बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकप

छनोट चरणको एउटै समूहबाट आएका फ्रान्स र नेदरल्यान्ड्स फेरि आपसमा भिड्दै

शुक्रबार, ०७ असार २०८१, १५ : ०२
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शनिबार विश्व फुटबलका दुई प्रभावशाली राष्ट्रबिच भिडन्त हुँदैछ । विश्व फुटबलमा फरक इतिहास बोकेका नेदरल्यान्ड्स र फ्रान्सबिचको खेल नेपाली समय अनुसार, शनिबार बिहान ००ः४५ बजे सुरु हुनेछ । 

त्यसअघि शुक्रबार साँझ स्लोभाकिया र युक्रेनबिच खेल हुनेछ । युक्रेन र स्लोभाकियाबिचको खेल १८ः४५ बजे सुरु हुनेछ । शुक्रबार राति पोल्यान्ड र अस्ट्रियाबिच अर्को खेल हुनेछ । अस्ट्रिया र पोल्याडबिचको खेल भने राति २१ः४५ बजे सुरु हुनेछ । 

स्लोभाकिया र युक्रेन प्रतियोगिताको समूह ‘ई’ मा छन् । रोमानिया र बेल्जियम पनि सोही समूहमा रहेका छन् । उक्त समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । रोमानिया र स्लोभाकियाले एक–एक खेल जितिसकेका छन् । 

बेल्जियम र युक्रेन भने आफ्नो पहिलो खेलमा पराजित भएका छन् । आफ्नो पहिलो खेलमा रोमानियाले युक्रेनलाई ३–० गोलले हराएको थियो । समूहको अर्को खेलमा स्लोभाकियाले बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलले हराएको थियो । 

शुक्रबार साँझ खेलिने खेलमा स्लोभाकियासँग पराजित भए युक्रेन उपाधि होडबाट बाहिरिने छ । उक्त खेलमा स्लोभाकिया भने युक्रेनलाई हराउँदै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउने धुनमा रहने छ । उक्त समूहमा आफ्नो पहिलो खेल हारेको बेल्जियम पनि दबाबमा छ । 

अस्ट्रिया र पोल्यान्ड भने प्रतियोगिताको समूह ‘डी’ मा छन् । उक्त समूहमा नेदरल्यान्ड्स र फ्रान्समा पनि रहेका छन् । चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । नेदरल्यान्ड्स र फ्रान्सले आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । 

पोल्यान्ड र अस्ट्रिया भने आफ्नो पहिलो खेलमा पराजित भएका छन् । त्यसैले शुक्रबार राति खेलिने खेल अस्ट्रिया र पोल्यान्ड दुबैका लागि निकै महत्वपूर्ण छ । उक्त खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । त्यसैले यी दुबै टोली ‘गर या मर’ को स्थितिमा छन् ।

सबैभन्दा रोचक भिडन्त भने शनिबार बिहान नेदरल्यान्ड्स र फ्रान्सबिच हुनेछ । यी दुबै टोली उक्त खेलमा जित हात पार्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउने योजनामा छन् । फ्रान्स र नेदरल्यान्ड्स दुबै युरोकपको पूर्वविजेता पनि हुन् । 

नेदरल्यान्ड्स र फ्रान्सबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म कुल ३० खेल खेलिएको छ । त्यसमध्ये १६ खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई हराएको छ । ११ खेलमा भने डच टोलीले फ्रान्सलाई पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको तीन खेल बराबरीमा सकिएको छ ।

यद्यपि, विश्व फुटबलमा अभागी टोलीको उपमा पाएको नेदरल्यान्ड्सले एकपटक मात्र युरोकपको उपाधि जित्न सकेको छ । युरोकपमा नेदरल्यान्ड्सको यो ११औँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९७६ मा पहिलो पटक युरोकप खेलेको थियो ।

युरोकपमा नेदरल्यान्ड्सको प्रदर्शन पनि सधैं अब्बल रहँदै आएको छ । तर, नेदरल्यान्ड्स ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता सधैं अन्तिम समयमा आएर चुक्ने गरेको छ । चाहे त्यो युरोकप होस् वा विश्वकप । 

युरोकपमा पनि नेदरल्यान्ड्स हालसम्म एकपटक मात्र फाइनलसम्म पुग्न सकेको छ । सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो । त्यतिबेला नेदरल्यान्ड्सले फाइनलमा तत्कालीन सोभियत संघलाई २–० गोलले हराएको थियो ।

त्योभन्दा अघि वा पछि नेदरल्यान्ड्स कहिल्यै युरोकपको फाइनलमा पुग्न सकेको छैन । विश्वकप फुटबलमा त नेदरल्यान्ड्सको अवस्था योभन्दा पनि दयनीय देखिन्छ । तीनपटक फाइनलसम्म पुगेर पनि नेदरल्यान्ड्सले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन ।

नेदरल्यान्ड्सको टोली सन् १९७४, सन् १९७८ र सन् २०१० मा विश्वकपको फाइनलमा पराजित भएको थियो । यी सब कारणले गर्दा नै नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय फुटबलमा अभागी टोलीको सँज्ञा पाएको हो । 

अर्कोतिर, अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सको उपस्थिति भने उपलब्धिपूर्ण रहँदै आएको छ । युरोकपमा ११औँ पटक सहभागिता जनाइरहेको फ्रान्सले दुईपटक उपाधि पनि चुमिसकेको छ । फ्रान्सले सन् १९८४ र सन् २००० मा युरोकपको उपाधि उचालेको थियो । 

फ्रान्सले सन् १९६० मा सम्पन्न पहिलो संस्करणदेखि नै युरोकपमा सहभागिता जनाउँदै आएको छ । यसबिचमा फ्रान्स एकपटक फाइनलमा पराजित पनि भएको छ । सन् २०१६ को युरोकपको फाइनलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले फ्रान्सलाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।

फ्रान्सले दुईपटक त विश्वकप फुटबलको उपाधि पनि चुमिसकेको छ । फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकपको उपाधि उचालेको थियो । समग्रमा फ्रान्स चार पटक विश्वकपको फाइनलमा पुगेको छ । सन् २००६ र सन् २०२२ को विश्वकपमा फ्रान्स फाइनलमा पराजित भएको थियो । 

यस पटक युरोकपमा पनि फ्रान्सलाई उपाधिको बलियो दाबेदारको रुपमा हेरिएको छ । अझ रमाइलो संयोग त के हो भने, फ्रान्स र नेदरल्यान्ड्स दुबै टोली यस पटक एउटै समूहबाट छनोट चरण पार गर्दै युरोकपमा पुगेका हुन् । 

छनोट चरणको प्रतियोगितामा फ्रान्स पहिलो र नेदरल्यान्ड्स दोस्रो भएका थिए । छनोट प्रतियोगितामा फ्रान्सले आठमध्ये सात खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । अपराजित रहेको फ्रान्सले विपक्षीको पोस्टमा २९ गोल गरेको थियो भने केवल तीन गोल खाएको थियो ।

नेदरल्यान्ड्सले भने छनोट चरणको प्रतियोगितामा आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । छनोट चरणको प्रतियोगितामा नेदरल्यान्ड्सले विपक्षीको पोस्टमा १७ गोल गरेको थियो भने सात गोल खाएको थियो । 

नेदरल्यान्ड्स र फ्रान्सबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म कुल ३० खेल खेलिएको छ । त्यसमध्ये १६ खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई हराएको छ । ११ खेलमा भने डच टोलीले फ्रान्सलाई पराजयको स्वाद चखाएको छ । यी दुई टोलीबिचको तीन खेल बराबरीमा सकिएको छ । 

यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२३ को अक्टोबर १३ तारिखमा भिडन्त भएको थियो । त्यो खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको थियो । त्यो खेलमा फ्रान्सका लागि दुबै गोल केलियन एमबाप्पेले गरेका थिए । नेदरल्यान्ड्सका लागि भने एकमात्र गोल हार्टम्यानले गरेका थिए ।

त्यसअघि सन् २०२३ कै मार्च २४ तारिखमा यी दुई टोलीबिच खेल भएको थियो । त्यो खेलमा पनि फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलको विशालअन्तरले हराएको थियो । त्यो खेलमा पनि एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र ओसवाल्ड उपामेकानोले एक–एक गोल गरेका थिए । ती दुबै खेल युरोकपको छनोट प्रतियोगिताका क्रममा खेलिएको थियो । 

जारी युरोकपमा रोनाल्ड कोएम्यान नेदरल्यान्ड्सका प्रमुख प्रशिक्षक हुन् । डच टोलीमा लिभरपुलका भर्जिल भान जिक (कप्तान), ब्राइटनका बार्ट भब्र्रुगेन (गोलरक्षक), बायर्न म्युनिखका म्याथिज डि लिट, म्यानचेस्टर सिटीका नाथन अकलगायतका खेलाडी छन् ।

यसैगरी जारी युरोकपमा डिडियर डेसच्याम्पस फ्रान्सका प्रमुख प्रशिक्षक हुन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे (कप्तान), ओसमेन डेम्बेल, ब्राइस साम्बा (गोलरक्षक), ओलिभर गिरोडलगायतका चर्चित खेलाडी सहभागी छन् । तर, अघिल्लो खेलमा नाकमा गम्भिर चोट लागेको एमबाप्पेको सहभागिता भने अनिश्चित छ । यद्यपि, उनी नियमित अभ्यासमा भने फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप