिन्छ पूर्वपश्चिम लोकमार्ग । हाम्रो बस सुलुलुलु बगिरह्यो त्यही सडक पछ्याएर । 

पाल्पातिरबाट ओर्लेको तिनाउखोला तर्ने बेलामा पुराना र स–साना घरहरूले घेरिएको खस्यौली र बटौली बजारहरू रमाइलो लाग्छन् । कुनै बेला भारतीय बजारतिरबाट फर्कने र पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जा जिल्लाका मान्छेहरूको नुन, तेल, मरमसला र लत्ताकपडा किन्ने गौँडाको नामले परिचित थिए बटौली र खस्यौली । भारततिर काम गरेर फर्कने लाहुरेहरू बटौली र खस्यौलीका होटलहरूमा बास बसेपछि सुरा र सुन्दरीको चक्करमा फसाएर लाहुरेलाई टाट फर्काइदिने र त्यतैबाट फेरि विदेश भासिन बाध्य पारिएका घटनाहरूले त्यो ठाउँको बदनामी नकमाएको पनि होइन । त्यस्तै प्रसङ्गहरूलाई रङ्गीन गरेर माधवप्रसाद देवकोटाले ‘हुस्सू पथिक’ लेखे, जसको ख्याति अझैसम्म छ । बटौली र खस्यौली बजार बुटवल नामले शङ्करनगर र मणिग्रामसम्म फैलन थालेपछि टुहुराजस्तै हुन थाले ती दुवै बजार । 

‘समुन्नति स्थिर छैन, समय शक्ति र परिस्थिति फेरिएपछि फेरिन्छ समुन्नति’ भन्ने एउटा मिठो विम्ब बनेर उभिएका छन् बटौली र खस्यौली ।

निद्राशक्ति बाक्लिँदै छ । हामीहरू कहिले जीवनका गम्भीर मोडहरूका कुरा गर्छौं । ‘जिन्दगी आजसम्म त बाँचेकै छ, भोलि के हुने हो, कहाँकहाँ लाग्ने हो ठेस’— एउटा आशङ्का रुमलिन्छ । भविष्यको चिन्ता होइन, वर्तमान रङ्गीन बनाउनुपर्छ’— दर्शन पोख्छु म । बस पुगिसकेको छ गोरुसिङ्गेभन्दा अझ पश्चिमतिर ।

गोरुसिङ्गे पुग्नेबित्तिकै रौँ ठाडा हुन्छन् मेरा । जनयुद्धको समयमा मेरो नेतृत्वको समूह गोरुसिङ्गे सन्धिखर्क सडकको लेखापरीक्षण गर्न त्यसको कार्यालय गोरुसिङ्गेमा पुगेको थियो । त्यही कार्यालयको आवासगृहमा बस्ने बन्दोबस्त थियो । एक साँझ सो आयोजनाका प्रमुख डिल्लीरमण निरौलाले खाना खान बोलाउनुभएको थियो लेखापरीक्षण समूहलाई, हामी गयौँ । आयोजनाका सबै कर्मचारी र उनीहरूको परिवारलाई पनि बोलाइएको रहेछ । खाना खाँदै थियौँ । रातको ११ बजेको थियो । एकजना कार्यालय सहयोगीले भने— ‘क्वाटरको कम्पाउन्डवालबाहिर हतियारसहित ठुलो समूहको माओवादीहरूले घेरा हालेका छन् ।’ हामी सबै आत्तियौँ । बत्ती पूरै निभाएर एकै ठाउँमा गुडुल्कियौँ । निरौलाजीले कपिलवस्तु जिल्लाका प्रहरी प्रमुखलाई फोन गर्नुभयो । प्रमुख जिल्ला अधिकारीसँग जीवनरक्षाका लागि हारगुहार माग्नुभयो । उताबाट जवाफ आयो— ‘तुरुन्तै प्रहरी त्यहाँ आउन सक्तैन । आफ्नो सुरक्षा आफैँ गर्नुहोला ।’ 

सुरक्षाको जिम्मा लिनेहरूले नै त्यसो भनेपछि कसरी हुन्छ जिउज्यानको सुरक्षा । हामी बिलखबन्द प¥यौँ ।

‘दोहोरो कुराकानी भए त ठिकै हो, अन्धाधुन्ध एकोहोरो प्रहार हुन थाल्यो भने के गर्ने, सरकारी निकाय र सरकारी कर्मचारी ध्वस्त पार्ने नाममा ।’

कर्मचारी मात्र होइन कर्मचारीका परिवारहरू पनि रुल्लटुल्ल परेका छन् । अबोध बालबालिका पनि निदाउनै नसकेर सन्त्रासमा स्याँ सुँ नगरी बसिरहेछन् । सल्लाह पनि ठुलो स्वरमा गर्न सकिएको छैन ।

रातको १२ बज्यो, १ बज्यो, २ बजिसक्यो झन्झन् बाक्लिएर बसेको छ त्यो फौज । चकमन्न रातको अन्धकारमा बिरालोको चालमा पर्खालका चरहरूबाट हामीमध्ये एक–दुईले उनीहरूलाई नियाल्छौँ र भित्र पसेर साथीहरूलाई सूचना सम्प्रेषण गर्छौं । मर्ने, बाँच्ने दोधारमा रात ढल्यो । बिहान ५ बजे उनीहरू बिस्तारै सडकपारि जङ्गलतिर पसे । थप एक रात भए पनि ज्यान बाँचेकोमा बिहान खुसी साटासाट ग¥यौँ सबै मित्रहरूले । बढ्दो घामसँगै भरे फेरि के हुने हो भन्ने आशङ्का बाक्लिँदै गयो झम्केसाँझसम्ममा । यो क्रम त धेरै भोगियो जनयुद्धकालमा ।

भोलिपल्ट बिहान ७ बजेतिर प्रहरीको एक जत्था हाम्रो सामु आयो ।

‘तपाईंहरूले आश्रय दिनुभएछ र पो बसेछन् माओवादीहरू रातभरि यतातिर । लखेट्नुपर्दैन ?’ इन्स्पेक्टर हान्ने राँगोझैँ हामीमाथि जाइलागे ।

निरौलाजी र मैले बेस्सरी हप्कायौँ ती इन्स्पेक्टरलाई ।

भन्यौँ— ‘तपाईंहरूको काम के ? कि धम्क्याउने मात्र हो सर्वसाधारणलाई ? थाहा पाएपछि पुच्छर लुकाएर रातभर चौकीमा लुक्ने तपाईंहरू, सुरक्षा आफैँ गर्नुहोस् भन्ने तपाईंको तालुक निकाय, अहिले धम्क्याउने तपाईं हामीलाई ।’

इन्स्पेक्टर आफ्नो जत्था लिएर फर्किए । 

त्यो घटना सम्झेपछि एक बोतल पानी रित्याएँ मैले । सहयात्री मित्रलाई पनि बताएँ सबै कुरा । जिब्रो काट्नुभयो उहाँले ।

जङ्गल नै जङ्गलको माझमा सुनसान रातमा गुडिरहेको बसले फिँजाइरहेछ बेग्लै सङ्गीत । बसको उज्यालोले ठाउँठाउँमा देखिन्छन् बाँदर, चितुवा र मृगहरू । उता गुँडमा बसेर कुरकुराएका चराहरू र झाङ र झाडीहरूमा छेकारो परेर जङ्गल नै गुञ्जायमान पारिरहेका कीराफट्याङ्ग्रा र झ्याउँकीरीहरूको आवाजले जङ्गल बनिरहेछ प्रकृतिको सुमधुर कोरस छर्ने थलो । बसबाट ओर्लेर ती चराचुरुङ्गी र कीट पतङ्गका आवाज सुनुँ कि जस्तो पनि लाग्छ । तर गन्तव्य बिर्सेर गल्याङमल्याङतिर भुल्ने हो भने कहाँ पाइन्छ र जिन्दगीमा सन्तोष ?

बस रोकिइसकेछ । झलमल्ल विद्युत् प्रकाश छताछुल्ल छ । मध्यरातपछि पनि हरेक घरघरबाट चिच्च्याउँदै भातभान्साको आमन्त्रण गरिरहेछन् होटल साहूसाहुनीहरू । पूर्व पश्चिमबाट आवतजावत गर्ने बसहरू रोकिँदै छन् । होटलहोटलमा यात्रुहरू पस्छन् । धमाधम खान्छन् । फर्कन्छन् । मानौँ भातेमेला चलिरहेछ ।

‘भालुवाङ’ लेखिएको ठुलो साइनबोर्ड छ भित्तातिर । ‘वाङ’ को अर्थ समतल जमिन हो मगर भाषामा । भालुवाङ र बुर्तिवाङमा जस्तै यस क्षेत्रमा पनि मगरहरूको बाहुल्य थियो पहिले । हामीले पनि भात माग्यौँ । लामालामा नङ पालेका, लामै कपाल फिँजाएका फोहोरी देखिने भाइहरूले खानाको थाल तेस्र्याए टेबुलमाथि । रात नै भए पनि झिँगाको भुनभुन सङ्गीत र नाच चलेकै छ । खिया परेको बाल्टीमा भरिएको छ दाल, कालो जमेको स्टिल बाटाहरूमा भरिएको छ बन्दाको तरकारी र गोलभेँडाको अचार । खानेकुरा केहीमा पनि छैन तातोको धुकधुकी ।

अधबैँसे साहुजी तिनै भात, दालको अघिल्तिर बसेर ख्वाङख्वाङ खोकिरहेछन् । उनको हातमा रक्सीको ग्लास छ । खोकी रोकिनेबित्तिकै रक्सीको चुस्की लिइहाल्छन् साहुजी । मानौँ रक्सी नै खोकीको औषधि हो । उता साहुनीले भने बन्दाका डल्लाहरूलाई छ्याकछ्याक काटिन् र पखाल्दै नपखाली सडककिनारको खुला चुल्होमाथिको डेक्चीमा ओइरिन् । एउटा भाइ उभिएर छातीको मैल माडिरहेथे । हाम्रो अघिल्तिर बसेका एक भाइ र एक बहिनीले थप खाना मागे । हत्तपत्त छातीको मैल माड्दै गरेका भाइले हातैले गमक्र्याए भातको डल्लो । त्यो देखेपछि भने पेटको सबै निस्कियो मुखबाट मेरो । मित्रले त दाल मात्र पिइरहनुभएथ्यो सुरुदेखि ।

‘ए साहुजी के गर्नुभएको यस्तो होटल त अलि सफासुग्घर चलाउनुपर्छ नि ।’

‘सफासुग्घर त छ नि, के फोहोर छ र यहाँ ।’

‘मान्छे फोहरी, भाँडाकुँडा फोहोर, खाना बासी छ नि त ।’

‘त्यस्तो भए नखानुभएको भए भइहाल्थ्यो नि, किन खानुभएको त । हामीले यसै गरी होटल चलाएको २० वर्ष भइसक्यो बुझ्नुभो । सबैले खाएकै छन् । खुरुक्क पैसा दिने आफ्नो बाटो तताउने ।’ बित्थामा भनाभन भयो साहूजीसँग । ‘जसले जस्तो खाना ख्वाए पनि जस्तो होटल चलाए पनि कसैले वास्ता नगरेपछि लुट्न कसले पो छोड्दैन र ?’ हामी बेकारमा होटलमा पसेछौँ भन्ने लाग्यो । त्यसरी हिँड्दा बरु आफैँले ड्राइफुडहरू बोक्नपर्ने थियो भन्ने पनि लाग्यो हामीलाई । पेटमा हालेको भन्दा पेटबाट निकालेको बढी भए पनि एक जनाको दुई सयका दरले तिरियो  दस्तुर ।

बस गुडेपछि सहचालक भाइले भने— ‘देख्नुभो कति मीठो छ भालुवाङको भात ।’ 

भाइको कुरा सुनेपछि हामीभन्दा बढी हाँसे धनगढीका प्रशान्त ऐर र मिलन बुढा भाइ । उनीहरूले त दालमा चारवटा साङ्ला भेटेपछि पैसै नतिरी हिँडेका रहेछन् ।

‘भालुवाङमा हाम्रो होटल छ, मीठो खाना खाउँला भरे’— सहचालक भाइले चोरमारातिर नै धेरै पटक भनेथे हामीलाई ।

‘तिमीहरूलाई पो यात्रु लगेबापत सित्तै मासुभात ख्वाउँछ होटलवालाले । हामीलाई त उही बासीतासी त होला नि,’ हामीले भनेका थियौँ ।

‘त्यस्तो होइन त्यो होटल । बासी कहिल्यै बेच्दैन, नचाहिँदो मूल्य लिँदैन, सफा खाना, भालुवाङ जाना क्या’— भाइ हाँसेथे ।

भाइको भनाइ र भालुवाङको भात सम्झँदा फेरि एकपटक उल्टी होला जस्तो भो । हामी दुवैले एकै स्वरमा बोल्यौँ— ‘भालुवाङको भात ।’

एकै छिनमा बस गुड्यो, खप्तडका लागि हाम्रो यात्रा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप