बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

टी–२० विश्वकप : अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो

शुक्रबार, ०७ असार २०८१, १० : २६
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको छ । ‘सुपर–८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित हो ।

‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन् । पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो । जितसँगै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे ।

अनुभवी ब्याट्सम्यान वार्नरले केवल ३५ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि प्रहार गरे । अर्का ओपनर ट्राभिस हेडले पनि टोलीको खातामा ३१ रन थपे । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।

ओपनरद्वय वार्नर र हेडले ६५ रनको साझेदारी गरेका थिए । कप्तान मिचेल मार्स भने एक रनमै पेभेलियन फर्किएका थिए । ग्लेन म्याक्सवेलले पनि टोलीका लागि अविजित १४ रनको योगदान गरे । उनले केवल ६ बलमा एक छक्का र एक चौका पनि हिर्काए । बंगलादेशी बलर रिसाद होसैनलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४१ रन बनाएका थिए । उनले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका पनि प्रहार गरे । तौहिद हृदोयले पनि ४० रन बनाए । उनले केवल २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान लिटन दासले १६ र तास्किन अहमदले अविजित १३ रन बटुले । बङ्गलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्गलादेशले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो ।

अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २९ रन खर्चिएका थिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप