बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
भागबण्डामा नियुक्ति

प्रधानमन्त्री प्रचण्डको डेढ वर्षे कार्यकालमा क–कसले पड्काए नियुक्ति ? (सूचीसहित)

शनिबार, ०८ असार २०८१, १४ : ३०
शनिबार, ०८ असार २०८१

काठमाडौँ । त्रिशङ्कु संसदका कारण सत्ता टिकाउनकै लागि गठबन्धन गर्नु पर्ने र सत्ताधारी दलहरूबिच भागबन्डाको आधारमा नियुक्ति दिनु पर्ने बाध्यतामा सरकार रहँदै आएको छ । 

दलीय भागबन्डाकै आधारमा न्यायाधीशदेखि संवैधानिक अङ्गका पदाधिकारीहरु मात्र होइन, विश्वविद्यालय, सल्लाहकारदेखि सार्वजनिक संस्थानसम्ममा नियुक्ति गरिन्छ । 

व्यक्तिको योग्यता, कार्यक्षमता र योगदानलाई तिलाञ्जली दिएर  राजनीतिक पहुँच र लेनदेनका आधारमा नियुक्तिहरू हुने गरेको जानकारहरू बताउँछन् । यसले राज्य कोषमा भार पनि थपिरहेको छ । 

२०७९ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो डेढ वर्षमा संसदबाट चार पटक विश्वासको मत लिनु पर्‍यो । यो क्रममा दलीय भागबन्डामा नियुक्तिहरू अनिवार्य जस्तै बन्यो ।

त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरेर दलीय भागबन्डाको अन्त्य गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डको भनाइ र नियुक्तिको प्रक्रिया समेत आलोचना मुक्त हुन सकेन ।  

प्रचण्डको डेढ वर्षे कार्यकालमा राज्यका प्रमुख अङ्ग, संवैधानिक, कूटनीतिक निकाय, सार्वजनिक संस्थान, विश्वविद्यालयमा पदाधिकारी नियुक्ति, मनोनयन, सिफारिस, सरुवा–बढुवा फिर्ताका निर्णयहरू भए । 

संवैधानिक अङ्ग, विश्वविद्यालय, निजामती प्रशासनमा नियुक्तिका फरक प्रक्रिया छन् । उनको यो कार्यकालमा मन्त्रिपरिषद् बैठकबाट भएका भनिएका नियुक्ति र मनोनयनको विवरण रातोपाटीले प्रस्तुत गरेको छ । संवैधानिक अङ्ग, मन्त्रीस्तरीय निर्णयबाट भएका नियुक्ति, विश्वविद्यालय आदिका नियुक्ति भने यसमा समावेश छैन । 

२०७९ माघ ४ 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ तथा सदस्यमा डा. रामकुमार फुयाँल नियुक्त । दुवै जना माओवादी निकट हुन् । उपाध्यक्ष नपाएपछि फुयाँल भने असन्तुष्ट थिए । 

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा.देवराज अधिकारीको मनोनयन । उनी त्रिभुव विश्वविद्यालयका प्राध्यापक हुन् । 

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त । उनी माओवादीका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हुन् । प्रधानमन्त्रीसँग मतभेद भएपछि गजुरेलले मङ्सिर २० गते राजीनामा दिए ।

माघ १६

राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, प्रा.डा.सङ्गीता सिंह, डा.कुसेन्द्रबहादुर महत नियुक्त । ज्ञवाली भूकम्प पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी प्रमुख थिए । सिंह सहरी योजनामा प्राध्यापक र त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ इन्स्टिच्युटको विपद् अध्ययन केन्द्रका उपनिर्देशक थिइन् । महतले कर्णाली प्रदेश सरकारले गठन गरेको कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूहमा रहेर काम गरेका थिए । तीनै जना एमाले कोटाबाट नियुक्त भएका थिए ।  

माघ २३

राष्ट्रिय योजना आयोगका सदस्यमा प्रा.डा. गीताभक्त जोशी र जयकान्त राउत नियुक्त । जोशी लामो समय महेन्द्र रत्न क्याम्पसका प्राध्यापक थिए । उनी राप्रपा कोटाबाट नियुक्त भएका हुन् । राउत नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक थिए । उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए । 

माघ २९ 

अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा भुवन केसी नियुक्त । 

फागुन ४

नेपाल इन्जिनियरिङ परिषद्को अध्यक्षमा डा. पदमबहादुर शाही, उपाध्यक्षमा डा. विकास अधिकारी, सदस्यमा डा. रेश्मा श्रेष्ठ मनोनयन । 

फागुन ११

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सञ्चार विज्ञमा नरेन्द्र केसी नियुक्त । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. युवराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सक तोकियो । 

फागुन १५ 

प्रधानमन्त्रीको शान्ति तथा मानवअधिकार सल्लाहकारमा गोविन्दप्रसाद शर्मा (कोइराला), दैलेख नियुक्त । २०८० चैत ५ गते उनले राजीनामा दिए । त्यसअघि उनी सरकारका कानुन मन्त्री थिए । 

चैत ६

नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्का नियुक्त । भाषा आयोगको अध्यक्षमा डा. गोपाल ठाकुर तथा सदस्यमा पुष्करराज भट्ट नियुक्त । नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्यमा विक्रम राई नियुक्त । 

चैत १०

देवघाट विकास समितिको अध्यक्षमा भीमबहादुर राना  तोकिए । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्टारमा लिलानाथ भण्डारी नियुक्त । 

चैत १४

देवघाट क्षेत्र विकास समितिको सदस्यमा सानबहादुर दमाई लगायत ५ जना मनोनयन । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरी नियुक्त । नेपाल दूरसञ्चार प्राधिकरणको कानुन सदस्यमा कृष्णप्रसाद पोखरेल नियुक्त ।

चैत २०

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा विजयराज न्यौपानेको मनोनयन ।

चैत २८

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य प्युठान, जनसम्पर्क सल्लाहकारमा देवेन्द्र पराजुली लमजुङ, प्रशासन सल्लाहकारमा रामदीप आचार्य जाजरकोट नियुक्त । 

२०८० वैशाख ५

राष्ट्रिय योजना आयोगको सदस्यमा डा.प्रभु बुढाथोकी, डा. रामपदारथ विच्छा र डा.रमेशचन्द्र पौडेल नियुक्त । बुढाथोकी र विच्छा कांग्रेस कोटाबाट नियुक्त भएका थिए । पौडेल एकीकृत समाजवादीबाट नियुक्त भएका थिए । 

लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर एकाउन्टेन्ट भोलाराज पाण्डेको मनोनयन । अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. विश्वनाथ पौडेल र डा. पोषराज पाण्डेय नियुक्त । पौडेल २०७८ साउन देउवा नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष थिए । पाण्डेय अर्थविद् हुन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेका थिए । पौडेल र पाण्डेलाई अवैतनिक सल्लाहकारमा नियुक्त गरिएका थिए । उनलाई तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले नियुक्त गरेका हुन् । 

वैशाख १९ 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त । 

वैशाख २०

राष्ट्रिय न्यायिक प्रतिष्ठान परिषद् सदस्यमा कृष्णमान प्रधानको मनोनयन ।  

वैशाख २६ 

नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा.रवीन्द्रप्रसाद पाण्डे नियुक्त ।  

जेठ २

नेपाल ट्रस्टको सञ्चालक समितिको सदस्यमा देवीचन्द्र उपाध्याय र सुनिता कुमारी गौतम नियुक्त । मदन भण्डारी विज्ञान र प्रविधि विश्वविद्यालयको संरक्षक समितिको सदस्यमा प्रा.सीराम लगायत १० जना मनोनयन ।  

जेठ ९ 

उपराष्ट्रपतिको निजी चिकित्सकमा डा.शिवजी विक्रम सिलवाल तोकिए । नेपाल ट्रस्ट सञ्चालक समितिको सदस्यमा याङजोम  शेर्पा नियुक्त गर्ने । 

जेठ १४ 

राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुङ्गाना नियुक्त । 

जेठ २४ 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेल तोकिए ।

जेठ ३०

नेपाल नर्सिङ परिषद्को रजिस्टारमा सुक्ला खनाल नियुक्त । बुद्ध दर्शन र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि निरजगोविन्द श्रेष्ठ सद्भावना दूत(अवैतनिक) नियुक्त । 

जेठ ३२ 

राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास वैरागी नियुक्त । वैरागीलाई मुख्यसचिवबाट हटाएर वैकुण्ठ अर्याल नियुक्त । 

असार ५

भूपेन्द्र भण्डारी दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त । 

असार १२ 

नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त । विश्वरूप खड्का अवैतनिक जनस्वास्थ्य सल्लाहकार नियुक्त ।  

असार १९

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिको सदस्यमा डा. दिनेशकुमार विकलगायत ६ जनाको मनोनयन  । 

असार २६

अंगप्रत्यारोपण समन्वय समितिका पदाधिकारीमा पुकारचन्द्र श्रेष्ठ लगायत चार जना मनोनीत । 

साउन ३

शहीद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा.रवि मल्ल मनोनयन । राष्ट्रिय बिउ बिजन समिति सदस्यमा अग्निप्रसाद अर्यालसमेत ४ जना मनोनयन । 

साउन १६

लुम्बिनी विकास परिषद्को उपाध्यक्षमा डा.ल्यारक्याल लामा मनोनयन । पूर्वमन्त्री तथा माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनको मनोनयनलाई लिएर ठूलै विवाद भएको थियो ।  

भदौ १२

निजीकरण समितिको सदस्यमा सांसद राजेन्द्र केसी र माधव सापकोटा मनोनयन । नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरु, डडेलधुरा नियुक्त । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा नेपाल कृषि सेवाका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेल नियुक्त । 

नेपाल रेल्वे कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा निरंजनकुमार झा, सप्तरी नियुक्त । बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिको कार्यकारी निर्देशकमा डा. सनतकुमार शर्मा नियुक्त । 

भदौ २९

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्त, पोखरा बढीमा तीन वर्षका लागि नियुक्त ।  

असोज २४

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौला, तेह्रथुम नियुक्त । 

कात्तिक २

ऋण असुली न्यायाधिकरणको लेखा सदस्यमा पाँच वर्षका लागि शिवराम महत, तनहुँ नियुक्त । गुठी संस्थानका प्रशासक किरण शाक्य पदमुक्त, उनको स्थानमा शैलेशराज कुँवर, काठमाडौँ तीन वर्षका लागि नियुक्त । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभा सदस्यमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरी तीन वर्षका लागि मनोनयन ।  

मङ्सिर ७ 

विद्युतीय सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवर, कञ्चनपुर नियुक्त । प्रधानमन्त्रीकै परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा, सिन्धुपाल्चोक नियुक्त ।

मङ्सिर १३

नेपाल उड्डयन प्राधिकरणको सञ्चालक समितिका सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी अच्युतराज पहाडी काठमाडौँलाई मनोनयन । सुबोधकुमार शर्मा, महोत्तरीलाई तीन वर्षका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा मनोनयन । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी, तनहुँलाई चार वर्षका लागि नियुक्त । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल र सदस्यमा डा.मधु न्यौपाने चार वर्षका लागि मनोनयन । 

पुस ५

रामकृष्ण अधिकारी, नुवाकोट गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ सल्लाहकार र सुशीला चौधरी, दाङ कानुनी सल्लाहकारमा तीन वर्षका लागि नियुक्त ।

पुस १२ 

स्वप्न बगैँचा विकास समितिको सदस्यमा श्रीजना मल्ल राणा र लोकभक्त शमशेर जबरा मनोनयन ।

पुस २४

राष्ट्रिय विकास परिषद्मा २५ जना सदस्य मनोनयन ।  

माघ ३ 

पार्वत कुमार कार्की, उदयपुर चार वर्षका लागि नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त । नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने ,काठमाडौँ दुई वर्षका लागि मनोनयन ।

शहीद गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा रवि मल्ल, म्याग्दी नियुक्त ।

माघ ९ 

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली र प्रशासन सल्लाहकार रामदीप आचार्य पदमुक्त ।

राष्ट्रिय एन्टीडोपीङ एजेन्सीको संयोजकमा डा.असीम भण्डारी, गुल्मी मनोनयन ।

माघ १८ 

राष्ट्रिय योजना आयोग सदस्यमा उमाशंकर प्रसाद, रौतहट नियुक्त । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक सदस्य विक्रम नियुक्त ।

नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा लेखनाथ लामा, सिन्धुपाल्चोक र डा. साहारा श्रेष्ठ  मनोनयन ।

माघ २५ 

रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.परशुराम मिश्र, महोत्तरी नियुक्त ।

फागुन ६

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट ,गोरखा नियुक्त ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी, काठमाडौँ नियुक्त ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्य सचिवमा डा. प्रमोद जोशी ,डडेलधुरा मनोनयन ।

फागुन २४

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा सञ्जीवकुमार पाण्डेय, महोत्तरी नियुक्त ।

मधेस प्रदेश प्रमुखमा सुमित्रा सुवेदी भण्डारी ( झापा), गण्डकी प्रदेशमा डिल्लीराज भट्ट (कैलाली) र नजिर मियाँ (अर्घाखाँची) सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त । उनीहरू सबै एमाले कोटाबाट आएका हुन् । कांग्रेस कोटाबाट प्रदेश प्रमुख बनेका हरिशंकर मिश्र, पृथ्वीमान गुरुङ र देवराज जोशी पदमुक्त ।

चैत ८

राष्ट्रिय योजना आयोगका सदस्यमा प्रा.डा. संगीता सिंह, डा.कुसेन्द्रबहादुर महत, प्रा.डा.शिवराज अधिकारी र डा.अरनिकोकुमार पाँडे नियुक्त । सिंह र महत एमाले कोटाबाट दोहोरिएका हुन् । पाँडे रास्वपाका केन्द्रीय सदस्य हुन् । पाटन कलेजमा करिब २० वर्ष अध्यापन गराएका प्रा. डा. शिवराज अधिकारी पछिल्लो समय त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रहेका छन् । कांग्रेस र जनमतको कोटाबाट सदस्य बनेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुङ्गाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले राजीनामा दिएपछि उनीहरूलाई नियुक्त गरिएको हो । 

चैत १५ 

प्रधानमन्त्रीको जलवायु तथा वातावरण सल्लाहकारमा पपुलर जेन्टल, काठमाडौँ नियुक्त । रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा.पशुपति चौधरी र सदस्यमा डा.वीरेन्द्रप्रसाद यादव नियुक्त । 

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान सञ्चालक परिषद् सदस्यमा डा.ज्ञानेन्द्रमान सिंह कार्की चार वर्षका लागि मनोनयन ।

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा कार्यक्षेत्र रहनेगरी डा. दामोदर पौडेल अवैतनिक वाणिज्य दूत नियुक्त । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदी नियुक्त ।

२०८१ वैशाख १०

समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमण कुमार गौतम नियुक्त ।

संस्कृति संस्थानको रिक्त सञ्चालकमा पुजा श्रेष्ठ, काठमाडौँ चार वर्षका लागि मनोनयन  । नेपाल हज समितिको अध्यक्षमा इस्रा मुल्ला मियाँ, नवलपरासी नियुक्त ।

जेठ २४

हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारी नियुक्त ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओली नियुक्त ।

जेठ २८ 

त्रिवि अनुदान आयोगको सदस्यमा त्रिविका उपकुलपति प्रा.डा.केशरजंग बराल मनोनयन  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप