बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपको सुपर–८ चरण

दुई पटकको च्याम्पियन इङ्ल्यान्ड र अपराजित दक्षिण अफ्रिकाबिच रोचक भिडन्त

शुक्रबार, ०७ असार २०८१, १६ : ४५
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा शुक्रबार दुई बलिया टेस्ट राष्ट्र इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ । खेल क्यारेबियन राष्ट्र सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा राति २०ः१५ बजे सुरु हुनेछ । 

यी दुबै टोली ‘सुपर–८’ चरणको ‘समूह–२’ मा छन् । उक्त समूहमा रहेका चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । पहिलो खेलमा विजयी भएका इङ्ल्यान्ड र दक्षिण अफ्रिका दुई–दुई अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

पहिलो खेलमा पराजित भएका अमेरिका र वेस्ट इन्डिज क्रमशः तेस्रो र चौथो स्थानमा आसिन छन् । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । इङ्ल्यान्डले भने आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । 

दक्षिण अफ्रिका र इङ्ल्यान्ड शुक्रबारको खेलमा एक–अर्कालाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने धुनमा रहने छन् । प्रारम्भिक चरणमा इङ्ल्यान्डको तुलनामा दक्षिण अफ्रिकाको प्रदर्शन उत्कृष्ट थियो ।

प्रारम्भिक चरणमा दक्षिण अफ्रिका समूह ‘डी’ मा थियो । आफूले खेलेको चारवटै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । यस अर्थमा, जारी विश्वकपमा दक्षिण अफ्रिका अहिलेसम्म अपराजित छ । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो । 

दक्षिण अफ्रिकाले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित हात पारेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले पराजित गरेको थियो । प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकाले नेपालमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

यसैगरी इङ्ल्यान्ड समूह ‘बी’ को उप–विजेताका रुपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । प्रारम्भिक चरणमा इङ्ल्यान्डले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । इङ्ल्यान्डको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । 

इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डको टोली अस्ट्रेलियासँग ३६ रनले पराजित भएको थियो । तेस्रो खेलमा इङ्ल्यान्डले ओमानलाई आठ विकेटले हराएको थियो । इङ्ल्यान्डले चौथो खेलमा नामिबियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४१ रनले हराएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा इङ्ल्यान्ड तेस्रो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । टी–२० विश्वकपमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । यी दुबै टोलीले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । 

इङ्ल्यान्डले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप जितेको थियो । अघिल्लो संस्करणको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । 

दक्षिण अफ्रिकाले भने हालसम्म टी–२० विश्वकपको उपाधि चुम्न सकेको छैन । दक्षिण अफ्रिका हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । दक्षिण अफ्रिका सन् २००९ र सन् २०१४ मा भने विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । 

जारी विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान फिल साल्ट हुन् । उनले चार पालीमा एक सय ४७ रन बनाइसकेका छन् । उनले एउटा अर्धशतक पनि बनाएका छन् । जोनी बेयरस्टोले पनि ९४ रन बनाएका छन् । इङ्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर भने जोफ्रा आर्चर र अदिल रसिद हुन् । उनीहरुले ६–६ विकेट लिएका छन् । 

यसैगरी जारी विश्वकपमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान क्विन्टन डी काक हुन् । उनले पाँच खेलमा कुल एक सय २२ रन बनाएका छन् । उनले एक अर्धशतक पनि प्रहार गरेका छन् । हेनरिच क्लासेनले पनि कुल एक सय आठ रन बनाएका छन् ।

दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर भने एनरिच नोर्जे हुन् । यी दायाँहाते तिब्रगतिका बलरले पाँच खेलमा १० विकेट लिइसकेका छन् । उनले एक खेलमा सात रन खर्चिएर चार विकेट लिएका थिए । कागिसो राबडाले पनि सात विकेट लिएका छन् । 

इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबिच हालसम्म कुल २५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १२ खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएको छ । १२ खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई पराजित गरेको छ । एक खेल अनिर्णित रुपमा सकिएको छ ।

यसैगरी टी–२० विश्वकपमा हालसम्म दक्षिण अफ्रिका र इङ्ल्यान्डबिच कुल ६ खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराएको छ । बाँकी दुई खेलमा भने इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप