शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
पुस्तक

बौद्ध दर्शनको चास्नीमा ‘स्व’ उपन्यास

शनिबार, ०८ असार २०८१, ११ : ०४
शनिबार, ०८ असार २०८१

‘कृत्रिमताका सम्पूर्ण पत्रहरू उतारिसकेपछि जे बाँकी रह्यो, त्यो मात्र म हुँ ।’ (स्व,  पृ.२८०) ।
वास्तवमा मान्छेले आफू को हो ? धर्तीमा आफ्नो उपस्थिति किन भयो ? जीवनलीला समाप्तिपछि ऊ कहाँ पुग्छ ? पुनर्जन्मको भुलभुलैयामा पर्छ कि महाशून्यमा लीन हुन्छ ? भन्ने उत्तर नपाएरै जीवन जिइरहेको हुन्छ । लक्ष्य र रहरका बोझमा जिन्दगी घिसारिरहेको हुन्छ । केही नबुझेरै धेरै कुरा बुझेको भ्रममा बाँच्दछ ।

भौतिक शरीरको पहिचानका लागि दिइएका कृत्रिम उपमाका पछि दौडेर निर्मित अवधारणा पछ्याउँदै भ्रम र सत्यको बिचमा बाँचिदिन्छ । भौतिक जगत् र आध्यात्मिक चिन्तनको खिचडी पकाएर प्रबुद्धहरूले तय गरेको भुलभुलैयाका अस्पष्ट रेखामा प्रस्ट ज्ञान खोज्छ । जसले तर्कमा मिठो गरी ढाँट्न सक्छ उसैको राज चल्ने यो धर्तीमा आफूले आफूलाई नै चिन्न नसकिरहेको अवस्थामा ब्रह्माण्डको ज्ञान बाँड्नेले नै आफैँमाथि प्रश्न गरिरहन्छ । 

सृष्टि, प्रकृति, जीवन, मृत्यु आदिका बारेमा उत्पन्न भ्रम त परको कुरा; मान्छेले आफू को हो भन्ने चिन्न पनि सकिरहेको हुँदैन । यस्तो अवस्थामा आफूलाई नै चिन्न कोसिस गर्नु र सोही जिज्ञासामा लीन भई उत्तर भेट्नु स्वबोधको अवस्था हो । बहुआयामिक व्यक्तित्त्वभित्र आफैँलाई नभेटेको समस्याग्रस्त पात्रको यस्तै स्वबोधको खोजीको कथालाई बौद्धदर्शनको चास्नीमा डुबाएर लेखिएको स्वादिलो उपन्यास हो– सरस्वती प्रतीक्षाको स्व । 

निर्वाणलाई जीवनको चरमलक्ष्य मान्ने अनित्यवादी, अनिश्वरवादी तथा चार आर्यसत्यमा विश्वास गर्ने बौद्ध दर्शन वा गौतमबुद्धको चिन्तन यस उपन्यासको आधारभूमि हो । विशेषतः दुःख निवारणका अनेक उपायका खोजीमा हिँडेका पात्रले बुद्धदर्शनबाट पाएका विभिन्न ज्ञानलाई यस उपन्यासले मूल कथा तथा उपकथाका माध्यमबाट प्रस्तुत गरेको छ । यस क्रममा हिंसाबाटै प्राप्त बोधिज्ञान र आर्यसत्यको बोध, अनित्य दर्शनको प्रेरणा, अतिवादी मार्गबाट मध्यममार्गप्रतिको यात्रा, पञ्चशीलको अवधारणामा परिमार्जनको आवश्यकता, सन्देहबाट प्राप्त सत्यबोध, ‘अप्प दीपो भवः’ को वास्तविक ताप्पर्य बोध, विज्ञान र अध्यात्मको सन्तुलनजस्ता बुद्धदर्शन सम्बद्ध अवधारणालाई यसले समेटेको छ । यसलाई कथाक्रम, मूल तथा सहायक कथा, पात्र, भाव, भाषाशैली आदिका सापेक्षमा यहाँ चर्चा गरिएको छ । 

पितृसत्ताले नारीका पहिरन, सुन्दरता, काम, संस्कार आदिका सम्बन्धमा निर्माण गरिदिएको खतरनाक भाष्य र त्यसमाथिको सन्देहलाई देखाउन ‘सन्देह गर सुशीला’ शीर्षकमा प्रस्तुत गरिएको सुशीलादेवीको जीवनभोगाइ सान्दर्भिक बनेको छ ।

स्वपहिचानको यात्रामा निरन्तर हिँडिरहन प्रेरित गरेको यस उपन्यासले सप्तम र काव्याका जीवन भोगाइलाई मूल विषय बनाएको छ । यसका साथमा अनेक सानासाना उपकथाहरू पनि जोडिएर आएका छन् । सिद्धार्थ, मादीकिनार, सुन्दरलाल वा खसीलाल, अँधेरी, सुशीलादेवी, नेत्रप्रसाद, छिरिङजस्ता पात्रका आत्मकथा सहायक कथानकका रूपमा यसमा आएका छन् । 

हालै बुकहिल पब्लिकेसनले बजारमा ल्याएको यस उपन्यासको नायक सप्तम हो भने काव्या नायिका । हरेक उपशीर्षकभित्र नायक सप्तम अटाएको छ । मध्यान्तरपछिको भागका केही उपकथामा काव्याको उपस्थिति नरहे पनि अन्तिमसम्म उसको भूमिका देखिन्छ । तृतीय पुरुष कथन पद्धतिलाई अँगालेर लेखिएको यस उपन्यासमा विगत र वर्तमानमा कथा सिफ्ट हुने पद्धतिले गर्दा कथानकीय ढाँचामा समेत पूर्वदीप्ति शैली (फ्ल्यासब्याक टेक्निक)को अवलम्बन गरिएको छ । 

नायक सप्तमको व्यस्त जीवन, निरन्तरको दौडाइ, तथा भाव शून्यताबाट यस उपन्यासको कथावस्तुको सुरु हुन्छ । २२ वर्षपहिले उसको बुबाको काजकिरियाको १३औँ दिनको सम्झनाबाट कथावस्तुको उठान गरिएको यस उपन्यासमा आमाको ‘स्यानु’ भन्ने आवाज सुनेपछि ऊ झन्झन् परपर भागेको सन्दर्भ छ । व्यस्त र एक्लो जीवन बिताइरहेका सप्तमजस्ता सन्तानहरू आमाको सामीप्यको खोजी गर्दै थकानलाई उनको काखमा बिसाउन कति आतुर हुन्छन् भन्ने मिथ मनमा बोकेका आम पाठकलाई आमासँग भेट नहोस् भन्दै भाग्दै गरेको सप्तमको क्रियाकलाप अनौठो त लाग्ने नै भयो, साथमा उपन्यासको कुतूहलता निर्माणमा यसले मलजल थपेको छ । 

चौथो पेजबाटै सुरु भएको काव्या र सप्तमको प्रेम–प्रसङ्ग, हाइकिङमा पसिनाले निथ्रुक्क हँुदा अनुहारबाट तपतप चुहिएका पसिनामा झन् सुन्दर देखिएकी प्रेमिकाको सौन्दर्यप्रतिको भाष्यले पाठकलाई झनै डोर्‍याउने देखिन्छ । तर ब्रेकअप दिन र मिल्न समय नै नलाग्ने अस्थिर सम्बन्धले प्रेमप्रति नै आशङ्का पैदा गराउँछ । जँड्याहा बुबा, घरपरिवार चलाउने दायित्व निर्वाह गरिरहेकी आमा, नारीको कमाइमा असहज मानिरहेको पितृसत्ताको खोल ओढेको बाबु, सन्तानप्रतिको दायित्व बोध नगर्ने अभिभावकको चित्रणमा सप्तमको मनस्थिति आधुनिक समयका आम बालबालिकाको धारणा बन्न पुग्छ । यहाँनेर पाठकले प्रमुख पात्रसँग एकाकार हुँदै सप्तमका आमाबाबुबाट उसले पाएका सास्ती आफैँले पाएको महसुस गर्न सक्ने कथानक प्रस्तुत गर्न सक्नु उपन्यासको शक्ति बनेको छ ।

लेखक, प्राध्यापक, अधिवक्ता, सञ्चारकर्मी, मोटिभेसनल स्पिकर, घरजग्गा व्यवसायीजस्ता बहुआयाममा छरिएको सप्तम पुँजीवादी सोचग्रस्त समयका आम युवाको प्रतिनिधि पात्र बनेको छ । उसलाई जस्तै सबैलाई तुरुन्त बढीभन्दा बढी कमाएर विलासिताको जीवन बाँच्नु छ । चर्चाको शिखरमा पुग्नु छ । तर पनि आफू को हो र केका लागि दुःख गरिरहेको छु भन्ने सोच्नसम्म नसक्ने वर्तमान पुस्ता उसकै हालतमा जीवन गुजारा गरिरहेको छ ।

सप्तमको घरमा अचानक एउटा पत्र भेटिन्छ, हस्तलिखित हरिया अक्षरमा लेखिएको । यसले बारम्बार भौतिकताबाट आध्यात्मिकताको मार्गमा खिच्ने प्रयत्नमा सप्तमलाई जबर्जस्ती घचेटेको प्रसङ्गमा पाठक अलमलिन्छ । हुन त यो यस उपन्यासको कथावस्तुको सङ्घर्ष विकास हो । यसले मानवलाई भोगविलास र भ्रमभन्दा माथि उठ्नका लागि प्रेरित गर्दै स्वको खोजीमा अगाडि बढ्न सम्झाइरहेको छ ।

परिवारबाट निराश बनेको बच्चामा घरमोहभन्दा होस्टेल–मोह बढी देखाएर आजका बेफुर्सदी तथा सम्बन्ध बिग्रेका बाबुआमाका छोराछोरीको मनोविज्ञानको स्पष्ट चित्र यसमा खिचिएको छ । आमा ममताको खानी हुन् भन्ने भाष्य निर्माण भइसकेको हाम्रो समाजमा बिरालीको बच्चाप्रतिको प्रेममा लोभ गर्नुपर्ने सप्तमको अवस्था साँच्चै दयनीय छ । 

बाबाको मृत्यु र आमाको अर्को विवाहको खबर सँगै ज्ञात हुँदा पनि विचलित नबनी जीवनगतिलाई दौडाइरहने यस उपन्यासको बालपात्र असहज लाग्छ । प्रकृतिसँग अगाध प्रेम गर्ने सप्तम प्रेमिकालाई दोस्रो स्थानमा राख्छ । यतिबेला काव्यालाई न कुनै ईष्र्या छ, न कुनै गुनासो नै । ऊ सहजै सप्तमका विचारसँग सहमत हुनु पनि कताकता नमिल्दो मात्रै होइन, असामान्य नै लाग्छ । 

काव्याको ‘स्लो लिभिङ’ कन्सेप्टप्रति आकर्षित सप्तमले घरमा अपरिचित शुभचिन्तकले पठाइरहने पत्रको रहस्य पत्ता लगाउन सीसीटीभी जडान गर्छ । विगत र वर्तमानमा सिफ्ट भइरहने पूर्वदीप्ति र चक्रीय लेखनशैली भएको यस उपन्यासमा काव्यासँगको पहिलो भेट र प्रेमको अङ्कुरणका विषय फ्याट्ट बिचमा घुसाइँदा पाठकहरू अलमलिने सम्भावना रहन्छ । फेरि भाइ र बुबालाई गुमाएकी काव्याको पारिवारिक पृष्ठभूमि पनि सप्तमकै जस्तो देखाइएको छ । जन्मदिनको स्मरण तथा सेलिब्रेसनमा दुवै घाटमा पुगेको दृश्य संयोग मात्रै नभएर बढी कृत्रिम देखापर्छ ।

तृतीय पुरुष कथन पद्धतिलाई अँगालेर लेखिएको यस उपन्यासमा विगत र वर्तमानमा कथा सिफ्ट हुने पद्धतिले गर्दा कथानकीय ढाँचामा समेत पूर्वदीप्ति शैली (फ्ल्यासब्याक टेक्निक)को अवलम्बन गरिएको छ । 

यसमा विवाहलाई बन्धन र एउटा संस्था मात्रै ठान्ने तर प्रेममा विश्वास गर्ने दुवै प्रेमी–प्रेमिकाका भाव पनि मिल्दोजुल्दो छ । ३५ वर्षको उमेर कटिसक्दा पनि विवाहविनै सम्बन्धमा रहने काव्यालाई समग्र नेपाली नारीको प्रतिनिधिका रूपमा नभएर वैयक्तिक पात्रका रूपमा लिन सकिन्छ । घरमा आमा हुँदाहुँदै बिरामी प्रेमीलाई घरमै राखेर सेवा गर्ने, आफैँ आम्दानी गर्ने, हरेक निर्णयमा स्वतन्त्र काव्या पितृसत्ताले निर्माण गरेको नारीको भाष्यभन्दा निकै फरक छ ।

काव्या र सप्तम प्रेममा मात्रै नभएर शरीरमा पनि एकाकार बनेको सन्दर्भ स्वैरकाल्पनिक छ । हुन त लेखकको भाषामा भन्दा यो ‘म्याजिकल रियालिजम्’को अवस्था हो । डायरी र अज्ञात शुभचिन्तकको पत्रका अक्षर उस्तै हुँदा पाठकमा कौतुहलताको सीमा बढ्छ । डा. भारद्वाजसँग मल्टिपल पर्सनालिटी डिसअर्डर केसका बारेमा काव्याले गरेको कुराकानी र यस्तो केसमा स्वयम्ले स्वयम्लाई पत्र लेखेको तर याद नभएको हुन सक्ने डाक्टरको भनाइले रहस्य खुलाइदिन्छ । तुरुन्तै खुलेको रहस्यको घुम्टोले कथावस्तु फितलो बनिदिन्छ । अपरिचितको पत्रमा लेखिएको स्वको खोजीप्रतिको प्रेरणा र दबाबका कारण एक महिनाको कलेज बिदा लिएर घुम्न जाने योजनामा निस्किएको सप्तमको कार दुर्घटना तथा बेहोसी कथानकको चरमोत्कर्ष बनेको छ ।  

उपन्यासको मध्यान्तरभन्दा अघिको भाग यथार्थको धरातलमा लेखिएको भए पनि यसपछिको भागमा भने स्वैरकाल्पनिक परिवेशमा लेखिएको छ । अस्पतालमा उपचाररत सप्तमको मानसिकताभित्रको परिवेशमा कथावस्तु अघि बढेको छ । काव्या र आफ्नै मोबाइल नम्बर समेत याद नभएको तर फोन गर्न खोजिरहेको, आफ्नो नाम भने बताउन सकेको तर घरको ठेगाना बताउन नसकेको सन्दर्भ यसमा पाइन्छ । यसमा आफ्नो नाम बताउन सक्ने तर मोबाइल नम्बर, ठेगाना आदि सबै भुल्ने प्रसङ्ग असान्दर्भिक बन्छ । तर लेखकको चलाख्याइँ पनि यहाँ तुरुन्तै पाउन सकिन्छ । त्यो हो गन्धकुटीमा पुगेको सप्तमलाई आंशिक विस्मृतिको सिकार भएको पो हुँ कि भन्ने संशय उत्पन्न गराइदिनु । 

उपन्यास पढ्दै गर्दा बेहोस अवस्थामा उपचाररत सप्तमलाई स्वैरकल्पनामा गन्धकुटीको बौद्धशिक्षा अभ्यास केन्द्रमा पुर्‍याएर ज्ञान दिलाउनुको सट्टा निको भइसकेपछि कुनै वास्तविक संसारमै ज्ञान लिन लगाएको भए हुन्नथ्यो भन्ने संशय पनि जागृत भइरहन्छ । जहाँ पुगेर भए पनि स्वको बोध गराउने हुटहुटी लेखकमा छ । त्यसैले गन्धकुटीका सात दिनको देशना वा शिक्षाले सप्तममा बौद्धदर्शनसम्बन्धी ज्ञान मात्रै दिएको छैन, तत्काल परिवर्तन पनि ल्याएको छ ।

पहिलो दिनको देशनामा सिद्धार्थले सुनाएको आत्मकथा निकै मार्मिक छ । उसले आमाको रिसले आफूलाई पिट्ने बाबुको कर्तूत र समाजमा इज्जत बचाउन डिभोर्स नगरी घरेलु हिंसा सहेर बसिरहेकी चर्चित वकिल आमाको कहानी सुनाएको छ । नारी अस्तित्वको माग गर्दै ‘मेरो जिन्दगीको मालिक म आफैँ हुँ । मेरो जिन्दगीको ड्राइभिङ सिटमा बस्ने हक मलाई बाहेक अरूलाई दिन सक्दिनँ’ (पृ. १६६) भन्ने सिद्धार्थकी आमाको उपस्थितिले यस उपन्यासलाई नारीवादी समेत बनाएको छ । यति मात्र होइन, बाबुको आमामाथिको हिंसा सहन नसकेर उसले हातै छिनालिदिएको र जेलमा पुगेको कथा झन् भयानक छ । 

दुःखको निवारणका उपाय खोज्दै आइपुगेको र बोधिज्ञान सधैँ अहिंसाको मार्गबाट मात्रै नभएर हिंसाको जटिल बाटो भएर पनि आउने दृष्टान्त यसमा प्रस्तुत गरिएको छ ।

देशनाको दोस्रो दिन मादीकिनारले आफ्ना बाबुआमा दुवैलाई घृणा गर्नुका कारण, आफू सानो छँदा नदीमा बगाएर पोइल जाने आमाको कर्तूत तथा उसलाई मादीकिनारमा माझीहरूले भेटेको मार्मिक कथालाई सुनाएको छ । तीन सन्तान र श्रीमतीलाई गुमाएर एक्लो भएपछि ऊ बुद्धको अनित्य दर्शनबाट प्रेरित भई बुद्धको शरणमा पुगेको तथ्यलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ ।  

देशनाको तेस्रो दिन प्रस्तुत गरिएको खसीबाजेको छोराको कथा निकै मार्मिक छ । खसी काटेर मासु बेच्ने व्यवसाय गर्दै आएका परिवारको कथा र बाल्यकालदेखि खसीको रगतसँग खेलेको बच्चाले मान्छेको रगतसँग खेल्न सपनामै भए पनि आफ्नै बाबुको घाँटी छिनाली टाउको हातमा झुन्ड्याएर रमाएको प्रसङ्ग अत्यन्त वीभत्स छ । यसबाट मुक्तिका लागि लागुपदार्थको दुव्र्यसनमा फसेको भए पनि रगतको नसाले कहिल्यै नछाडेको हुनाले अतिवादबाट निस्कन उसले बुद्धको मध्यम पथको सहयोग लिएको छ  । अतिवादको अतिमार्गबाट मध्यम मार्गसम्म आइपुग्दाको खसीलालको कथाले सप्तमलाई प्रभावित बनायो ।

सानैदेखि लैङ्गिक विभेदको चरम यातना भोगिरहेकी कथाकार अँधेरीले आफूलाई उपन्यासका नायिकाका रूपमा बारम्बार नाम फेर्ने गरेको रोचक प्रसङ्ग देशनाको तेस्रो दिनमा सुन्न पाइन्छ । कहिले पारिजातको शिरीषको फूलकी सकम्बरी त कहिले गोठालेको पल्लो घरको झ्यालकी मिसरी, कहिले कोइरालाको सुम्निमाकी सुम्निमा त कहिले मल्लको अनुराधाकी अनुराधा तथा दीक्षितको माधवीकी माधवी, कहिले तीन घुम्तीकी इन्द्रमाया त कहिले द कलर पर्पलकी शेली, कहिले लेडी च्याटर्लिज लभरकी कोनी, कहिले गोर्कीको आमाकी पाभेल पेलागेया निलोभ्ना नाम राखिरहनु आफूलाई यस समाजकी दमित नारीका रूपमा नभएर नायिकाका रूपमा स्थापित गर्न खोज्ने उसको पितृसत्ताप्रतिको चुनौती हो । 

विवाहित पुरुषसँग प्रेममा पर्नु र दोस्रो विवाह गर्न नसकेपछि प्रेमीले उल्टै आत्महत्या गर्नुको पश्चात्ताप भए पनि प्रेममा व्यभिचार हुने बुद्धको पञ्चशीलको सिद्धान्तको पुनर्लेखन गरिनुपर्ने कथाकार अँधेरीको कथन भिन्न छ । अँधेरीको कथा सुनेर सप्तमले आफ्नी आमाप्रतिको हेर्ने दृष्टिकोण तुरुन्त परिवर्तन भएको पाउनु र झल्याँस्स ब्युँझिएको अनुभूति गर्नु तथा पितृसत्ताको चिप्स आफूसँग भएकाले गलत र सही छुट्ट्याउन नसकेको बोध गर्नु भने अस्वाभाविक लाग्छ । वर्षौंदेखि पितृसत्ताको चिप्सले चलेको पुरुषमा यति छिटै नभएर अँधेरीले सुनाएको कथाको प्रभावका कारण बिस्तारै परिवर्तन हुँदै गएको देखाइएको भए सान्दर्भिक र पत्यारिलो कथा बन्न सक्थ्यो । 

पितृसत्ताले नारीका पहिरन, सुन्दरता, काम, संस्कार आदिका सम्बन्धमा निर्माण गरिदिएको खतरनाक भाष्य र त्यसमाथिको सन्देहलाई देखाउन ‘सन्देह गर सुशीला’ शीर्षकमा प्रस्तुत गरिएको सुशीलादेवीको जीवनभोगाइ सान्दर्भिक बनेको छ । बुद्धले भनेझैँ सन्देह गर्न सिकेपछि उसले आफू को हो चिनेर स्वतन्त्रतापूर्वक सार्थक जीवन जिउन सकेको सन्दर्भ यसमा छ । 

देशनाको छैटौँ दिनमा नेत्रप्रसादले सुनाएको आत्मकथा निकै मर्मस्पर्शी छ । नेत्रविहीन हुँदा समाजले गर्ने अपहेलना, भिक्षु बोधानन्दले बुद्धको ‘अप्प दीपो भवः’को मन्त्रलाई बुझाइदिएपछि नेत्रप्रसादमा आएको अन्तर्चक्षुसम्बन्धी ज्ञानलाई यसमा देखाइएको छ । 

बाल तथा अनमेल विवाहको चपेटाबाट भागेकी छिरिङले गुम्बामा शरण लिन पुगेको कथालाई अन्तिम देशनामा प्रस्तुत गरिएको छ । विज्ञान र अध्यात्मको सन्तुलनमा मान्छे खुसी हुन सक्ने जीवनदर्शन बुझेकी छिरिङ गुम्बाबाहिर गृहस्थी जीवनमै रहेर पनि हरेक वर्ष विपश्यनामा पुगेर ध्यान गर्ने गर्छे । घरमा बुद्धको मूर्ति नभए पनि हरदिनको बँचाइमा बुद्ध र उनको जीवनदर्शन भएको उसको ठहर छ ।

देशनाबाट बुद्धदर्शनसम्बन्धी थुप्रै ज्ञान पाइसकेको सप्तम हस्पिटलको बेडमा ब्युँझिएपछि कथा सङ्घर्ष ह्रासतर्फ अघि बढेको छ । उसलाई सात दिनसम्म आईसीयूमा राखिएको र एक्कासि होस आएको देखेपछि डाक्टरहरू नै ‘मिराकल ह्यापन्ड’ भन्दै चकित पर्नु र कृत्रिम श्वासले बचाइरहेको बिरामी सकुशल हुनुले भौतिकवादभन्दा अध्यात्मवाद शक्तिशाली भएको प्रमाणित गरेको छ तर विज्ञान र अध्यात्म दुवैमा रहस्य भएको डा. दिवाकरको विचार अन्तिम सत्य छैन भन्ने उत्तरआधुनिकतावादी विचारसँग मेल खान पुग्छ । 

‘संसारमा पूर्णसत्य वा पूर्ण असत्य भन्नेजस्तो कुनै कुरा नै हुँदैन । एक ठाउँमा उभिएर हेर्दा सत्य देखिएको कुरा अर्को ठाउँमा उभिएर हेर्दा पूर्णतः असत्य देखिन सक्छ । सत्य असत्य सबै सापेक्षिक कुरा हुन्’ (पृ. २६८) भन्ने सप्तमको कथनले पनि डा. दिवाकरकै भावलाई प्रस्तुत गरेको छ । सप्तम निको भइसकेपछि पनि काव्यालाई पत्र लेखेर सुटुक्क बोधको यात्रामा निस्केको छ, तर प्रेमीसँगको विछोडमा विलाप गर्न छाडेर, पछ्याउन वा खोज्न छाडेर चिठी पढ्दै रुनु अनि नारीअस्तित्वको आवाज उठाउनुले काव्याको भूमिका भने विरोधाभासपूर्ण बन्न पुगेको छ । सप्तम भने निरञ्जना नदीको पानी पिउँदै स्वको खोजीमा निरन्तर हिँडिरहेको देखाएर उपन्यासको अन्त्य भएको छ ।

यस उपन्यासमा विभिन्न किसिमका सन्दर्भलाई पनि समेटिएको छ । फ्रायडको अवचेतन मनसम्बन्धी धारणा, पिटर बोलेबेनको ‘द हिडन लाइफ अफ टिजर’ शीर्षकको पुस्तकको नाम, फैज अहमद फैजको कविताको अंश, रोबर्ट बर्न र अमृता प्रीतमको नाम, लाओत्सेको नाम, भास्कर हजारिया निर्देशित आसामी फिल्म ‘आमिस’को सन्दर्भ, योगानन्दको ‘अटोबायोग्राफी अफ अ योगी’, बुद्धको ‘द क्वान्टम एन्ड ए लोटस’जस्ता पुस्तकका नाम, बिल गेट्स, सेक्सपियर, प्रोफेसर जोन न्यास, युभल नोहा हरारी, रमण महर्षि, श्रीकृष्ण र अर्जुन आदिको प्रसङ्ग, रुसोको ‘द सोसियल कन्ट्राक्ट’देखि पारिजातको शिरीषको फूल, गोविन्दबहादुर मल्ल गोठालेको ‘पल्लो घरको झ्याल’, बीपी कोइरालाको ‘सुम्निमा’ र ‘तीनघुम्ती’, विजय मल्लको ‘अनुराधा’, मदनमणि दीक्षितको ‘माधवी’, माक्सिम गोर्कीको ‘आमा’, एलिस वाकरको ‘द कलर पर्पल’, डीएच लरेन्स ‘लेडी च्याटर्लिज लभर’ जस्ता पुस्तकका पात्रहरूको सन्दर्भलाई पनि यस उपन्यासमा ल्याइएको छ । यसले उपन्यासमा बौद्धिक पाठकको अपेक्षा त गरेको छ तर सामान्य पाठकका लागि खासै आवश्यक नभएका यस्ता सन्दर्भका थुप्रोले बोझिलो र जटिल बनाउने खतरा बढाएको छ । 

सरल र कुतूहलमय भाषाशैलीको प्रयोग यस उपन्यासको सराहनीय पक्ष हो । यसमा प्रयोग भएका समाख्याताका भाषा र पात्रका लबजमा फरक नपाइनु यसको कमजोरी हो । पात्रले कथा सुनाइसकेपछि समाख्याताले गरेका अनावश्यक र पुनरावृत्तिमूलक टिप्पणीले उपन्यासको आयतन मात्रै बढाएको छ । साथै विभिन्न पृष्ठ (१२, ३६, ९२, ११५, ११६, ११७, १२८, १४७...) मा गरिएका भाषिक त्रुटिमा ध्यान जान सकेको भए उपन्यासको गरिमा अझै बढ्ने थियो । आलङ्कारिक र सूक्तिमूलक भन्दा पनि सरल र वर्णनात्मक भाषाशैलीको प्रयोग यसमा पाइन्छ, तसर्थ दर्शनजस्तो गहन विषयलाई सरल भाषामा उठान गर्न सक्नु यसको शक्ति हो ।  

यस उपन्यासमा जसरी देशनाका सातवटा कथाहरू सुनिसकेपछि सप्तममा ठुलो परिवर्तन आएको छ, मनका विकारहरू एकाएक हटेका छन्, त्यसरी नै ज्ञान प्राप्तिपछि मान्छेमा परिवर्तन आउनु आवश्यक छ भन्ने सकारात्मक सन्देश पनि यस उपन्यासले दिएको छ । मूलतः सत्य सापेक्षित हुने तथा आफूले आफैँलाई राम्ररी नचिनेसम्म अरूलाई चिन्न नसकिने भाव यस उपन्यासले प्रस्तुत गरेको छ । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा स्वको खोजीमा हिँड्नु महिला र पुरुषका लागि समान ध्येय अझै बन्न नसकेको सन्दर्भलाई पनि यस उपन्यासले प्रस्ट पारेको छ । 

बौद्धदर्शनको चास्नीमा प्रेमको कथा घोलिएको यस उपन्यासले बुद्ध दर्शनका चार आर्यसत्य, निर्वाणको खोजी एवम् मध्यम मार्ग र अहिंसाका मार्गमा सन्देहका साथ लाग्नुपर्ने विचारलाई कलात्मक रूपमा प्रस्तुत गर्दै बुद्धले देखाएको अध्यात्मको बाटो आज पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने सन्देश दिएको छ । आफ्नै देशमा जन्मिएर २५ सय वर्षअघि नै चेतनाको पर्दा उघारिदिएका बुद्धका स्वदेशमा भन्दा विदेशमा अनुयायीहरू दिन प्रतिदिन बढिरहेको वर्तमान परिप्रेक्ष्यमा एक सर्जकले सिर्जनामार्फत त्यसतर्फ सम्पूर्ण नेपालीको ध्यान खिच्नु सराहनीय पक्ष हो । तर स्वैरकल्पनामा पुगेको पात्रले नभएर होसमै भएका नेपालीले यसतर्फ ध्यान दिन सके बुद्धको ज्ञान, महिमा, मार्गसँग जोडिएर नेपालीको पहिचान अझै उच्च र मजबुत हुने पक्का छ । आगामी दिनमा उपन्यासकारको अझै सशक्त सिर्जना आओस् भन्ने शुभेच्छा छ ।

(डा. अर्याल पद्मकन्या बहुमुखी क्याम्पसकी उपप्राध्यापक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप