१० बजे, १० समाचार
आज मिति २०८१ असार ७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. राजदूत सिफारिस
सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।
पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।
२. प्रदेशको बजेटमा विवाद
सातमध्ये अधिकांश प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ को बजेट पेस भएलगत्तै लफडा भएको छ । बजेटको लफडाले कोशी, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशसभा बैठक प्रभावित हुन पुगेका छन् ।
३. रास्वपाको स्थापना दिवस
सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए ।
४. स्कुलमा रोयल्टी
शुक्रबार लोक रक ब्यान्ड नेपथ्यका मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जाल एक्समा लेखे, ‘हाम्रो गीतमा विद्यार्थीहरू नाचगान गर्न हामीलाई रोयल्टी तिर्नुपर्दैन ।’
एक म्युजिक कम्पनीले रोयल्टी तिरेर मात्र गीत प्रयोग गर्न विद्यालयसमेतलाई धमाधम पत्राचार गर्न थालेपछि गुरुङले यस्तो बताएका हुन् ।
विद्यार्थीलाई सार्वजनिक भएका गीतहरुमा नाचगान गराउँदासमेत विद्यालयहरूबाट रोयल्टी उठाउने रोयल्टी सङ्कलन समाजसँगको सहमतिअनुसार शिव म्युजिक प्रालिले चालेको कदमप्रति गुरुङले असन्तुष्टि जनाएको सहजै बुझ्न सकिन्छ । गुरुङ यस पोस्टले अहिले सामाजिक सञ्जालमा एउटा बहस निम्त्याएको छ ।
५. अदालत
उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। सर्वोच्चले अर्को पेसी असार १८ गतेका लागि तोकेको छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद समेटिएको दुई वटा मुद्दा फैसलाका लागि सुनुवाइ हुने भनि सर्वोच्च अदालतको इजलासबाट आदेश भइसकेको छ । तर पछिल्ला दुई पेसीहरू लगातार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि स्थगित हुन पुगेको छ ।
६. संसदीय सुनुवाइ
निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रस्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
७. प्रधानमन्त्रीको धारणा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भन्दा बढी अहिले देशको काममा खटेको दाबी गरेका छन् । शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले जीवनको उत्तराद्र्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताए ।
८. एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीको असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ । प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
९. लोसपा महाधिवेशन
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले महाधिवेशनलाई लक्षित गरी सङ्गठन सुदृढीकरणको अभियानलाई तीव्रता दिएको छ । लोसपाले जिल्ला–जिल्लामा सदस्यता अभियान चलाइरहेको छ भने भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनहरूलाई पूर्णता दिएको छ । २०८२ वैशाखमा पार्टीको महाधिवेशन गर्ने गरी तयारी चलिरहेको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।
१०. व्यापार घाटा
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड पुगेको छ । जेठ मसान्तसम्म कूल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गर्दै गर्दा सोही अवधिमा यताबाट जम्मा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात हुन सकेको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !