सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
सरोकार

गीत बजाएर विद्यार्थीले नाचगान गर्दा माग्न थालियो रोयल्टी

प्याब्सनका अध्यक्ष भन्छन्– छलफल गर्दा राम्रो हुन्छ
शुक्रबार, ०७ असार २०८१, १६ : १२
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । शुक्रबार लोक रक ब्यान्ड नेपथ्यका मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जाल एक्समा लेखे, ‘हाम्रो गीतमा विद्यार्थीहरू नाचगान गर्न हामीलाई रोयल्टी तिर्नुपर्दैन ।’ 

एक म्युजिक कम्पनीले रोयल्टी तिरेर मात्र गीत प्रयोग गर्न विद्यालयसमेतलाई धमाधम पत्राचार गर्न थालेपछि गुरुङले यस्तो बताएका हुन् । 

विद्यार्थीलाई सार्वजनिक भएका गीतहरुमा नाचगान गराउँदासमेत विद्यालयहरूबाट रोयल्टी उठाउने रोयल्टी सङ्कलन समाजसँगको सहमतिअनुसार शिव म्युजिक प्रालिले चालेको कदमप्रति गुरुङले असन्तुष्टि जनाएको सहजै बुझ्न सकिन्छ ।  गुरुङ यस पोस्टले अहिले सामाजिक सञ्जालमा एउटा बहस निम्त्याएको छ । 

कतिपयले विद्यालयले किन तिर्ने भन्दै बहस गरिरहेका छन् त कतिले तिर्नुपर्छ पनि भनिरहेका छन् ।

यस विषयमा बहस भइरहँदा सङ्गीत रोयल्टी सङ्कलन समाज विद्यालयले पनि रोयल्टी तिर्नुपर्ने बताउँछ । अध्ययनका विषयवस्तु बाहेकमा प्रयोग भएका गीतसङ्गीतको रोयल्टी विद्यालयले पनि तिर्नुपर्ने धारणा समाजको छ ।

गायक अमृत गुरुङले सामाजिक सञ्जालबाट लेखेको पोस्टबाट के भन्न खोजेको आफूले बुझ्न नसकेको सङ्गीत रोयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डेले प्रतिक्रिया दिए ।  

‘नेपथ्य एउटा राष्ट्रिय–अन्तर्राष्ट्रिय फिगर भएको ब्यान्ड हो र अमृत गुरुङ त्यसका मुख्य गायक हुन् । गायक आफैँलाई यसको कपिराइटको विषयमा र रोयल्टीको विषयमा एकदमै धेरै जानकारी छ भन्ने हिसाबले हामीले बुझेका छौँ’, पाण्डेले भने ‘विश्वव्यापी रोयल्टी र कपिराइटको विषयमा उहाँले यसरी बोल्नहुन्छ भन्नेमा विश्वास र कल्पना थिएन ।’

बौद्धिक सम्पत्तिको प्रयोग भएपछि रोयल्टी तिर्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको उनको भनाइ छ । 

‘ कुनैपनि स्कुल कलेज, युनिभर्सिटीमा गीतसङ्गीत यस्तो हो, यसरी बनाउने भन्ने लगायतका विषयमा शिक्षा दिने कुरोमा हाम्रो रोयल्टीको सरोकार होइन’, पाण्डेले भने, ‘हाम्रो कुरो विद्यालय भित्र पनि भिन्न किसिमका सांस्कृतिक कार्यक्रम हुन्छन् । म्युजिक कार्यक्रम हुन्छन् । ती कार्यक्रममा गीतसङ्गीत प्रयोग हुन्छ । बौद्धिक सम्पत्तिको प्रयोग हुन्छ । त्यसरी प्रयोग गरेपछि रोयल्टी तिर्नुपर्छ भन्ने हो ।’ 

विद्यालयले कुन कुन गीत केकेमा प्रयोग हुँदै छ भन्ने डाटा समेत आफूलाई उपलब्ध गराउनुपर्ने पाण्डेको भनाइ छ । उनले भने, ‘गीतसङ्गीत प्रयोगका लागि हामीसँग अनुमति लिनुपर्छ ।’

Capture

रोयल्टीमा कसरी छिर्‍यो शिव म्युजिक ?

गत वैशाख ७ मा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालले शिव म्युजिक प्रालिलाई गीत–सङ्गीतको सार्वजनिक रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूसँग सङ्गीत रोयल्टी सङ्कलन गर्ने एजेन्सीको रूपमा नियुक्त गरेको थियो । 

स्वतः स्फूर्तरुपमा रोयल्टी सङ्कलन नभएपछि एजेन्ट नियुक्त गरेर रोयल्टी सङ्कलन सुरु गरिएको बताइएको छ । चालु आर्थिक वर्ष (२०८०–८१)मा  धेरै भन्दा धेरै रोयल्टी सङ्कलन गर्नका लागि एजेन्ट कम्पनी नै राखेर काम गरिरहेको समाजको भनाइ छ ।

समाजले रोयल्टी सङ्कलनका लागि विज्ञापन नै गरेर सार्वजनिक आह्वान गरेका थियौं । जसअनुसार ६ वटा कम्पनी तथा एजेन्सीले बोलपत्र पठाएकोमा शिव म्युजिक प्रा.लिलाई नियुक्त गरेको हो ।

‘शिव म्युजिकले देशभरिका टेलिभिजन कम्पनी, रेडियो एफएम, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, मनोरञ्जन केन्द्र, यातायातका साधन तथा अन्य गीतसङ्गीत प्रयोग हुने व्यावसायिक स्थलमा पुगेर सङ्गीत रोयल्टीको लागि पहल गर्ने छ’, पाण्डेले भने ‘रोयल्टीको पहल उसले गर्ने हो । रोयल्टी हामीलाई दिने हो ।’

 उनले मुलुकभर शिव म्युजिकका सय भन्दा बढी प्रतिनिधि मार्फत रोयल्टी सङ्कलन कार्य भइरहेको पाण्डेको भनाइ छ । ‘एजेन्ट नियुक्त गरेपछि रोयल्टी उठाउन सजिलो भएको छ,’ पाण्डेले थपे । 

सोहीअनुसार अहिले शिव म्युजिक प्रालिले देशभरिका टेलिभिजन कम्पनी, रेडियो एफएम, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, मनोरञ्जन केन्द्र, यातायातका साधन तथा अन्य गीतसंगीत प्रयोग हुने व्यावसायिक स्थललाई रोयल्टीका लागि पत्राचार गरिरहेको छ । 

सोहीअनुसार शिव म्युजिकले स्मल हेभन नामक स्कुललाई गत जेठ ३२ मा प्रेषित गरेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम गीतसङ्गीतका स्रष्टा सर्जकहरूको रोयल्टी सङ्कलन गर्न २०६४ सालमा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भई सोही कार्यालयकै मातहतमा रहेको एक मात्र संस्था हो। ऐ ऐ ऐनको नियमावली, २०६१ को नियम १० बमोजिमको संस्थालाई तोकिएको काम, कर्तव्य र अधिकार बमोजिम कार्य गर्नका लागि उक्त संस्थाले नेपालभित्रको सबै क्षेत्रका रोयल्टी संस्थाकै बैंक खातामा मात्र सङ्कलन गर्ने गरी शिव म्युजिक प्रालिलाई रोयल्टी सङ्कलक एजेन्सीका रूपमा नियुक्ति गरेको छ । गीतसङ्गीतका सिर्जना स्रष्टाको बौद्धिक सम्पत्ति भएको हुँदा सोको सार्वजनिक प्रयोग गर्नु पूर्व नै अनिवार्य रूपमा तोकिएको रोयल्टी तिरेर गीतसङ्गीतको इजाजत पत्र लिएर मात्र गीतसङ्गीतको सार्वजनिक प्रयोग गर्नुपर्ने ऐनले व्यवस्था गरेको बाध्यकारी नियम भएको हुँदा सो कार्य गर्न पूर्वअनुमति लिनुहुन निर्देशानुसार अनुरोध गर्दछौँ । अन्यथा ऐन बमोजिम दण्ड सजाय नै जाने ब्यहोरा समेत जानकारी गराउँछौँ ।’ 

448469466_1841111923037272_6776818874732623956_n

शिव म्युजिकले यही आशयको पत्र सरोकारवालालाई धमाधम काटेर रोयल्टी सङ्कलनको अभियान चलाइरहँदा यसबारे बहस सिर्जना भएको हो ।

के भन्छ प्याब्सन ?

प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना आफूहरू स्रष्टाको सम्मान गर्नुपर्छ भन्ने पक्षमा रहे पनि यसबारे पर्याप्त छलफल जरुरी रहेको बताउँछन् । 

‘विद्यालयमा विद्यार्थी नाच्दैमा रोयल्टीको कुरा गरिन्छ भने भोलि त्यसले नेपाली कला संस्कृतिलाई बढावा दिनुको साटो अरू चिज पनि होला नि’, उनले भने, ‘स्रष्टाको सम्मान गर्नुपर्छ । उहाँहरूलाई पनि बचाउनुपर्छ भन्नेमा हामी पनि छौँ । तर कसरी गर्ने भन्नेचाहिँ छलफल गर्दा राम्रो हुन्छ ।’ 

उनले यसबारे प्याब्सनसँग कुनै छलफल नभएको उल्लेख गर्दै भने, ‘विद्यालयमा रोयल्टीको कुरा आएपछि उहाँहरूको प्रचारप्रसारको कुरा पनि होला । केटाकेटीले नाचिदिएनन् गाइदिएनन् भने त उहाँहरूको व्यावसायिक सफलताको कुरा पनि आउलान् नि ।’

यसमा कानुनी पाटोबाहेक व्यवहारिकताको विषय समेत रहेको भन्दै ढुंगानाले यस विषयमा आफूहरूसँग छलफल गरेर अघि बढ्दा राम्रो हुने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप