ऋषिमुनिको भूमिमा जन्मेर योग–ध्यानको महत्त्व बुझेनौँ कि !
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो । परापूर्वकालमा योगलाई आफूभित्रको शक्तिसँग जोडिने माध्यमका रूपमा लिइएको थियो । समय क्रमसँगै योगको महत्त्व परिवर्तन हुँदै आएको छ ।
आज अन्तर्राष्ट्रिय योग दिवस । सन् २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा ग¥यो र सन् २०१५ बाट योग दिवस मनाउन थालियो ।
योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये व्यायाम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य मानिएको छ । हजारौँ वर्षदेखि योग मानव जीवनको अभिन्न अंगका रूपमा रहँदै आएको छ । पछिल्लो समय योगतर्फ राज्यको समेत ध्यान खिचिएको छ । गएको चैतमा एसियाका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विराट् चक्र विज्ञानले समेत राज्यको ध्यान आकृष्ट गरेको थियो ।
पछिल्लो समय तनावका कारण मानिस डिप्रेसनको सिकार भइरहेका छन् । तनावलाई विसर्जन गर्न पनि योग अहिलेको समयमा कोसेढुङ्गा साबित भएको छ । योगको उद्देश्य नै मानवलाई तनावबाट मुक्त गराउनु हो ।
केही वर्ष अघिसम्म पश्चिमा विकसित देशमा योग–ध्यानतिर थोरै मानिसको मात्र संलग्नता थियो । जब कि आजको स्थिति विकसित देशका अधिकांश मानिसले योग–ध्यानलाई अपनाउन थालेका छन् । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइन्छ । यो सैद्धान्तिक मात्र नभई व्यावहारिक दर्शन पनि हो ।
स्वस्थ शरीर र शक्तिशाली आत्मा योगदर्शनका मुख्य विषय हुन् । शिर र गर्धनलाई सीधा राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वास–प्रश्वासको नियम पालना गर्नु र मनलाई पवित्र राख्नु वा आवश्यक कुरामा मात्रै मनलाई लगाउनु लगायत विधान योगकर्ममा पर्छन् ।
योगले शरीरलाई उपयोगी वस्तु मानेको छ । विभिन्न विद्वान्ले भनेका छन्, ‘स्वस्थ शरीरमा शुद्ध दिमाग रहन्छ र शुद्ध दिमागले मुक्ति प्राप्त गर्न सकिन्छ ।’
लिपि, भाषा बन्नुअगाडि मानिसले विभिन्न ढंगले योगको अभ्यास गर्दै आएको बुझिन्छ । अन्य प्राणीभन्दा मानिस चेतनशील प्राणी हो, मानिसले योग–साधनाको विषयमा सोध्दै गयो, खोज्दै गयो, यो सृष्टिको उत्पत्तिका बारेमा मानिसले सोच्यो । जीवन भनेको के हो ? त्यसका बारेमा सोच्यो । स्वस्थ रहन आहार, व्यायाम र आरामलाई ध्यान दियो ।
हाम्रा ऋषिमुनिले हजारौँ वर्षअगाडि ध्यान–योगका सम्बन्धमा चिन्तन–मनन गरे, साधना गरे, योगको विषयमा खोजे, अध्ययन, अनुसन्धान गरे ।
हामी गीतामा योगको वर्णन पाउँछौँ । भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिँदा योगको महत्त्वका बारेमा बताएका छन् । श्रीकृष्णले गीतामा कपिलमुनिको वर्णन गरेका छन् । त्यस्तै, विभिन्न ग्रन्थमा कपिलमुनिसहित ऋषि पतञ्जली र भगवान् गौतमबुद्धलाई योग ध्यानसँग जोडेर वर्णन गरिएको छ । शैक्षिक संस्थामा अध्यापन गराइने पाठ्यपुस्तकमा बुद्धका बारेमा उल्लेख गरिएको भए पनि नेपालमै जन्मिएका भनिएका ऋषि कपिलमुनि र पतञ्जलीको उल्लेख पाइँदैन । योग ध्यानको विषयमा उल्लेखनीय योगदान दिएका र नेपालमै जन्मिएका यी तिनै व्यक्तित्वका बारेमा केही न केही कुरा आजको दिनमा उल्लेख गर्न सान्दर्भिक छ ।
ऋषि कपिलमुनि
श्रीमद्भगवतको तेस्रो स्कन्धमा बताइए अनुसार योगी कपिलमुनि सांख्य दर्शनका प्रणेता र भगवान् विष्णुको २४ अवतारमध्ये पाँचौँ अवतार पनि मानिन्छन् । उनी कर्दम ऋषि तथा माता देवहुतीका नवौँ कन्यापछि जन्मिएका एक मात्र पुत्र थिए । उनले आमा देवहुतीलाई सांख्य शास्त्रको उपदेश दिएका थिए ।
तनावलाई विसर्जन गर्न पनि योग अहिलेको समयमा कोसेढुङ्गा साबित भएको छ । योगको उद्देश्य नै मानवलाई तनावबाट मुक्त गराउनु हो ।
गौतम बुद्ध जन्मनुभन्दा पहिला नै कपिल ऋषिको जन्म भइसकेको थियो र उहाँको नामबाटै प्राचीन सहरको नाम रहन गएको हो भन्ने भनाइ छ । कपिल ऋषिकै नामबाट राखिएको त्यो समयको सहरलाई नै अहिले हामी कपिलवस्तु जिल्ला भनेर चिन्ने गरिएको विभिन्न पुस्तकमा उल्लेख भएको पाइन्छ । कपिल ऋषिलाई आदिसिद्ध वा सिद्धेश भन्ने गरिएको पाइन्छ । आदिसिद्ध वा सिद्धेश भन्नुको अर्थ कपिल ऋषि ध्यान र तपस्याको मार्ग बताउने पहिलो व्यक्ति थिए ।
ऋषि पतञ्जली
पतञ्जली प्राचीन समयका महान् आध्यात्मिक अगुवा हुन्, जसले आध्यात्मिक बाटोमा दिशानिर्देश गर्नका लागि ‘योगसूत्र’को रचना गरे । उनले विभिन्न चरणको व्याख्या गर्दै अनन्तसम्म पुग्न हरेक व्यक्तिले अन्तर्यात्रा गर्नुपर्ने उल्लेख गरेका छन् । विद्वान्हरूले पतञ्जलीको जन्म ईसापूर्व तेस्रो शताब्दीमा भएको उल्लेख गरेका छन् । पतञ्जली नेपाल, कस्मिर, श्रीलंका र भारतका विभिन्न स्थानमा बस्ने गर्थे भनी विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ ।
पतञ्जलीका बारेमा मत्स्य, वायु र स्कन्द पुराणमा व्याख्या गरिएको छ, जसअनुसार उनी व्यास र पाणिनीका समकालीन हुन् भन्न सकिन्छ । पतञ्जलीलाई आधुनिक योगका पिता र योगसूत्रका प्रणेता मानिन्छ । प्राचीन समयमा हजारौँ वर्षसम्म योग मौखिक परम्पराबाट हस्तान्तरण हुँदै आएको भए पनि पतञ्जलीले योगलाई सूत्रबद्ध गरिदिएका छन् । महर्षि पतञ्जलीको जन्मस्थानका बारेमा विभिन्न विद्वान्ले आ–आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । केहीले पतञ्जली नेपालको अर्घाखाँचीमा जन्मिएको उल्लेख गरेका छन् । केहीले भने पतञ्जली पाल्पामा जन्मिएकै कारण पतञ्जली नाम अपभ्रंश हँुदै पाल्पा भएको उल्लेख गरेका छन् ।
गौतम बुद्ध
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्म वैशाख पूर्णिमामा लुम्बिनीमा भएको पाइन्छ । वैशाख पूर्णिमाकै दिन उनले बुद्धत्व (ज्ञान) प्राप्त गरे, यही दिनमा ज्ञान बाँडे र वैशाख पूर्णिमाकै दिन उनको मृत्यु भएको पाइन्छ ।
दरबारमा जन्मिएर सुख–सयलमा हुर्किएका सिद्धार्थ गौतमले संसार बुझ्न र ज्ञान प्राप्तिको बाटो ध्यानलाई बनाएको देखिन्छ । जन्मिनेबित्तिकै सात पाइला हिँडेका बुद्धले शान्तिको खोजीमा दरबार छाडे । आफ्नो शरीर अचेत हुन्जेल उनी ध्यानमा बसे । उनलाई अचेत अवस्थामा सुजाता नाम गरेकी महिलाले देखिन् र आफ्नो घरमा पकाइराखेको खिर लगिदिइन् । खिरलाई निचोरेर खिरबाट आएको केही दुधको थोपा खुवाएपछि बुद्ध होसमा आए । भोको पेटबाट ज्ञान प्राप्त गर्न नसकिने निष्कर्षमा उनी पुगे र त्यस ठाउँबाट अन्यत्रै गई ध्यानमा बसेको इतिहास रहेको छ ।
निकै समयको ध्यानपछि सिद्धार्थ गौतमले अन्ततः भारतको बोधगयामा ज्ञान प्राप्त गरे र बुद्ध भए । आफ्नै साथी भिक्षु देवदत्तले विष खुवाएकाले भारतको कुशीनगरमा बुद्धको देहावसान भएको पाइन्छ । विषका असरले छटपटाइरहेको अवस्थामा देवदत्तले माफी मागेका थिए, तर गौतम बुद्धले मानिसको देखिने यो शरीर भौतिक शरीर मात्र भएको र आफ्नो मुक्तिको बाटो विष भएकाले माफी माग्नुनपर्ने बरु आफ्ना उपदेश सबै मानव समुदायमा लैजान भनेका थिए ।
विभिन्न ग्रन्थका अनुसार ऋषि कपिलमुनि, ऋषि पतञ्जली र भगवान् गौतमबुद्ध नेपालमै जन्मिएका हुन् । यी तीनजनाले योग–ध्यान र व्यायाम नै मानव जीवनको सर्वोत्तम कार्यभएको पुष्टि गरेका छन् । अझ भगवान् गौतमबुद्ध जन्मिनबित्तिकै हिँडेका सात पाइलालाई मानव शरीरमा भएका सात चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा, सहस्रार)सँग तुलना गरिएको छ ।
योग–ध्यान र प्राणायाम गर्न हामी नेपालीलाई हावापानी र भौगोलिकताले साथ दिएको छ । परापूर्वकालमा नेपालको यो भूमि योग र ध्यानको भूमि रहेको केही ग्रन्थमा उल्लेख गरिएको छ ।
उत्खननबाट भेटिएका मूर्तिमा योगका आकृति पाइन्छन् । यसबाट के पुष्टि हुन्छ भने योग अहिले सुरु भएको विषय होइन, धेरै अगाडि अर्थात् ऋषिमुनिकै पालादेखि सुरुवात भएको विषय हो । पहिले ऋषि आश्रममा पढाइहुन्थ्यो, ऋषिहरूले योग–साधना, ध्यानको साधना गराउँदै पढाउँथे, ध्यानसँगै पढाउँदा आश्रममा पढ्ने चेला पनि सहज रूपमा शिक्षित हुन्थे तर अहिले अभिभावक अनि शिक्षकको मुखमा मात्र ध्यान–योग छ, व्यवहारमा पाइँदैन ।
वेदलाई हेर्ने हो भने योग र योगीका बारेमा वर्णन गरिएको छ । अनि योग र योगीहरूको उत्पत्ति नेपालमा भएको भनिएको छ । त्यसैले नै नेपाललाई तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, भनिएको हुनुपर्छ । पहिले ऋषिहरुले आहार–विहार, आराम र व्यायामको ख्याल गर्थे, अहिले सहरिया जीवनले यी सबै कुरा ओझेलमा परेरै विभिन्न नयाँ–नयाँ रोग देखापर्ने गरेका छन् ।
योग–ध्यानको महत्त्व
योग, ध्यान र प्राणायामको आफ्नै विशेषता छ । ध्यानका माध्यमबाट मस्तिष्कलाई शान्त र आफूलाई सहज बनाउन सकिन्छ । मानिस कहिल्यै जेसुकैबाट तृप्त हँुदैन, ऊ जहिल्यै इष्र्यालु हुन्छ, अहंकारी हुन्छ, अहंकार बढ्दै गरेपछि विकृत हुन्छ र विक्षिप्त अवस्थामा पुग्छ । विक्षिप्त अवस्थाबाट मानिसलाई बाहिर आउन असहज हुन्छ र मानसिक सन्तुलन गुमाउन पुग्छ । यी समस्याबाट मुक्त गर्ने एक मात्र विषय योग ध्यानै हो ।
अहिले हरेक नागरिकलाई केही न केही शारीरिक वा मानसिक समस्याले सताइरहेको छ । सुगर, प्रेसर, थाइराइड, डिप्रेसन लगायत समस्याका कारण मानिसहरु स्वास्थ्य संस्थामा धाइरहेका छन् । मानव शरीरमा हुने समस्यालाई घटाउन आहार, व्यायाम, आराम, सहर सफाइ आदिमा ध्यान दिन जरुरी छ ।
विद्यालयगत पाठ्यपुस्तकमा केही योगाभ्यासका कुरा गरिए पनि त्यसलाई व्यावहारिक बनाइएको कमै पाइन्छ । रटानी शिक्षालाई विद्यालयका शिक्षकले प्राथमिकता दिएका छन् । यद्यपि केही ठाउँमा भने विद्यालय शिक्षामा योग–ध्यान लिएर स्थानीय सरकार लागेको पाइएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाले प्रत्येक विद्यालयमा कम्तीमा एक शिक्षकलाई योग–ध्यानको प्रशिक्षक बनाएका छन् । तर एकजना मेयर र कार्यकारी प्रमुख मात्र सकारात्मक भएर उपलब्धि नहुन सक्छ । यस कार्यमा प्रत्येक स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सकारात्मक रूपमा लाग्नुपर्छ । यस आर्थिक वर्षमा सङ्घीय सरकारले योग–ध्यानको विषयमा केही चासो राखेको देखिन्छ ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रत्येक नागरिकलाई योग–ध्यानका बारेमा सचेत बनाउन आवश्यक छ । यसका लागि तीनै तहको सरकार, योग ध्यानसँग सम्बन्धित सङ्घ–संस्था र सचेत नागरिकले पहल गर्नुपर्छ ।
(नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष निरौला योग प्रशिक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल