जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

जुम्ला । खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो । तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए ।
“पानी परेको छैन, खेतबारी सुक्खा छन् । सिँचाइको कुनै सुविधा छैन । यसपाली असार लागे पनि खेतीपातीको काम भएको छैन । गाउँमा खाद्यन्न सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ”, उनले भने । उनका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उनले बताए ।
विषेशगरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताए । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लामा हालसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । यहाँका किसानको आम्दानीको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ खेतीको बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको जनाइएको छ ।
पानी अभावले रोपाइँमा समस्या
असार धान रोप्ने महिना हो । विगतका वर्षमा जेठको अन्तिमसम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यसवर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैनन् ।
पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका–४ का स्थानीय माया रोकायाले जानकारी दिइन् । सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप