बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

श्रवण मुकारुङका तीन कविता

शनिबार, ०८ असार २०८१, १५ : ४४
शनिबार, ०८ असार २०८१

१) बिसे नगर्चीको बयान
मालिक !
म यो गोरखा राज्यमा 
अढाई सय वर्षपछि बौलाएँ 
मेरो टाउको फनफनी घुमिरहेछ 
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शिर दसओटा देखिरहेछु 
खोइ मेरो पैताला कहाँनिर छ ? 
कहाँनिर छ बिसे नगर्ची ? 
मालिक ! म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नुपर्ने 
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर 
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि–
आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक ! 
म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी 
नाथे मेरी छोरी न हो बलात्कृत भएकी 
नाथे यो बिसेको झुप्रो न हो जलाइएको 
यतिमै यो बिसे उफ्रिनुपर्ने ? 
थुइक्क बिसे...
म बौलाएँ मालिक !
म बौलाएँ
मेरो हात भाँच्चियो
अब के हजुरका भारदारहरूलाई
लबेदा सिउन सक्दिनँ !
नर्सिङ्गा फुक्न सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठिकमा छैन
अब म ठिक्कले बोल्नै सक्दिनँ
मालिक ! म बौलाएँ ।

मालिक !
यो गोरखा राज्यअघि उभिएका 
हिजोका ती अग्ला–अग्ला पहाडहरू 
आज कसरी यस्तरी होँचा–होँचा भए ?
हिजोका ती सग्ला र कलकलाउँदा यहाँका मानिसहरू 
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ? 
यो दरबारै किन खण्डहरजस्तो देख्छु ? 
मालिक ! म बौलाएँ ।

मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु 
मालिक !
म कसरी आतङ्ककारी हुन सक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला 
भानुभक्त बाजेको गीत र मेरो सियो 
बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई 
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवान्लाई पनि गाली गरेँ हुँला ।

मालिक ! 
मान्छे बौलाएपछि
अढाई सय वर्षदेखि–
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँ–कहाँ पुगे ? 
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा 
र बगेका रगतहरूले मलाई उक्सायो 
तरबारले आर्जेको मुलुकभन्दा मैले 
धागोले उनेको मुलुक विशाल ठानँ हुँला 
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ? 
म साँच्चै बौलाएँ मालिक ! 
साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ 
आँखा तिर्मिर–तिर्मिर भएर 
हजुरको शिर दसओटा देखिरहेछु 
खोई, मेरो पैताला कहाँनिर छ ? 
कहाँनिर छ बिसे नगर्ची ? 
मालिक ! म बौलाएँ ।
०००

२) पुरानो मानिस
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न 
सबभन्दा नयाँ कुरा चाहिन्छ ।

तिमीसित अब
के छ त्यस्तो कुरा... ?

सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?

अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेट लञ्चर 
वा–
जैविक हतियार
अथवा–
अन्तर्राष्ट्रिय गीत... ?

घर जलाइदियौ
घरसँगै–
उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ 
र इष्टमित्रहरू जले 
गाइगोठ, बाखा, सुँगुर 
र फूलहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो 
र गादो जल्यो 
बक्खु, धोती
र हाकुपटासी जल्यो
थाहा छ–
ऊ किन जलेन ?

उसलाई आतङ्ककारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए
उसका निर्दोष आँखा
र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
रगतको आहालमा चलिरहेको उसको पृथ्वीजस्तो मुटुलाई
सङ्गीनमा उनेर
विजयीको हुङ्कार गयौ
तर थाहा छ–
ऊ किन मरेन ?

यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ

तिमीसित अब
के छ त्यस्तो कुरा... ?

भाषा ? 
धर्म ?

जाति, संस्कृति 
सम्प्रदाय, राष्ट्रियता
वा–
मानवअधिकार
अथवा–
सुप्रिम अमेरिका ?

तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा... ?
जसले–
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ ।

के तिमी–
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी–
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ? 
के तिमी–
समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?

तिमीसित अब के छ त्यस्तो कुरा–
भन ! के छ ?
जसले–
यस धर्तीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।

३) देश खोज्दै जाँदा

घाँसको भारी उचाल्न नसकेर 
असिन–पसिन भएकी थिइन्– दिदी 
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रौँ छ ।’

ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर 
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ 
मैले सघाएँ,
उनले भने—
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’

एक बथान वस्तुहरूलाई गोठमा हुल्न नसकेर 
चिच्याइचिच्याई रुँदै थिइन्– बहिनी 
मैले मद्दत गरेँ,
उनले भनिन्–
‘दाइ, देश नसक्नुको छाडा छ ।’

कापी–कलम राखेको झोला हराएर उदास–उदास
घर फर्किरहेका थिए– भाइ
मैले सान्त्वना दिएँ, 
उनले भने–
‘दाइ, देश साह्रै बदमास छ ।’

मैले जे जति गरेँ
त्यो
म आमाबालाई सुनाउन चाहन्थेँ 
तर म के
घरभित्र पसेको मात्रै थिएँ 
आमाबाका संयुक्त स्वरहरू उर्लिए–
बदमास !
छाडा !
माटोलाई भार !

म देश खोजिरहेको थिएँ ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण मुकारुङ
श्रवण मुकारुङ
लेखकबाट थप