बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

लयमा देखिएका दुई आयोजकबिच उत्कृष्टताको लडाइँ

शुक्रबार, ०७ असार २०८१, २१ : ४५
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ चरणमा शनिबार दुई आयोजक राष्ट्रबिच भिडन्त हुँदैछ । नवौँ संस्करणको आयोजक वेस्ट इन्डिज र अमेरिकाबिच भिडन्त हुन लागेको हो । उक्त खेल ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समय अनुसार, बिहान ०६ः १५ बजे सुरु हुनेछ ।

अमेरिका र वेस्ट इन्डिज दुबै ‘सुपर–८’ चरणको ‘समूह–२’ मा छन् । वेस्ट इन्डिज र अमेरिका ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा पराजित भएका छन् । त्यसैले शनिबार हुने खेलमा यी दुबै टोलीका लागि जित अत्यावश्यक छ ।

अमेरिकी टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो । वेस्ट इन्डिज भने आफ्नो पहिलो खेलमा इङ्ल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । ‘सुपर–८’ चरणको दुबै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले पहिलो खेलमा पराजय भोगेका अमेरिका र वेस्ट इन्डिज दबाबमा छन् ।

वेस्ट इन्डिज प्रारम्भिक चरणमा आफ्नो चारवटै खेल जित्दै ‘सुपर–८’ चरणमा पुगेको हो । वेस्ट इन्डिज प्रारम्भिक चरणमा समुह ‘सी’ को विजेता बनेको थियो । वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले हराएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठूलो अन्तरको जित थियो । त्यसपछि वेस्ट इन्डिजले आफ्नो तेस्रो खेलमा बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको थियो ।

वेस्ट इन्डिजले समूहगत चरणको आफ्नो अन्तिम खेलमा भने अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हात पारेको थियो । प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको वेस्ट इन्डिजले ‘सुपर–८’ चरणको पहिलो खेलमा भने लय गुमाएको थियो ।

यसैगरी अर्को आयोजक अमेरिका प्रारम्भिक चरणमा समूह ‘ए’ मा परेको थियो । अमेरिका त्यो समूहको उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

अमेरिकाले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अमेरिकाको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । आफ्नो पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा अमेरिकी टोली बलियो भारतसँग सात विकेटले पराजित भएको थियो । अमेरिका र आयरल्यान्डबिचको चौथो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र अमेरिका १७औँ स्थानमा छन् । टी–२० विश्वकपमा वेस्ट इन्डिजको यो नवौँ सहभागिता हो । वेस्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि चुमिसकेको छ ।

वेस्ट इन्डिज दुईपटक टी–२० विश्वकप जित्ने पहिलो राष्ट्र पनि हो । वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा टी–२० विश्वकपको उपाधि उचालेको थियो । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । आफ्नो पहिलो सहभागितामै अमेरिका ‘सुपर–८’ चरणमा पुगिसकेको छ ।

जारी विश्वकपमा अमेरिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान एन्ड्रिज गुस्ताभ स्टेफानस गौस हुन् । उनले टोलीका लागि चार खेल खेल्दै कुल एक सय ८२ रन बनाइसकेका छन् । उनले दुईवटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । उनको उच्च स्कोर भने अविजित ८२ रन हो ।

एन्ड्रिज जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा छन् । अमेरिकाका लागि एरोन जोन्सले पनि चार खेलमा एक सय ४१ रन बनाएका छन् । अमेरिकाका लागि सर्वाधिक विकेट लिने बलर भने सौरभ नेत्रवाल्कर हुन् । उनले ६ विकेट लिइसकेका छन् ।

जारी विश्वकपमा वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान निकोलस पुरन हुन् । उनले पाँच खेलमा दुई सय रन बनाइसकेका छन् । उनले एउटा अर्धशतक पनि हिर्काएका छन् । उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा छन् ।

जारी विश्वकपमा निकोलस पुरनको उच्च स्कोर भने ९८ रन हो । वेस्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा जोन्सन चाल्र्स छन् । उनले पाँच खेलमा कुल एक सय २५ रन बनाएका छन् ।

वेस्ट इन्डिजका लागि सर्वाधिक विकेट लिने बलर भने अकेल होसैन र अल्जारी जोसेफ हुन् । उनीहरुले नौ–नौ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिज र अमेरिका पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

वेस्ट इन्डिज र अमेरिकाबिच खेल हुने केनसिङ्टन ओभल स्टेडियममा हालसम्म २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकिएको छ । यो स्टेडियममा हालसम्म पहिले ब्याटिङ गर्ने टोलीले १८ खेल जितेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने केवल आठ खेल जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप