बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकप : अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको लक्ष्य

शनिबार, ०८ असार २०८१, ०७ : ५६
शनिबार, ०८ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शनिबार बिहान जारी खेलमा अमेरिकाले वेस्ट इन्डिजलाई जितका लागि एक सय २९ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज र अमेरिका दुवै नवौँ विश्वकपमा आयोजक राष्ट्र हुन् ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय २८ रन बनाएको हो । अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए ।

अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे । कप्तान एरोन जोन्स पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

अमेरिकाका लागि मिलिन्द कुमारले पनि टोलीको खातामा १९ रन थपे । आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए । अली खानले अविजित १४ रन जोडे ।

घरेलु मैदानमा क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । आन्द्रे रसेलले पनि तीन विकेट हात पारे । अल्जारी जोसेफले दुई विकेट लिए । गुडाकेश मोटीले पनि एक विकेट कुम्ल्याए । 

‘सुपर–८’ चरणको ‘समूह–२’ मा रहेका वेस्ट इन्डिज र अमेरिकाले दोस्रो खेल खेलिरहेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेलमा दुवै टोलीका लागि जित आवश्यक छ ।

त्यो समूहमा दुई खेल खेलेको दक्षिण अफ्रिका चार अङ्कसहित पहिलो र समान खेल खेलेको इङ्गल्यान्ड दुई अङ्कसहित दोस्रो स्थानमा आसीन छन् ।

अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिजलाई भने इङ्गल्यान्डले आठ विकेटले हराएको थियो । 

यसअघि शुक्रवार राति खेलिएको खेलमा दक्षिण अफ्रिकाले इङ्गल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । वेस्ट इन्डिज दुईपटकको च्याम्पियन हो भने टी–२० विश्वकपमा अमेरिकाको यो पहिलो सहभागिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप