बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

योगमय देश बनाउन जाग्यो सरकार

शुक्रबार, ०७ असार २०८१, ११ : २०
शुक्रबार, ०७ असार २०८१

नेपाल परापूर्व कालदेखि ऋषिमुनिले योग–साधना गरेको स्थल हो भन्ने विश्वसामु छर्लङ्ग छ । बिचको समयमा योग–ध्यानको अभ्यासको गति शिथिल वा नगण्य भयो भनिन्छ । बितेका १५–२० वर्षयता भने देशमा ध्यान–साधनाका केन्द्र प्रशस्तै खुलेका छन् । 

काठमाडौँ विश्वविद्यालयले २०७८ सालदेखि स्नातक तहमा योग विषयको अध्यापन सुरुगर्‍यो । त्यसपछि  त्रिभुवन विश्वविद्यालयले २०७९ सालदेखि स्नातकोत्तर तहको अध्यापनमा योगध्यान विषयलाई समेटेको छ । काठमाडौँ महानगरपालिकाले माध्यमिक तहका सामुुदायिक विद्यालयमा शुक्रबारलाई किताब मुक्त दिन (बुक फ्री डे) भनेको छ । उक्त दिन विद्यार्थीको रुचि अनुसार विभिन्न सीपमूलक तालिमका साथै योग कक्षा समेत सञ्चालन गरिन्छ । 

१३ वर्षअगाडि स्थापना भएको ‘जीवन विज्ञान प्रतिष्ठान’ले देशभर योग ध्यानको तरङ्ग ल्याउन २०८० चैत १७ देखि २३ गतेसम्म लुम्बिनीमा ‘विराट्चक्र विज्ञान कार्यक्रम’ आयोजना गरेको थियो । जसमा ६ हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

यो कार्यक्रमको समापनका अवसरमा अर्थात् जेठ २४ गते नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री; प्रदेशका मन्त्री र अन्य उच्च पदाधिकारी उपस्थित भएका थिए र कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गरिएको थियो । 
योग र ध्यान सिकाउन आ–आफ्नै तरिकाले वा व्यक्तिगत चासोले प्रतिष्ठान र केन्द्रहरू खुलेका छन् । यद्यपि देशभर बृहत्तर रूपमा योग शिक्षा पु¥याउन राज्यले नै पहल गर्नुपर्छ । यही अवधारणालाई कार्य रूपमा परिणत गर्न जीवन विज्ञान प्रतिष्ठानको अगुवाइमा जेठ २४ गते पाँचबुँदे लुम्बिनी सङ्कल्प–पत्र जारी भएको थियो ।

बजेट वक्तव्यमा भनिएको छ, ‘नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा स्वच्छ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरिदका लागि बजेट व्यवस्था गरेको छु ।’


उक्त सङ्कल्प–पत्रमा ‘सार्वजनिक प्रशासन, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग–ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान् समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीय स्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चालन गरिनेछ । योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योग–ध्यान पर्यटन प्रवर्धन गरिनेछ’  भनी उल्लेख थियो ।

यस सङ्कल्प–पत्र जारी कार्यक्रममा सम्माननीय प्रधानमन्त्री लगायत उच्च पदस्थ महानुभाव र  विराट्चक्र विज्ञान कार्यक्रमका सहभागीको उपस्थिति रहेको थियो । यस सङ्कल्प–पत्रमा उल्लिखित बुँदाहरू २०८१÷०८२ को नीति तथा कार्यक्रममा परेको छ । 

यसैगरी यही नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आव २०८१/०८२ को बजेट वक्तव्यमा भनिएको छ, ‘नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तार तथा स्वच्छ र सन्तुलित आहारमा जोड दिई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरिदका लागि बजेट व्यवस्था गरेको छु ।’ 

सरकारले नै ध्यान–योगका लागि बजेट कार्यक्रम ल्याउनु आफैँमा सकारात्मक छ । अब स्थानीय सरकारले ध्यान–योगका कार्यक्रमलाई आफ्ना वार्षिक कार्यक्रममा समावेश गर्दै आज आवश्यक छ । यसो भयो भने आगामी १० वर्षमा नेपाल योगमय बन्ने कुरामा दुईमत छैन । 

योग र ध्यान जति आवश्यक भए पनि बिनापूर्वाधार भौतिक रूपमा एकैपटक देशभर लागु गर्न सजिलो छैन । यसका लागि सबैभन्दा पहिला उमेर, सिकाइको सम्भावना र क्षमतालाई हेरेर विद्यालयका पाठ्यक्रममा योगको विषय समावेश हुनुपर्छ । 

पाठ्यक्रममै योग–ध्यान नसमेटिएसम्म माध्यमिक स्कुलका विद्यार्थीलाई नवप्रतिभा विज्ञान कार्यक्रम गर्न सकिन्छ र गरिँदै पनि आएको छ । यसलाई व्यापक बनाउन जरुरी छ । योग ध्यानलाई जन–जनमा पु¥याउन योग ध्यानको प्रशिक्षण दिने विभिन्न संस्थाले समन्वयात्मक ढंगले सहकार्य गर्नुपर्ने हुन्छ । 

देशमा नयाँ शिक्षा लागु भएका बेला त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीलाई हरेक माध्यमिक विद्यालयमा खटाइएको थियो । त्यसरी नै हाल योग सिकाउने संस्था सबैले आफ्ना शिक्षक, प्रशिक्षकलाई स्थानीयस्तरमा खटाउनुपर्ने देखिन्छ । केन्द्रीय स्तरमा समन्वयात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्री कार्यालय वा शिक्षा मन्त्रालयले अगुवाइ गर्नुपर्ने हुन्छ । 

कम्तीमा दिनको एक घन्टा योगाभ्यास, प्राणायाम र ध्यान गर्दा शरीर, मन, भावना र चेतना स्वस्थ बन्छ भन्ने सबैले थाहा पाउनुपर्‍यो । अनि प्रयोग गर्ने अवसर पाउनुपर्‍यो । एउटा सामान्य मोबाइललाई त चार्ज गर्नुपर्छ भने हामी मानिसलाई पूर्ण स्वस्थ बनाउन रिचार्ज गर्नैपर्ने हुन्छ भन्ने कुरा बुझ्नुपर्‍यो । चार्ज केवल  शरीरको मात्र गरेर हुँदैन । खानु, पिउनु, निदाउनुजस्ता आवश्यकता सामान्य भए ।  

हाम्रो मन, भावना र चेतनाको चार्ज योग साधनाका माध्यमबाट मात्र हुन्छ । योगका आसन र व्यायामले ऊर्जालाई जगाउँछ । प्राणायामले ऊर्जालाई सकारात्मक बनाउँछ र ध्यानले ऊर्जालाई स्थिर बनाउँछ भन्ने स्पष्ट ज्ञान चाहिएको छ । केही समय प्रयोगात्मक अभ्यास गर्दै गएपछि आफूमा आएको सकारात्मक परिवर्तनको अनुभूति हुँदै जान्छ । योगका क्रिया गर्दै गएपछि व्यक्तिको स्वतः आदत बन्दै जान्छ । 

जुनसुकै ज्ञान र सीप पनि पाको उमेरका व्यक्तिले भन्दा कम र युवा उमेरका मानिसले छिटो सिक्छन् । बाल मस्तिष्कमा धेरै तनाव र मैला जमिसकेको हुँदैन, त्यसैले उनीहरूलाई नैतिक शिक्षा र योगका सामान्य कुरा सिकाउन सहज हुन्छ । उनीहरुले भौतिक विज्ञान र आध्यात्मिक विज्ञानको मेल व्यावहारिक रूपले बुझ्दै जान्छन् । माध्यमिक तहको अध्ययन पूरा गर्दा नै विद्यार्थी नैतिकवान्, ऊर्जावान्, सकारात्मक र आत्मविश्वासी बन्दै जान्छन् । 

यसैगरी उच्च शिक्षा अध्ययनका लागि आफ्नो रोजाइलाई चिन्न सक्छन् । जुन विषय अध्ययन गरे पनि आफ्नो प्रतिभालाई उजागर गर्ने पथमा कदम  बढाउँदै ध्यानलाई निरन्तरता दिइरहन सक्छन् । सबै तहका विद्यार्थीमा  सैद्घान्तिक र व्यावहारिक ज्ञानका साथै सहनशीलता, समझदारी, समभावको विकास हुँदै जान्छ । पछि जुनसुकै पेसा वा व्यवसायमा गए पनि उनीहरुमा सेवाभावको विकास हुने कुरामा विश्वस्त हुन सकिन्छ । हामीलाई र विश्वलाई अब चाहिएको त्यस्तै गुणयुक्त जनशक्ति हो । 

वास्तवमा मान्छेलाई मरिन्छ भन्ने थाहा छ तर नमर्ने प्रयास गर्छ, रोग हटाउने प्रयास गर्छ । उपचारात्मक पद्घतिबाट उपचार गर्न अस्पताल धाउँछ । त्यति हुँदा पनि स्वस्थ रहन प्रतिरक्षात्मक प्रणाली र शान्त बन्ने प्रयासको भने ख्यालै गर्दैन । रोग नलाग्ने प्रयास गर्नुभन्दा स्वस्थ रहनेमा सजग भए कति राम्रो हुन्थ्यो ? यसका लागि स्वस्थ आहारविहारप्रति सजग र नित्य योगाभ्यास जरुरी छ । 

अहिले विश्व भौतिक विकासको चरम बिन्दुतिर लम्कदै छ । भौतिक उन्नतिले मात्र शान्ति दिँदैन भन्ने विश्व समुदायले बुझिसकेको छ । अब सबैको आकर्षण योग–ध्यान र आध्यात्मिक ज्ञानतिर बढ्दै गएको छ । अन्य देशले अब योग सिकाउने मान्छे नेपालबाट मगाउने समय आउन धेरै टाढा छैन । यस्तै नेपालमा योग–ध्यान सिक्न आउने पर्यटकका लागि न कहिल्यै मौसमी अड्चन, न विधिको अभाव । प्राकृतिक छटाले भरिपूर्ण हाम्रो देश नेपालमा योग पर्यटकको आगमनलाई जतिबेला पनि खुला राख्न सकिन्छ ।  

हाम्रो परिवार, समाज, देश र पूरा विश्वलाई अराजक होइन सहनशील, अल्छी होइन ऊर्जावान्, कठोर होइन दयालु, नैतिकवान् र विश्व भ्रातृत्वको भावना भएको विश्व मानव चाहिएको छ । 

त्यसैले योग ध्यानका कार्यक्रममा सहभागी भएर शिक्षक तथा प्रशिक्षक बनौँ । समाजमा सेवा गर्ने अवसरको उपयोग गरौँ । आफू स्वस्थ बनौँ । अरूलाई पनि स्वस्थ बनाउने अभियानको माध्यम बनौँ । सरकारले ल्याएको जीवन उपयोगी यस्ता कार्यक्रममा होस्टेमा हैँसे मिलाऊँ । योगी नेपाली, योगमय नेपालको परिचय दिऊँ । 
(लेखक पण्डित जीवन विज्ञान संस्थाकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप