मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
दोस्रो स्थापना दिवस

‘घण्टीघर’मा नेताहरूको जमघट, रास्वपालाई साथ र सुझाव

शुक्रबार, ०७ असार २०८१, २० : ४६
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पार्टी कार्यालय वनस्थली (घण्टीघर)मा दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए ।

रास्वपालाई शुभकामना दिन संसदमा प्रतिनिधित्व भएको सबै जसो दलका नेता ‘घण्टीघर’ पुगेका थिए । दिउँसो १ बजेबाट सुरु भएको चियापान समारोहको सुरुमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पुगेका थिए ।

त्यसपछि घण्टीघरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदमा पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको आगमन भयो । रास्वपाको चियापानमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको पनि सहभागिता थियो । रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा चलेको वाकयुद्धले रास्वपासँग कांग्रेसको दुरी बढेको थियो । रास्वपाको चियापानमा कांग्रेसको सहभागितालाई घण्टीघरमा उपस्थिति भएकाहरूले चासोका साथ हेरेको पाइन्थ्यो ।

दिउँसो साढे २ बजेतिर कांग्रेस सभापति शेरबार देउवा, नेता विमलेन्द्र निधि, रमेश लेखक चियापान समारोहमा आइपुगे । रास्वपा सभापति लामिछानेसहितका नेतासँग फोटो सेसनपछि कांग्रेस नेताहरू घण्टीघरबाट बाहिरिए ।

deuba-rabi

बानेश्वरमा संसदीय दलको बैठक रहेको भन्दै चाँडै निस्किएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले बताएका थिए । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि घण्टीघर पुगेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्तिममा आफ्ना पार्टीका नेताहरूको दलबलसहित रास्वपाको घण्टीघरमा पुगेका थिए । प्रचण्ड, देउवा, माधव नेपाल, खनाल, भट्टराई, राजेन्द्र लिङदेन, सीके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर सबैले रास्वपा कार्यालयमा राखिएको ‘घण्टी’ बजाएका थिए । एमाले रास्वपाले आफ्नो चुनाव चिन्ह ‘घण्टी’ नेताहरुलाई बजाउन लगाएपनि अध्यक्ष ओलीले भने घण्टी बजाउन अस्वीकार गरे । 

oli

रास्वपाको चियापान समारोहमा गाँजा, बाँस र केराबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिएको थियो । उक्त वस्तुको अवलोकन गरे मात्र नेताहरू घण्टीघरबाट बाहिरिने व्यवस्था मिलाइएको थियो । ओलीले नेपाली उत्पादनका विभिन्न स्टलहरुको चासोपूर्वक अवलोकन गरे । त्यसक्रममा ओलीलाई गाँजा, अल्लो लगायतबाट बनाइएका कपडा उपहार दिइएको थियो । त्यस्तै नेपाली उत्पादन च्याउ समेत ओलीलाई उपहार दिइएको थियो । त्यस्तै अध्यक्ष ओलीले केहीबेर स्टलमा राखिएको कपडा बुन्ने तान चलाएका थिए ।

सर्वसाधारणका लागि घण्टीघरको अन्डर ग्राउण्डमा चियापान (मोहीपान)को व्यवस्था थियो । नेताहरू भने सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायतसँग भेटघाट गरेर माथिबाटै बाहिरिन्थे । घण्टीघरबाट बाहिरिँदा मिडियाबाट घेरिएपछि नेताहरुले संक्षप्ति प्रतिक्रिया पनि दिएका थिए ।

सोही क्रममा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी स्थापनाको दुई वर्षमा रास्वपाले देशको अवस्था परिवर्तन गर्ने नीति र कार्यक्रम ल्याउन नसकेको बताए ।

‘व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने आम गुनासो छ । अवस्था परिवर्तन गर्न अरु पार्टीले सकेका छैनन् नै । उहाँहरूले पनि अवस्था परिवर्तन गर्ने खालको नीति र कार्यक्रम अझै ल्याउन सक्नु भएको छैन,’ उनले भने ।

rabi-khanal

नवोदित रास्वपालाई देशको हित र आमुल परिवर्तनका निम्ति काम उनको  शुभकामना छ । ‘यो दुई वर्षमा रास्वपाका सबल र दुर्बल पक्ष छन् । यो हर पार्टीमा हुन्छ ,’ खनाले भने ।

यस्तै नेसपाका अध्यक्ष भट्टराईले पुराना शक्तिहरुसँगको सहकार्यलाई रास्वपाले तत्कालीन रुपमा लिनुपर्ने बताए । ‘वैकल्पिक शक्तिसँगको सहकार्य गरी देशलाई विकास गर्ने रणनीति बनाउनुपर्छ । पुराना शक्तिसँग बढी लसपस गर्न थाल्यो भने रणनीतिक नोक्सान हुँदा हराउने खतरा हुन्छ ,’ उनले भने ।

baburam

सत्तासँग जोडिएपछि रास्वपाको गति धीमा देखिएको उनको भनाइ थियो । ‘तर, उहाँहरू आत्तिने अवस्था छैन । सिक्दै जानुहुन्छ । सिक्नमा सिपालु हुनुहुन्छ,’ उनले भने ।

यस्तै राप्रपा अध्यक्ष लिङ्देनले जनताको आशा र विश्वासमाथि रास्वपाले  धोका दिन नहुने बताए । ‘नयाँ दल रास्वपाको प्रवृत्ति नयाँ हुन्छ कि भन्नेमा अझै आशावादी छौँ,’ उनले भने ।आम निर्वाचनपछि रास्वपा र राप्रपाबिच एकताको प्रयास भएपनि सफल नभएको भन्दै आगामी दिनमा पुनः प्रयत्न हुने उनले बताए ।

यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले रास्वपा सरकारमा गएको तीन महिनामै मूल्याङ्कन गर्न नसकिने बताए । ‘८४ मा जनताले के मूल्याङ्कन गर्नुहुन्छ रु मेरो मूल्याङ्कन पनि त्यही हुन्छ । नेपालमा लोकतान्त्रिक शक्तिको भविष्य छ ,’ उनी भन्छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले छोटो समयमै रास्वपा राज्यको नेतृत्वका लागि प्रतिस्पर्धामा आएको बताए । ‘जनताको विश्वास जितेर चौथो दलको रुपमा उपस्थित गराउनु भएको छ । उहाँलाई शुभकामना ,’ उनले भने । यस्तै प्रधानमन्त्री प्रचण्डले रास्वपाको वार्षिकोत्सवमा आफू आउनु नै समीक्षा भएको टिप्पणी गरेका थिए ।

devendra

जनमतका अध्यक्ष सीके राउतले जनताले नयाँ दललाई ठुलो आशा र विश्वासको साथ पठाएको बताए । ‘हामीले पनि आफ्नो उत्तरदायित्वको बोध गरेर अगाडि बढ्दैछौं । बाटोमा अवरोध छन् । सबैलाई परा गर्दै अगाडि बढिराखेका छौँ,’ उनले भने । कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले रास्वपाको सफलताको तुलना गर्ने बेला नभएको बताए । ‘तुलनात्मक कुराले धेरै कुराको संकेत गर्छ । नयाँ पार्टी हो । यसलाई मेरो शुभकामना छ ,’ उनले भने ।

ck

एमाले अध्यक्ष ओलीले रास्वपालाई शुभकामना दिँदै दुईवर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका थिए । यता रास्वपा उपसभापति डोलप्रसाद अर्यालले आफूहरूको दुई वर्षको मूल्याङ्कनमा ४० नम्बर दिए । ‘पार्टी स्थापनाको दुई २ मा पार्टीको मूल्याङ्कन गर्दा १ सयमा ४० नम्बरमा मात्रै छौँ । हामी ५० पनि पुग्न सकेका छैनौँ,’ उनले भने ।

kp-rabi

संगठनमा आफूहरु कमजोर रहेको भन्दै संगठन निर्माणमा समय दिन नसकिएको उनको भनाइ थियो । ‘अप्ठ्याराहरु पन्छाएर अगाडि बढ्नुपर्ने भएकाले हामी आफ्ना काममा सन्तुष्ट छौँ । इमानदार तरिकाले काम गरिरहेको छौँ,’ अर्यालले भने ।

rsp1

४०–४५ वर्ष राजनीति नगरी जीवन बिताएका भन्दै नयाँ मान्छे राजनीतिमा आएपछि बितेका कमी कमजोरी खोजिएको बताए । ‘विगतमा कमजोरी हुँदा रुल अफ लले काम गर्छ भन्ने थियो तर, हुल अफ लले निर्देशित गर्ने रैछ अहिलेको समाजलाई  । यसलाई परिवर्तन गर्नुपर्छ ,’ उनी भन्छन् ।

आफूहरूले हिजोको दिनमा केही कमजोरी र गल्ती गरेको भए सजाय भोग्न तयार रहेको पनि उनले बताए । ‘आगामी दिनमा गल्ती नहुने गरी जाने विषयमा क्लियर छौँ ,’ अर्यालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप

छुटाउनुभयो कि ?