रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले साविक विजेता इङ्ल्यान्डलाई हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले हराएको छ । नवौँ विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौँ जित हो ।
‘सुपर–८’ चरणमा भने दक्षिण अफ्रिकाको यो दोस्रो जित हो । दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । यसअघि दक्षिण अफ्रिकाले ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।
‘सुपर–८’ चरणको ‘समूह–२’ मा दक्षिण अफ्रिका दुई खेलबाट चार अंक बटुल्दै पहिलो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । साविक विजेता इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा दुईपटकको च्याम्पियन वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो । एक–एक खेल खेलेका अमेरिका र वेस्ट इन्डिजले भने खाता खोल्न सकेका छैनन् ।
शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रनमात्र बनाउन सक्यो ।
सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान डी काकले केवल ३८ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।
अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी एक चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यानद्वय डी काक र हेन्ड्रिक्सले ८६ रनको साझेदारी गरेका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान डेभिड मिल्लरले पनि टोलीको खातामा अविजित ४३ रन थपे । उनले केवल २८ बलमा दुई छक्का र चार चौका प्रहार गरे । इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । लियाम लिभिङ्स्टोनले पनि टोलीको खातामा ३३ रन थपेका थिए । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा र केशव महाराजले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
-
बालबालिका हुर्काउने–पढाउने २५ सूत्र !
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त