बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

चुरे संरक्षण टोलीलाई बृहत् नागरिक आन्दोलनको साथ

शनिबार, ०८ असार २०८१, १२ : ०८
शनिबार, ०८ असार २०८१

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले चुरे संरक्षण पदयात्रा टोलीमागहरुप्रति ऐक्यबद्धता जाहेर गरेको छ । शनिबार प्रेस विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाउँदै मागहरूप्रति नेपाल सरकार गम्भीर हुँदै धर्नारत टोलीसँग अविलम्ब वार्ता गर्न र चुरे संरक्षणका ठोस तथा प्रभावकारी कार्यक्रमहरू अविलम्ब अगाडि बढाउन माग गरेका छन् । 

चुरे संरक्षण पदयात्रा टोली जेठ १० गते माइतीघर मण्डलामा धर्नारत छन् । सप्तरी जिल्लाको भारदहदेखि २४ दिनको कष्टप्रद पैदल यात्रा पश्चात उनीहरू जेठ १० गते काठमाडौँ आइपुगेका हुन् । 

चुरे दोहनको प्रत्यक्ष असर भोगेका २५ जना नागरिकहरुले बैशाख १६ देखि चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको आयोजनामा,सम्मिलित चुरे संरक्षणपदयात्रा गरेका हुन् । 

चुरे क्षेत्रको अवैध उत्खनन, सिर्सियालगायतका नदीहरुको प्रदुषण एवं अतिक्रमणको विरोध तथा चुरे र वनजंगल संरक्षण, संवर्द्धन, दलित, भूमिहीन, सुकुम्वासीहरूको भूमि अधिकारका निम्ति गरिएको चुरे संरक्षण पदयात्रा तथा धर्ना कार्यक्रमप्रति बृहत् नागरिक आन्दोलनको ध्यानाकर्षण भएको छ । 

चुरे संरक्षणका लागि जनस्तरबाट यसरी आवाज बुलन्द हुँदा पनि सरकार उनीहरूका मागप्रति उदासीन देखिनु खेदजनक भएको पनि आन्दोलनको भनाइ छ ।

चुरे पहाड भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण र वन स्रोत तथा–जैविक विविधताको भण्डार रही आएकोमा विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएको छ। 

चुरे क्षेत्रमा हुने गरेको भूस्खलन, चुरेबाट उत्पत्ति भएका नदीहरूबाट हुने कटान र बाढीजस्ता प्राकृतिक विपदमा भएको वृद्धि तथा चुरेक्षेत्रमा भएको नवविनाशले गर्दा चुरेभावर क्षेत्रको जलसञ्चयी क्षमतामा कमी आएको छ ।जलवायु परिवर्तनका कारण नियमित वर्षामा भएको बदलाव, तापक्रमको अनपेक्षित वृद्धि जस्ता कारणले यी समस्यालाई अझै विकराल बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप