बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकप

साकार होला टी–२० विश्वकपमा पहिलोपटक भारतलाई हराउने बंगलादेशको सपना ?

शनिबार, ०८ असार २०८१, १२ : १६
शनिबार, ०८ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ चरणमा शनिबार भारतले बंगलादेशको सामना गर्दैछ । भारत र बंगलादेशबिचको खेल एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा राति २०ः१५ बजे सुरु हुनेछ । 

भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । अस्ट्रेलिया र अफगानिस्तान पनि त्यही समूहमा रहेका छन् । चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । दुई अंकसहित अस्ट्रेलिया पहिलो र समान अंक बटुलेको भारत दोस्रो स्थानमा छन् । 

पहिलो खेलमा पराजित भएका अफगानिस्तान र बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । अस्ट्रेलियाले भने बंगलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित गरेको थियो । 

शनिबार रातिको खेलमा पराजित भए बंगलादेश उपाधि होडबाट बाहिरिने छ । त्यसैले उक्त खेलमा बंगलादेशी टोलीले भारतलाई हराउने सक्दो प्रयास गर्नेछ । अर्कोतिर, भारतीय टोली उक्त खेलमा बंगलादेशलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने धुनमा हुनेछ ।

भारत प्रारम्भिक चरणको खेलमा समूह ‘ए’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । भारत प्रारम्भिक चरणमा अपराजित रहेको थियो । भारतले चारमध्ये तीन खेलमा जित हात पारेको थियो । भारतको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । 

भारतले पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको थियो । भारतले आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भारतले आयोजक अमेरिकालाई सात विकेटले हराएको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । 

प्रारम्भिक चरणमा भारतले बनाएको उच्च स्कोर एक सय १९ रन हो । पाकिस्तानविरुद्धको खेलमा १९ ओभरमा अलआउट हुनुअघि भारतले त्यो स्कोर बनाएको हो । प्रारम्भिक चरणमा भारतको नेट रन रेट १.१३७ रहेको थियो । यसैगरी बंगलादेशी टोली समूह ‘डी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । बंगलादेशले चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । त्यो समूहबाट दक्षिण अफ्रिका विजेताका रुपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेका थियो । 

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई दुई विकेटले हराएको थियो । बंगलादेशी टोली दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग चार रनले पराजित भएको थियो । तेस्रो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । आफ्नो चौथो खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो । 

भारत र बंगलादेशले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । भारत टी–२० विश्वकपको पूर्वविजेता पनि हो । भारतले पहिलो संस्करणको उपाधि चुमेको थियो । 

त्यतिबेला भारतले फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । त्यसपछि सन् २०१४ मा पनि भारत टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको थियो । त्यसयता भारत फाइनलमा पुग्न सकेको छैन ।

नवौँ पटक टी–२० विश्वकप खेलिरहेको बंगलादेशी टोली भने ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । बंगलादेश सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै ‘सुपर–८’ चरणमा पुगेको थियो । त्यसपछि बंगलादेश जारी संस्करणको ‘सुपर–८’ चरणमा पुगेको हो । 

जारी विश्वकपमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ऋषभ पन्त हुन् । उनले चार खेलमा कुल एक सय १६ रन बनाएका छन् । सूर्यकुमार यादबले पनि भारतका लागि चार खेलमा एक सय १२ रन बनाएका छन् ।  यसैगरी भारतका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले चार खेलमा १० विकेट लिइसकेका छन् । जसप्रित बुमराहले पनि आठ विकेट लिएका छन् । हार्दिक पाण्ड्याले पनि सात विकेट लिइसकेका छन् । 

जारी विश्वकपमा बंगलादेशका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तौहिद हृदोय हुन् । उनले पाँच खेलमा एक सय ३५ रन बनाइसकेका छन् । बंगलादेशका लागि सकिब अल हसनले पनि पाँच खेलमा कुल एक सय रन बनाएका छन् ।

यसैगरी बंगलादेशका लागि सर्वाधिक विकेट लिने बलर तान्जिम हसन सकिब हुन् । उनले पाँच खेलमा नौ विकेट लिएका छन् ।  बंगलादेशका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा रिसाद होसैन दोस्रो स्थानमा छन् । उनले उनले पनि नौ विकेट लिएका छन् ।

हालसम्म भारत र बंगलादेशबिच १३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १२ खेलमा भारतले बंगलादेशलाई हराएको छ ।  बंगलादेशले भने एक खेलमा मात्र भारतलाई हराउन सकेको छ । आईसीसी टी–२० विश्वकपमा भने यी दुई टोलीबिच चारपटक भिडन्त भएको छ । चारवटै खेलमा भारतले बंगलादेशलाई हराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप