रोगमुक्त बिरुवा उत्पादन गर्न ‘तन्तु प्रजनन’ प्रविधि उपयुक्त
काठमाडौँ । नेपालमा सरकारी निकायबाट ‘तन्तु प्रजनन’ प्रविधिबाट आलुको बीउ उत्पादन हुँदै आएको छ । त्यसबाहेक निजी क्षेत्रबाट आलु र केराको बीउ उत्पादन हुने गरेको छ । तन्तु प्रजनन प्रविधिको प्रयोगमार्फत एक लाख बराबर बिरुवाहरू उत्पादन गर्न सक्ने क्षमता रहे पनि क्षमताअनुसारको उत्पादन भएको छैन ।
विज्ञहरूका अनुसार रोगमुक्त बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रविधि उपयुक्त प्रयोग मानिन्छ ।
हालसम्म नेपालमा यो प्रविधिबाट आलु, केरा र केही फूलका बिरुवा मात्रै उत्पादन भइरहेको छ । सरकारी निकायबाट आलुमा मात्रै तन्तु प्रजनन प्रविधि प्रयोग गर्न पाइने कानुनी मान्यता पाएका ८ वटा अन्य निकायले पनि माग अनुसार आलुका बिरुवा उत्पादन गर्दै आएका छन् ।
के हो तन्तु प्रजनन ?
प्रयोगशालाभित्रै बिरुवाको प्रजननशील भाग मुना, पात, डाँठ, जरा, बीउ, आँख्ला लगायतको सानो अंशबाट नियन्त्रित वातावरण कायम गरी बिरुवाहरू उत्पादन गर्ने प्रविधिलाई तन्तु प्रजनन ‘टिस्यु कल्चर’ प्रविधिलाई बुझाउने वायोटेक प्राविधिक सिद्धार्थ गौतम बताउँछन् ।
बीउबाट बिरुवा उत्पादन गर्दा नयाँ बिरुवामा फरक गुण आउने हुन्छ । तर तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादन गर्दा माउ बोटको गुण जस्ताकोत्यस्तै बिरुवा निकाल्न सकिन्छ । ‘टिस्यु कल्चरबाट उत्पादन गरिएको बिरुवामा भेरिएसन हुँदैन,’ उनी भन्छन्, ‘जस्तो माउ बोट हुन्छ, त्यस्तै गुणको बिरुवा निकाल्न सकिन्छ ।’
बिरुवालाई आवश्यक पर्ने क्यालसीयम, म्यानेसियम, सल्फर, बोरोन, फलाम, विभिन्न भिटामिन लगायत २४ देखि २५ वटा रसायनको प्रयोग गरी घोल तथा ठोस पदार्थ तयार गरिन्छ । सोही पदार्थमा बिरुवा उत्पादन गरिने गौतमले बताए । ‘बिरुवाको एउटा कोषबाट पुरै बिरुवा निकाल्न सकिन्छ ।’ उनले भने ।
किन आवश्यक छ तन्तु प्रजनन ?
तन्तु प्रजनन प्रविधिबाट रोग र भाइरसमुक्त बिरुवा उत्पादन गर्न सकिन्छ । यो प्रविधि सस्तो तथा दिगो बनाउन सके स्वस्थ बिरुवाबाट किसानले लाभ लिन सक्ने बताइन्छ ।
यो प्रविधिबाट सैद्धान्तिक रूपमा सबै बिरुवाको उत्पादन गर्न सकेपनि आवश्यकता र माग अनुसार बिरुवा छनौट गरी उत्पादन गर्नुपर्ने गौतमको तर्क छ ।
‘सैद्धान्तिक रूपमा सबै बिरुवा यो प्रविधिबाट उत्पादन गर्न सकिन्छ ’ गौतमले भने, ‘माटोमै सजिलैसँग उत्पादन गर्न सकिने बिरुवा भन्दा आवश्यकताको आधारमा उत्पादन गर्नुपर्ने हुन्छ ।’
नेपालमा आलु, केरा र केही फूलमा तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादन भइरहेको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रबाट हालसम्म ८ वटा निकायले तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादनका लागि लाइसेन्स प्राप्त गरेका छन् ।
गौतमका अनुसार सकेसम्म कम रुपैयाँमा धेरै बिरुवा किसानलाई उपलब्ध गराउनु यस प्रविधिको उचित सदुपयोग हो । लोप भइरहेका बिरुवाहरू संरक्षणका गर्न यो प्रविधिबाट बिरुवा उत्पादन गर्न सकिन्छ । ‘जुन बिरुवा संरक्षण गर्ने आवश्यक छ, त्यस्ता बिरुवाको उत्पादन गर्न सकिन्छ, बजारमा महँगो पर्ने, कुनै दुई तीन वर्षमा मात्रै फूल लाग्ने र हाइब्रिड बिरुवाबाट दाना उत्पादन गर्न नसकिने बिरुवाहरू टिस्यु कल्चरबाट उत्पादन गर्न सकिन्छ ।’
तन्तु प्रजनन प्रविधिबाट व्यवसायीक रूपमा धेरै सङ्ख्यामा एकै पटक स्वस्थ बिरुवा उत्पादन गर्न सकिन्छ । कुनै पनि जातको बिरुवा र बिरुवाको गुण संरक्षणका लागि यो प्रविधि आवश्यक रहेको उनको तर्क छ ।
नेपालमा तन्तु प्रविधिबाट उत्पादन भइरहेका बिरुवा
नेपालमा आलु, केरा र केही फूलमा तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादन भइरहेको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रबाट हालसम्म ८ वटा निकायले तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादनका लागि लाइसेन्स प्राप्त गरेका छन् ।
फलफूल बिरुवा तथा बीउ आलु उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला स्थापनामा सहयोग कार्यक्रम सञ्चालन, मापदण्ड २०७७ अनुसार ८ वटा निकायलाई तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादनका लागि लाइसेन्स प्रदान गरिएको केन्द्रका बाली विकास अधिकृत मोहन प्रसाद खतिवडाले बताए । ‘हामीले तन्तु प्रजननका लागि लाइसेन्स दिएका छैनौँ,’ उनले भने, ‘आलुको प्रजनन स्तरको बीउ उत्पादन गर्ने गरी दुई वटा सरकारी, एक वटा सामुदायिक र पाँच वटा निजी निकायलाई लाइसेन्स प्रदान गरेका छौँ ।’
आलुको प्रजनन स्तरको बीउ हाल नेपालमा उत्पादन भइरहेको उनको भनाई छ । ‘हाल आलु उत्पादन क्षमता १ लाखको हराहरीमा छ,’ उनले भने, ‘आवश्यकता र माग अनुसार ती ८ वटा निकायले ५० देखि ६० हजार बिरुवा बर्सेनि उत्पादन गरेका छन् ।’
तन्तु प्रजनन प्रविधिबाट आलुको पूर्व मूल बीउ उत्पादन, केही फूलको र केराको तन्तु प्रजनन मार्फत स्वस्थ बिरुवा उत्पादन भइरहेको सरोकारवालाको भनाइ छ ।
बागमती प्रदेश अन्तर्गत तन्तु प्रजनन प्रयोगशाला पिस लिली, अफ्रिकन भइलेट लगायत फूलको मटर प्लान्ट तयार परिएको उनको भनाइ छ । ‘अहिले हामीसँग पिस लिली दुई तीन भेराइटी छ, अफ्रिकन भइलेट लगायतको मटर प्लान्ट पनि छ,’ गौतमले भने, ‘कसैले भारी मात्रामा माग गर्छ भने हामीले उत्पादन गरेर दिन सक्छौँ ।’
गुराँस, अर्किड लगायत विभिन्न जातका ५ देखि ६ थरीको फूलहरूको बेर्ना निकाल्ने अध्ययन भइरहेको गौतमको भनाई छ ।
तन्तु प्रजनन प्रविधिबाट आलुको पूर्व मूल बीउ उत्पादन, केही फूलको र केराको तन्तु प्रजनन मार्फत स्वस्थ बिरुवा उत्पादन भइरहेको सरोकारवालाको भनाइ छ ।
नेपालमा तन्तु प्रजननको चुनौती
नेपालमा तन्तु प्रजनन प्रविधिबाट बिरुवा उत्पादन गर्नका लागि जनशक्ति र रसायन पाउन मुख्य चुनौती देखिएको छ ।
नेपालमा तन्तु प्रजननमा बायोटेक प्राविधिकको कमी देखिन्छ । ‘बायोटेक पढेका जनशक्ति वैदेशिक रोजगारीमा जान्छ,’ गौतम भन्छन्, ‘नेपालमा बायोटेक अध्ययन गरेका जनशक्तिका लागि अवसर निकै कम छ, यसले गर्दा टिस्यु कल्चरमा पनि यो विधाका व्यक्ति कमै छन् ।’
नेपालमा सञ्चालन भएका ल्याबहरूमा प्रयोग हुने रसायन आयात गरिन्छ । बाहिर सस्तो पर्ने रसायनका नेपालमा महँगो पर्ने गौतमको भनाई छ । ‘नेपालमा प्रयोग हुने रसायन बाहिरबाट नै ल्याउने गरेका छौँ ।’ उनले भने, ‘भारतमा १२३० रुपैयाँ प्रति प्याकेट रसायन नेपाली १९२० रुपैयाँको हराहरीमा हुन आउँछ तर नेपालमा ६ देखि ७ हजारसम्म तिर्नुपर्छ ।’
तन्तु प्रजननका लागि प्रयोग हुने रसायन र सामाग्री पनि महँगो पर्ने गरेको उनको भनाई छ ।
‘एमोनियम नाइट्रेट’ नामक रसायन बाली बिरुवाको खाद्य तत्त्वको रूपमा प्रयोग गरिन्छ । तर नेपालमा हाल यो रसायन प्रतिबन्ध गरिएकाले छ । ‘एमोनियम नाइट्रेट’ रसायन विस्फोटक पदार्थ बनाउन प्रयोग हुने भएकाले सरकारले प्रतिबन्ध गरेको हो । ‘भारी मात्रामा ल्याउन नदिनु राम्रो हो,’ उनले भने, ‘ल्याबका लागि केही मात्रामा ल्याउन दिने बाटो खुलाउनु पर्छ, सञ्चालित ल्याबहरूलाई मात्रा निर्धारण गरेर ल्याउन दिनु पर्छ ।’
गौतमले हाल नेपालमा सञ्चालित तन्तु प्रजनन केन्द्रले ‘एमोनियम नाइट्रेट’ रसायन प्रयोग गर्नका लागि ‘प्रि मिक्स’ भन्ने तयारी रसायन प्रयोग गरेको बताए । उनले यो रसायन प्रयोग गर्दा महँगो पर्न जाने उल्लेख गरे । ‘एमोनियम नाइट्रेटका लागि प्रि–मिक्स भन्ने रसायन प्रयोग गरेका छौँ’, उनले भने, ‘हामीले ५०० ग्राम एमोनियम नाइट्रेट ल्याउन पाएमा एक हजार देखि १२ सय रुपैयाँ खर्च पर्छ तर हाल प्रि मिक्स भन्ने रसायन प्रयोग गर्दा ७ हजार रुपैयाँ परेको छ ।’
केन्द्रका बाली विकास अधिकृत मोहन प्रसाद खतिवडाले तन्तु प्रजननमा जनशक्ति न्यून रहेको भन्दै ल्याबमा प्रयोग हुने एमोनियम नाइट्रेटको लागि कानुन पनि बाधक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो