कार्यकर्ता खुसी पार्न वडाध्यहरुले बाँडे करोडौँका ‘टुक्रे योजना’

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५ सय भन्दा धेरै टुक्रे योजनामा २४ करोड बढी रकम खर्चेको भेटिएको छ ।
उपमहानगरका २४ वटा वडामा चालु आर्थिक वर्षमा विनियोजन भएको ३३ करोड बजेटमध्ये २४ करोड १० लाख भन्दा कम रकमका टुक्रे योजनामा खर्च भएको पाइएको हो । जसमा वडाको पुँजीगत खर्च (वडाको विकास) भन्दा पनि कार्यकर्ता पाल्ने र आफू अनुकूलका व्यक्ति र संघ, संस्थालाई खुसी पार्ने प्रयास गरेको पाइएको छ ।
कानुनतः १० लाख भन्दा कम रकमका योजना र कार्यक्रमहरू वडाध्यक्षको सिफारिसमा कार्यान्वयन गर्न सकिने व्यवस्था छ । १० लाख भन्दा कमका योजना कार्यान्वयन गर्न टेन्डर प्रक्रियामा जानु पर्दैन । चालु आर्थिक वर्षमा २४ वटा वडाका ७ सय भन्दा धेरै योजनामध्ये ५०५ वटा टुक्रे योजनाबाट सामान खरिद, आर्थिक सहयोग, मठमन्दिर, गुम्बा चर्च, मस्जिद, भवन निमार्ण, इन्धन, पत्रकारलाई कार्यक्रम वितरण, ल्यापटप, क्यामेरा र स्कुटर खरिद गरेको पाइएको छ ।
वडाले खरिद गरेको सामानको मूल्य भने आम नागरिकले खुला बजारमा किन्ने मूल्य भन्दा अधिक छ । यसरी वडाको ठुलो बजेट टुक्रे योजनामा खर्च गर्दा योजना अनुगमनका नाममा भत्ता र इन्धनमा थप लाखौँ रुपैयाँ व्ययभार थपिने गरेको छ ।
जीतपुर सिमरा उपमहानगर प्राविधिक शाखाका इन्चार्ज तथा इन्जिनियर अभि झा वडाको २ देखि ५ लाख तथा उपमहानगरका २५ करोड सम्मका ठुला योजनामा काम गर्न उत्तिकै समय र मेहनत खर्च हुने बताउँछन् ।
‘हामीलाई ठुलाभन्दा मसिना योजनाका काम गर्न समस्या छ, त्यसको पनि अनुमानित लागतदेखि सम्पूर्ण कागजपत्र तयार पर्नुपर्छ’ इन्जिनियर झाले रातोपाटीसँग भने ‘चालु आर्थिक वर्षमा वडाका मात्रै ७ सय भन्दा धेरै साना योजना छन् ती सबैको प्राविधिक हिसाबले अनुगमन गर्न सम्भवै छैन ।’
उपमहानगरले चालु आर्थिक वर्षमा जनसङ्ख्या र भूगोलका आधारमा प्रतिवडा ८० लाख देखि २ करोडसम्म बजेट विनियोजन गरेको थियो । जसमा सबैभन्दा धेरै बजेट वडा नं ७, १६, २, १ र ४ मा २ करोड हाराहारीमा थियो ।
वडामा धेरै–थोरै जति नै बजेट विनियोजन भएपनि उपलब्धिमूलक र प्रतिफल देखिने कुनै काम नभएको उपमहानगरको योजना महाशाखाले जनाएको छ ।
‘वडाको बजेटमा सम्हाल्नै नसक्ने बेथिति छ, सबै २ लाख ५ लाखको टुक्रे योजनाको फाइल बोकेर भुक्तानीको लागि आउँछन् । नगरे पचास ठाउँबाट फोन आउँछ । हामीलाई साह्रै गाह्रो छ’ योजना महाशाखाका एक कर्मचारीले भने, ‘यो सबै कमिसनका लागि पार्टी कार्यकर्ता, संघ, संस्थाका मान्छे पत्रकार खुसी पार्ने काम भएको छ ।’
जीतपुर सिमराले चालु आर्थिक वर्षमा २ अर्ब ६७ करोडको बजेट विनियोजन गरेको थियो ।
जसबाट ई–बिडिङ्ग प्रक्रियाबाट ९० करोडका ठुला योजनाहरूको ठेक्का गरेर कार्यान्वयनको चरणमा छ ।
उपमहानगरले जीतपुर सिमरा अस्पताल, विद्यालय, सामुदायिक भवन, कल्भर्ड, वडा कार्यालय, स्वास्थ्य चौकी, ग्रामीण भेगमा कृषि विद्युतिकरण, पार्क र सडक कालोपत्रेको काम गरिरहेको छ ।
विद्युतीय प्रणालीबाट ठेक्का गर्दा ३५ देखि ४० प्रतिशत रकम बचत भएको उपमहानगरको भनाई छ ।
चालु आर्थिक वर्षमा सम्झौता भएका बहुवर्षीय योजनाहरूको प्रतिफल २०८१ कात्तिकसम्म प्रत्यक्ष रुपमा जनताले अनुभव गर्न पाउने इन्जिनियर झाको भनाई छ । ठुला योजनाहरू पूर्णरुपमा कार्यान्वयन भए उपमहानगरभित्रका किसान, गरिब, विपन्न, दलित जनजातिको आर्थिक तथा सामाजिक विकासमा प्रत्यक्ष सहयोग पुग्ने उनको भनाई छ ।
चालु आर्थिक वर्षमाजस्तै उपमहानगरको गत आर्थिक वर्ष २०७९/०८० मा पनि २४ वटा वडाहरूमा १० लाख भन्दा कम रकमका ५६१ वटा योजनाहरू कार्यान्वयन भएको उपमहानगरले जनाएको छ ।
कुन वडामा कति छन् टुक्रे योजना ?
उपमहानगरका २४ वटा वडामा १० लाख भन्दा कम रकमका योजनाहरूमध्ये वडा नं १ मा २८, २ मा १९, ३ मा २५, ४ मा ९, ५ मा २५, ६ मा १४, ७ मा २१ वटा रहेका छन् । त्यसैगरी वडा नं ८ मा १५, ९ मा २०,१० मा २२, ११ मा २२, १२ मा २८,१३ मा २०,१४ मा २०,१५ मा २२, १६ मा ३३ वटा रहेका छन् । त्यसैगरी वडा नं १७ मा १०, १८ मा ३७, १९ मा २३, २० मा २७, २१ मा २०, २२ मा २३, २३ मा १८ वटा र वडा नं २४ मा १५ वटा टुक्रे योजना छन् ।
सबैभन्दा धेरै टुक्रे योजना बाँड्नेमा १८, १६, २०, १२, ५,३ र १ नम्बर वडा रहेका छन् । कम टुक्रे योजना बाँड्नेमा वडा नं ४ का ९ वटा छन् ।
जीतपुर सिमरा उपमहानगर वडा नं १ का कार्यवाहक वडाध्यक्ष अमन लामाले वडा ठुलो भएकोले अधुरो काम पुरा गर्न टुक्रे योजना बाँड्नुपर्ने बाध्यता भएको बताए । ‘चुनावमा हामीले पनि जनतालाई नाला, बाटो बनाइदिन्छौँ भनेर प्रतिबद्धता जनाएपछि काम त गर्नैपर्यो’, कार्यवाहक वडाध्यक्ष लामाले भने ‘नगरप्रमुखज्युले भनेजस्तो चालु आर्थिक वर्षमा २ करोड बजेट दिएको ठाउँमा अगामी वर्षमा ५० लाखको बजेटले अर्को वर्ष कसरी काम गर्ने ?’
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टुक्रे योजना कटौती गरेर ठुला रकमका प्रस्ताव ल्याएपछि वडाध्यक्षहरु विरोधमा उत्रिएका छन् । उपमहानगरले अगामी आर्थिक वर्षका लागि वडाको बजेट ५० लाखमा झार्ने र ठुला योजनामा लगानी बढाउने तयारी गरेको छ । फलस्वरुप असार ६ गते बिहीबारको १० औ नगरसभा वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।
कस्ता छन् टुक्रे योजना ?
चालु आर्थिक वर्षमा उपमहानगरको २४ वटा वडाहरूमध्ये वडा नं. १ ले संस्कृति झल्कने कार्यक्रमका लागि आर्थिक सहयोग ३ लाख, वडाको भिडियो प्रोफाइल ३ लाख, सिमरा गोल्डकप अनुदान ७ लाख, बडाभरि खेलकुद कार्यक्रमका गर्न २ लाख ५६ हजार, वडाभर सडक बत्ती जडानलाई ५ लाख, विविध कार्यक्रम खर्च ७ लाख १० हजार,स्कुटर खरिद ३ लाख ५० हजार,अधुरो स्तम्भ निर्माण १ लाख ५० हजार, विविध शीर्षकमा ७ लाख १० हजार, शैक्षिक अनुदान ७ लाख, भौतिक मर्मत ४ लाख खर्चेको छ भने वडा नं २ ले दलित उत्थान कार्यक्रम ६ लाख, सिमरा गोल्डकप अनुदान ४ लाख, विविध शीर्षकमा ९ लाख २५ हजार,हरियाली प्रवर्द्धन ७ लाख ६५ हजार, ग्रभेल ५ लाख, धार्मिक सांस्कृतिक तथा पर्यटन पूर्वाधार ७ लाख, खर्चेको छ ।
वडा नं ३ मा रहेका २५ वटा टुक्रे योजनामध्ये स्वास्थ्य शिविर सञ्चालन गर्न ७ लाख, विविध खर्च ६ लाख, खेलकुद सामाग्री वितरण २ लाख ७५ हजार, किसानलाई घाँस वितरण २ लाख, भ्रमण खर्च ३ लाख, विद्यालयमा शैक्षिक सामाग्री वितरण ८ लाख, चर्च निर्माण ४ लाख, रामवन गुम्बा निर्माण ९ लाख, क्लब मर्मतसम्भार २ लाख, व्यायामशाला निर्माण ५ लाख,चर्च मर्मत १ लाख ५० हजार, सामान पोखरी मर्मत सम्भार ५ लाख चिल्ड्रेन पार्क सामान खरिद ५ लाख, पर्यापर्यटन गुरुयोजनामा ३ लाख खर्च भएका छन् ।
त्यसैगरी धेरै टुक्रे कार्यक्रम गर्ने वडामध्ये वडा नं ५ मा १० लाख मुनिका २५ वटा योजना छन् । कार्यालय सामाग्री उपकरण खरिद, ५ लाख, कार्यालय सञ्चालनमा २ वटा शीर्षकमा ६ लाख ६७ हजार, सिप विकास तालिम २ लाख ५५ हजार, तरकारी बिउबितरण ७ लाख, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आर्थिक सहयोग २ लाख १० हजार,लोकसेवा कक्षा सञ्चालन २ लाख अवलोकन भ्रमण २ लाख, दलित उत्थान कार्यक्रम १ लाख ३० हजार,बकुलिया सार्वजनिक भवन निर्माण ५ लाख, चौतारा निर्माण ३ लाख इन्धन ७ लाख छन् ।
त्यसैगरी उपमहानगरको ठुलो वडामध्येको वडा नं ७ ले पत्रकारहरूलाई ३ लाख, सगरमाथा सहकारीलाई साम्रगी खरिद गर्न २ लाख १९ हजार, सेवा परामर्श शीर्षकमा ५ लाख, तालिममा ५ लाख, आकस्मिक खर्च २ लाख र केही अधुरो नाला निर्माण रहेका छन् । उपमहानगरको सबैभन्दा ठुलो वडा १६ ले मात्रै १० लाख मुनिका ३३ वटा टुक्रे योजना कार्यान्वयन गरेको छ ।
त्यसैगरी अर्को धेरै टुक्रे योजना भएको वडा नं १८ मा पनि अवस्था उस्तै छ । मठ, मन्दिर, गुम्बा, चर्च, क्लब घर,इन्धन, तिज विशेष कार्यक्रम, सिमरा गोल्डकपलाई आर्थिक सहयोग, माझी टोलको लागि टेन्ट साम्रगी खरिद लगायत रहेका छन् ।
धेरै बेथिति देखिएको वडा नं २० मा वडाधरी सरसफाइमा २ लाख ५० हजार, सिलाई तालिम ६ लाख, नव निर्मित वडा कार्यालय भवन प्रवेश कार्यक्रम ४ लाख, सांस्कृतिक कार्यक्रममा ५ लाख ५० हजार, दलित उत्थान कार्यक्रम २ लाख, विद्युतीय चुलो वितरण ८ लाख,गायत्री मन्दिरमा पूजापाठमा ५ लाख विविध खर्च २ लाख ६० हजार, इन्धन ५ लाख ५० हजार, स्वास्थ्य केन्द्रमा छेकबार लगाउने ३ लाख,२ वटा ल्यापटप खरिद २ लाख ५० हजार, गायत्री मन्दिर निर्माण ५ लाख, हनुमान मन्दिर निर्माण ५ लाख, मस्जिदमा जस्ता सेड निर्माण ३ लाख ५० हजार, कृष्ण प्रणामी मन्दिर निर्माण ५ लाख खर्च भएको छ ।
२४ वटै वडाले केही शीर्षकमा दोहोरो भुक्तानी लिएको समेत भेटिएको छ । कार्यालय सञ्चालन र इन्धन खर्च उपमहानगर र वडा दुवैबाट ठुलो रकम बुझेको पाइएको हो ।
जीतपुर सिमरा वडा नं २० का वडाध्यक्ष रसुलमियाँ अन्सारीले नगरप्रमुखले वडालाई ठुला योजना नदिने तर साना योजनालाई काम गर्दा टुक्रे योजना भनेर वडालाई बदनाम गर्न खोजेको बताए ।
‘जनतालाई कहाँ राहत हुन्छ हामीले त्यही काम गर्ने हो, नगरप्रमुखले ठुला योजना नदिने सानो काम गर्दा टुक्रे योजना भनेर आरोप लगाउन पाइन्छ’ वडाध्यक्ष अन्सारीले भने, ‘टुक्रा भनेको के हो ? जनताको अपेक्षा जे छ हामीले त्यही गर्ने हो ।’
नगरसभामा पेस गर्ने नीति तथा कार्यक्रम र बजेटको विषयमा औपचारिक छलफल नभएको वडाध्यक्ष अन्सारीको भनाई छ ।
बाराको १६ वटा पालिकामध्ये जीतपुर सिमरा मात्रै पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज औद्योगिक करिडोरसँग जोडिएको, सबैभन्दा धेरै आन्तरिक आयस्रोत भएको र अधिक राजस्व संकलन गर्ने पालिकाले चिनिन्छ ।
जीतपुर सिमराले चालु आर्थिक वर्षको ११ महिनामा २१ करोड भन्दा बढी आन्तरिक राजस्व संकलन गरिसकेको छ । यो यसअघिका नगरप्रमुख स्व. डा. कृष्ण पौडेलेको कार्यकाल भन्दा धेरै भएको राजस्व शाखाका प्रमुख रमेश सुवेदीले जनाएका छन् ।
अवरोध भए कानुनी अधिकार प्रयोगको बाटो
बिहीबार तोकिएको नगरसभामा उपप्रमुख सहितका नेपाली कांग्रेस र एमाले वडाध्यक्षहरुले बहिष्कार गरेपछि शनिवारका लागि राखिएको छ । बहुमत कार्यपालिका सदस्यले नगरसभा बहिष्कार गरेपछि अल्पमतमा रहेका नगरप्रमुख राजन पौडेल कानुनी अधिकारलाई टेकेर नगरसभा अगाडी बढाउने तयारीमा छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २१ ले स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र राजस्व र व्यायको अनुमान नगरसभामा पेस गर्नुपर्ने भनेको छ । तर, जीतपुर सिमरा उपमहानगरमा विगत वर्षहरूमा जस्तै यो वर्षपनि समयमा नगरसभा हुन नदिने देखेपछि नगरप्रमुख पौडेलले कानुनी अधिकारको प्रयोग गर्ने विकल्प सोचेका छन् ।
संविधानको धारा २३० को अनुसूची ८, स्थानीय सरकारका सञ्चालन ऐनको दफा २३ र जीतपुर सिमरा उपमहानगरको नगरसभा सञ्चालन सम्बन्धी नियमावली २०७५ अनुसार पहिलो पटक बसेको नगरसभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक सङ्ख्या मानिन्छ ।
यदि सो गणपूरक सङ्ख्या नपुगेमा ३ दिनभित्रमा दोस्रो पटक बैठक बोलाउने र त्यसवेला पनि ५० प्रतिशत नपुगे २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने कानुनी व्यवस्था छ ।
‘अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी र टुक्रे योजनाहरू पुरै नियन्त्रण गर्ने मेरो अडान हो’ नगरप्रमुख राजन पौडेलले भने, ‘अहिले समयमै बजेट ल्याउने भन्दा पनि नगरसभा रोक्ने र यसलाई बार्गेनिङ गर्ने परिपाटी बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
राजावादी आन्दोलन र माओवादी दायित्व
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने
पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान
कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
शुक्रबार तीनकुनेमा प्रहरीले कति राउन्ड चलाएको थियो गोली ?