दिल्लीमा घरेलु कामदार रहेका ‘छोटु’को कृषि विकास बैंकसम्मको यात्रा
जीवनको अर्को नाम सङ्घर्ष हो भन्छन् भुक्तभोगीहरू । भर्खरै प्रकाशित सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ले यस भनाइलाई चरितार्थ गरेको छ । जिउनका लागि गरिने सङ्घर्ष र आर्थिक अभावका कारण खाइने गोता मात्र होइन, गरिबलाई हेरिने दृष्टिकोणबाट उन्मुक्ति पाउनका लागि गरिएको सङ्घर्ष नै यस कृतिको मुख्य विषयवस्तु हो भन्दा फरक पर्दैन ।
योसँगै यस कृतिमा जन्मभूमिप्रतिको प्रेमलाई उजागर गरिएको छ । लेखक पौडेल प्रकृतिप्रेमी छन् । उनी जहाँ गयो, त्यहीँको प्राकृतिक सुन्दरताबाट मोहित हुन्छन् । आफू जन्मे–हुर्केको लमजुङका अलैँचे, सुन्दरबजार र भोटेओढार त उनका किशोरावस्थाका स्मृतिविम्ब नै हुन् । जागिरे भएपछि काभ्रेको मङ्गलटार, नुवाकोट, हेटौँडा, गोरखा, रुपन्देहीको मङ्गलापुर पनि उनको स्मृतिमा टाँसिन आएका छन् । चितवनले त उनलाई मोहनी नै लगाएको छ । त्यसैले उनले घरबासै यतै सारेका छन् ।
व्यक्तिको आर्थिक हैसियतले हाम्रो संस्कार र संस्कृतिमा कति गहिरो छाप पारेको छ भन्ने विषयलाई कृतिले उजागार गरेको छ । आर्थिक समुन्नतिको खोजमा हुने युवाको विदेश पलायनलाई पनि कृतिमा जोडिएको छ ।
यसका साथै कृषि विकास बैंकका गतिविधि, कर्मचारी सङ्गठनका क्रियाकलाप र उच्चपदस्थ कर्मचारीका दम्भ पनि यस कृतिले उदाङ्ग पारिदिएको छ ।
आफूले काम गरेको ठाउँका बारे, आफ्नैबारे र आफ्नो परिवारका बारेमा समेत राम्रा–नराम्रा सबै पक्षको स्पष्ट शब्दचित्र उतार्ने साहस व्यक्तिमा कसरी आउँछ ? यही नै यस कृतिको विचारणीय पक्ष छ । त्यसका लागि व्यक्तिमा स्पष्ट विचार हुनुपर्छ । विचारलाई आँट, साहस र धैर्यपूर्वक अरूका सामु पुयाउन गरिएको निरन्तरको प्रयासको प्रतिफल नै यो कृति हो । यसका लागि सचेत किसिमले काम गरिएको छ । चेतना अभिवृद्धिका लागि शिक्षाको जरुरत छ । वास्तवमा यस कृतिको मूल विषय त शिक्षा आर्जन गर्नुपर्छ भन्ने हुटहुटी नै पो हो कि भन्ने भान पर्छ ।
लेखक पौडेलको जीवन अनेकौँ उकाली–ओराली र घुम्ती पार गरेर आएको विचित्रको कथाले भरिएको छ । उनी भीरबाट लड्दा पनि बाँच्छन् । डाले घाँसको हाँगाले टाउकामा कोपेर रगताम्मे हुँदा पनि ठमठम गर्दै हिँडेर घर जान्छन् । भैँसीले डोरीसहित लतार्दा पनि ज्युँका त्युँ काममा खटिन्छन् । फुड प्वाइजन भएर थला पर्दा पनि पुनः स्वस्थ हुन्छन् । जहाजमा आगो लागेर त्राहिमाम हुँदा पनि पुनः अर्को जहाज चढेर बैठकमा भाग लिन जान्छन् ।
पन्जाबीको घरमा घरेलु कामदारका रूपमा काम पाउनुका साथै नयाँ पहिचान पनि पाउँछ– छोटु । सङ्घर्ष गर्दै अन्ततः केही वर्ष गाउँघरकै विद्यालयमा शिक्षण पेसा गरेपछि उसले कृषि विकास बैंकमा जागिर पाउँछ । तीस वर्षसम्म सेवा गरेर अवकाश पाइसकेपछि ऊ त्यही संस्थाको नीति निर्माण गर्ने तह सञ्चालक पदमा निर्वाचित हुन्छ ।
उनको जीवनमा आर्थिक अभावले निकै प्रभाव पारेको देखिन्छ । साथै ज्ञान क्षुधाले पनि असाध्यै पिरोलेको पाइन्छ, तर उनले आफ्नो लक्ष्य जसरी पनि पूरा गर्ने जुन अठोट लिन्छन्, त्यो विचार नै उनको जीवनको सफलताको कडी हो ।
उनको जीवन सङ्घर्षै सङ्घर्षले भरिएको छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने कुरा बुझेर साहसपूर्वक कर्म क्षेत्रमा उत्रिएको हुनाले नै उनको जीवन सफल भएको हो ।
त्यसैले दिनेश थपलियाले यस कृतिको भूमिकामा भनेका छन्, ‘पुस्तक पढिसकेपछि दुःख र सुख, सङ्घर्ष र सफलता मानिसको जीवनका अभिन्न अङ्ग हुन्, सङ्घर्ष र मेहनतबाटै सफलता प्राप्त हुन्छ । यसरी पाठकको मनलाई उद्वेलित गराई अमिट छाप छोड्न सक्नु नै सफल लेखकको चिनारी हो ।’
लेखक पौडेलले आफ्नो जीवनकथा भने पनि यस कृतिभित्र आम नेपालीको कथा लुकेको छ । त्यसलाई रोचक ढङ्गले प्रस्तुत गर्न सक्नु उनको कलात्मक खुबी हो । जेहोस् नेपाली साहित्यको फाँटमा एउटा नवीन फूल फुलेको छ । यसको वासना सदासर्वदा चलिरहोस् । शुभ कामना छ ।
कथावस्तु
गण्डकी प्रदेशको रमणीय ठाउँ लमजुङको अलैँचे भन्ने ठाउँमा कलाधर र तुलसा पौडेलको कान्छो छोराको रूपमा जन्मिएको मुरली भन्ने व्यक्ति आर्थिक अभाव र ज्ञानको भोकमा पिल्सिँदै हुर्किंदै र बढ्दै हुन्छ ।
आफ्नो उमेरको आधा शताब्दीसम्म ज्ञान आर्जनका लागि गरेका सङ्घर्ष, जागिर खाँदा बेहोर्नुपरेका झन्झट, विवाह गर्दाका कथा, कृषि विकास बैंकमा सञ्चालक हुँदा कमाएको साख र आम नेपालीको जस्तै आफू पनि सन्तानबाट टाढिनुपरेका कथा समेटेर यो कृति तयार भएको छ ।
घरपायकमा तीन कक्षासम्म पढाइ हुने र टाढाको विद्यालयमा पढ्न जानका लागि आर्थिक अभाव भएको हुनाले दश वर्षकै उमेरमा दाजुको साथमा दिल्ली पुग्छ । त्यहाँ एकजना पन्जाबीको घरमा घरेलु कामदारका रूपमा काम पाउनुका साथै नयाँ पहिचान पनि पाउँछ– छोटु । खाउँखाउँ र लाउँलाउँको उमेरमा खाना आधा पेट र गाली भरपेट खाएर भौँतारिइरहेको छोटुको त्यही दिनचर्यामा पनि दुर्घटनाले अवरोध खडा गरिदिन्छ । त्यसपछि दाजुको निर्देशनमा घरमै फर्किएको छोटुले भोटे ओढारको विद्यालयका शिक्षकसँग अनुनय–विनय गरेर ज्ञानको भोक मेट्न थाल्छ ।
माध्यमिक विद्यालय स्तरको पढाइ सिध्याउने बेलासम्म उसले ‘सञ्जीव’ भन्ने नयाँ नाम मात्र होइन, जेहेन्दार विद्यार्थी र विद्यार्थी नेताको पहिचान समेत बनाइसकेको हुन्छ । त्यसपछि सुन्दर बजार र रामपुर चितवनमा पुगेर कृषि विषयमा आइएससी पास गरेपछि उसका लागि जागिरको ढोका खुल्छ । केही वर्ष गाउँघरकै विद्यालयमा शिक्षण पेसा गरेपछि उसले कृषि विकास बैंकमा जागिर पाउँछ । त्यस संस्थामा तीस वर्षसम्म सेवा गरेर अवकाश पाइसकेपछि ऊ त्यही संस्थाको नीति निर्माण गर्ने तह सञ्चालक पदमा निर्वाचित हुन्छ ।
आफ्नो उमेरको आधा शताब्दीसम्म ज्ञान आर्जनका लागि गरेका सङ्घर्ष, जागिर खाँदा बेहोर्नुपरेका झन्झट, विवाह गर्दाका कथा, कृषि विकास बैंकमा सञ्चालक हुँदा कमाएको साख र आम नेपालीको जस्तै आफू पनि सन्तानबाट टाढिनुपरेका कथा समेटेर यो कृति तयार भएको छ ।
विशेषता
यो कृतिको मुख्य विशेषता भनेको विचारलाई प्राथमिता दिनु हो । कुनै पनि काम सोच–विचारपूर्वक गरियो भने मात्र सफलता हासिल हुन सक्छ भन्ने भावना जगत्मा फिँजाउनु नै यो कृतिको मूल उद्देश्य हो । सफल जीवनका लागि शिक्षा आर्जन गर्नुपर्छ भन्ने जुन विचार मुरलीमा आयो, त्यो विचारको हुटहुटीले नसताएको भए सायद आजको बैंकिङ क्षेत्रको जल्दोबल्दो व्यक्तित्वको रूपमा परिचित सञ्जीव पौडेल देखापर्न सक्ने थिएन होला ।
यो कृतिको अर्को विशेषता भनेको यसभित्र पाइने जीवनीपरकता, आख्यानात्मकता र वंशावलीको रूप हुन् । कसैले यसलाई कुनै समय घरेलु कामदारको रूपमा रहेको छोटु कसरी लगनशील भई सङ्घर्ष गरेर बैंकिङ क्षेत्रको नीति–निर्माता तहसम्म पुग्न सफल भयो भन्ने कुनै एक व्यक्तिको आख्यानका रूपमा बुझ्न सक्छन् । कसैले लमजुङको अलैँचेका कलाधर पौडेलको छोरा मुरलीको जीवन कथाको रूपमा बुझ्न सक्छन् । अझ कसैकसैले त सञ्जीव पौडेलको पाँचपुस्ते वंशावली भनेर पनि बुझ्न सक्छन् । यसरी एउटै कृतिमा तीन–तीनवटा विशेषता पाइनु चानचुने कुरा होइन ।
यस कृतिमा प्रयोग गरिएका शब्द र वाक्य सुबोध र सुपाच्य छन् । कहीँकतै घोरिनुपर्ने र नाक खुम्च्याउनुपर्ने ठाउँ छैन । साहित्यका विविध विधामध्ये निजात्मक निबन्ध उपविधाको यो कृति आत्मपरक शैलीमा लेखिएको छ । यो कृति पढ्दा कुनै मिठो आख्यान पढेजस्तो रसास्वादन गर्न सकिन्छ ।
यस कृतिको महत्त्वपूर्ण विशेषता भनेको अभिव्यक्तिमा पाइने शालीनता हो । जतिसुकै तनावपूर्ण अवस्थाको चित्रण गर्दा पनि लेखकले धैर्यता नगुमाई शालीनता अपनाउनु अति नै प्रसंशनीय पक्ष हो । आफ्नो जीवनमा आइपरेका घटनामध्ये आफ्नो दिमागमा अति नै प्रभाव पारेका घटना मात्र स्मृतिपटलमा सजीव रूपमा रहिरहन्छ । त्यस्तो घटनाको वर्णन गर्दा मनमा अवश्य पनि तनाव उत्पन्न हुन्छ । त्यस्तो अवस्थालाई मनमै दबाएर प्रस्तुत हुनु शालीनताको उत्कृष्ट रूप हो ।
सुरुमा आफ्नो विवाहलाई अस्वीकार गर्ने ससुरालाई पछि जीवनभर आफ्नो प्रशंसक बनाउन सक्नु चानचुने खुबी र विचार होइन, त्यस्तै पढ्नका लागि बिदा माग्न जाँदा पाखुरामा समातेर घिच्याउँदै बाहिर निकाल्ने महाप्रबन्धकका विरुद्ध एक वचन पनि अपशब्द नबोल्नु पनि यस कृतिका लेखकको महानता हो । अझै आफ्नै संस्थाको अहित हुने विषयमा भाषण गरेको कुरा सच्याउँदा उल्टै हप्कीदप्की गर्ने र सरुवा गराउने महाप्रबन्धकका विरुद्ध पनि चुइँक्क अपशब्द नबोल्नुलाई लेखकले सोचविचार गरी शालीनतापूर्वक विषयवस्तु प्रस्तुत गरेको मान्नुपर्छ ।
भाषाशैली
धेरैजसो विद्वान्ले आफ्नो कृतिलाई प्राज्ञिक स्तरको बनाउने नाममा क्लिष्ट भाषाशैली प्रयोग गरेको पाइन्छ, तर यस कृतिमा क्लिष्टताको कुनै गन्ध आउँदैन । यसमा मानक केन्द्रीय नेपाली भाषा प्रयोग गरी सरल वाक्य गठन गरिएको छ ।
साथै सुस्पष्ट विचारको अभिव्यक्तिले कृतिको पठन र अध्ययनमा सहजता महसुस हुन्छ । यस कृतिमा प्रयोग गरिएका शब्द र वाक्य सुबोध र सुपाच्य छन् । कहीँकतै घोरिनुपर्ने र नाक खुम्च्याउनुपर्ने ठाउँ छैन । साहित्यका विविध विधामध्ये निजात्मक निबन्ध उपविधाको यो कृति आत्मपरक शैलीमा लेखिएको छ । यो कृति पढ्दा कुनै मिठो आख्यान पढेजस्तो रसास्वादन गर्न सकिन्छ ।
गुनासो
‘छोटु’ संस्मरणात्मक कृति बडो मिहिनेतका साथ लेखिएको हुनाले अत्यन्त चाखलाग्दो छ । अग्रभाग, मूलपाठ, शुभेच्छुकका भनाइ र तस्बिर गरी चार भागमा विभाजित यस कृतिको मूलपाठमा ३२ वटा शीर्षक र ३३ वटा उपशीर्षक छन् । मीना अधिकारी पौडेलद्वारा प्रकाशित यस कृतिमा उनीसहित ११ जना व्यक्तिको नजरमा लेखक के कस्ता छन् भन्ने दिइएको छ । अन्त्यमा लेखकसँग सम्बद्ध विभिन्न समयका तस्बिर राखिएका छन् ।
वास्तवमा भनौँ भने यस कृतिमा गुनासो गर्नुपर्ने ठाउँ कहीँकतै फेला पर्दैन, तथापि पढ्दै जाँदा खड्किएका केही कुरा सूत्रबद्ध रूपमा प्रस्तुत गरिन्छ ।
(१) यस कृतिका लेखकले ‘आफ्नो भनाइ’ भनेर अग्रभागमै कृतिको सार–संक्षेप दिएका छन् । त्यसो नगरेको भए पाठकको मनमा उत्सुकता जागेर कृति अझै रोचक हुन्थ्यो कि ?
(२) यस कृतिको पृष्ठ ९ मा गरिएको वाक्य गठन अस्पष्ट भयो कि ? जस्तै : ‘दिदीका दुईजना भान्जा टीकाराम गौली र पूर्ण गौली अनि तीनजना भान्जीहरू रामकुमारी, लीला र शिवा भइसकेका थिए ।’
(३) एउटै कुरा धेरै ठाउँमा दोहोरिएको छ । अघिल्लो परिच्छेदमा भनिसकेको कुरा पछिल्लो परिच्छेदमा नदोहोराएको भए वेश हुन्थ्यो कि ?
०००
- लेखक : सञ्जीव पौडेल
- कृति : छोटु
- विधा : संस्मरण
- पृष्ठ : ३०४
- मूल्य : रु. ४००।-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश