सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
स्थानीय सरकार

बजेटको चटारोमा स्थानीय तह : निमित्तको भरमा चलेका २३८ पालिकामा कस्तो असर ?

शुक्रबार, ०७ असार २०८१, ०९ : ४१
शुक्रबार, ०७ असार २०८१

काठमाडाैँ । सङ्घ र प्रदेश तहले आगामी आर्थिक वर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरिसकेपछि स्थानीय तहहरू नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन् ।

संवैधानिक व्यवस्था अनुसार असार १० गतेसम्म स्थानीय तहले बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ । स्थानीय तहमा बजेट ल्याउनुपर्ने र आर्थिक वर्षको भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले मितव्ययी रूपमा आर्थिक दायित्वको भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतमा रहन्छ ।

तर, देशका २३८ स्थानीय पालिकामा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन्, ती पालिकाहरू निमित्तको भरमा चलिरहेका छन् ।

कुन पालिकामा कति रिक्त ?

देशका ७५३ पालिकामध्ये ५१५ मा पदपूर्ति भएको छ भने २३८ पालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त छ । ११ वटा उपमहानगरपालिका मध्ये १० वटामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज गरिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाबाहेक अन्यमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

२७६ नगरपालिकामध्ये ११६ नगरपालिकामा पनि दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत छैनन् । १६० नगरपालिकामा मात्र दरबन्दी अनुसारको पदपूर्ति भएको अवस्था  छ । गाउँपालिकातर्फ ११२ वटा पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । ४६० गाउँपालिकामध्ये ३४८ गाउँपालिकामा मात्र दरबन्दी अनुसारको पदपूर्ति रहेको छ ।

यसरी दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा पालिकामा बजेट निर्माणदेखि असार मसान्तमा हुने भुक्तानीमा समेत असर पर्ने हुन्छ । महानगर र उपमहानगरमा सहसचिव तहका कर्मचारी, नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत पदमा खटाउने व्यवस्था  छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख एवं सहसचिव डा.नारायण प्रसाद रेग्मीले जनप्रतिनिधि र निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीले काम गर्दा खासै समस्या नहुने बताए । बजेट निर्माणमा कर्मचारी भन्दा पनि जनप्रतिनिधिको भूमिका धेरै हुने उनको भनाई छ ।

स्थानीय तहले बजेट ल्याउँदा प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सभामा सचिवको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय कार्यपालिकाले आफूले प्राप्त अधिकार मध्ये केही अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेको हुन्छ  । सो ऐनको दफा २८ मा प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकारको विषय राखिएको छ ।

जसमा सभा र कार्यपालिकाको सचिवको रूपमा काम गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने, अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने, गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने लगायतका जिम्मेवारी छन् । दरबन्दी रिक्त रहेका पालिकामा बजेट ल्याउने समयमा गर्नुपर्ने तयारी लगायतका कामकारबाही प्रभावित हुने अवस्था रहेको छ ।

निमित्त हुँदा धेरै समस्या पर्दैन : मन्त्रालय

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख एवं सहसचिव डा.नारायण प्रसाद रेग्मीले जनप्रतिनिधि र निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीले काम गर्दा खासै समस्या नहुने बताए । बजेट निर्माणमा कर्मचारी भन्दा पनि जनप्रतिनिधिको भूमिका धेरै हुने उनको भनाई छ ।

डा.रेग्मीले भने,‘हामीले दरबन्दी अनुसारकै कर्मचारी पठाउन खोजेको हो, तर कतिपय अवस्थामा नियमित पदपूर्ति हुनका लागि १ वर्ष समय लाग्ने हुन्छ । कोही साधारण बिदामा बस्ने, कोही बिरामी बिदामा बस्ने अवस्था छ, अर्कोतिर केही विवाद भएको कारणले पनि प्रमुख प्रशासकीय अधिकृत खाली भएको हो ।’ उनले खाली भएका ठाउँमा स्वाभाविक रूपमा काममा प्रभाव पर्ने बताए ।

‘बजेट निर्माण कर्मचारी भन्दा पनि अध्यक्ष वा प्रमुख लगायत जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता र चाहना अनुसार हुने भएकोले त्यति असर नपर्ला तर अरू दैनिक काम कारबाहीमा केही प्रभाव पर्ने हुन्छ’, उनको भनाइ छ ।

के भन्छन् पालिका प्रमुख ?

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकामा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या परेको सो नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।

नगरपालिकाका योजना कार्यान्वयन गर्न, विकासका काम अघि बढाउन, प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउँनका लागि उपसचिव तहको कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावकारी ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा हाम्रो नगरपालिकामा विकासे योजना समयमा सम्पन्न गर्न समस्या भएको छ । तोकिएको समयमा काम नहुने, काम लिएर आएका जनताका काम गर्न समस्या भइरहेको छ’, उनले भने, ‘सबै काम जनप्रतिनिधिले मात्र गर्ने भन्ने हुँदैन । सरकारले दरबन्दी अनुसारको कर्मचारी नपठाउँदा दैनिक प्रशासनिक कामदेखि नगरपालिकाले गर्ने विकासका काम सम्पन्न गर्न समस्या उत्पन्न भइरहेको छ ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यसबारे जानकारी गराउँदा पनि दरबन्दी अनुसारको कर्मचारी नपठाएको नगर प्रमुख माझीको गुनासो छ । उनले नगरपालिकामा प्रमुख लेखा अधिकृत समेत नहुँदा काम गर्न समस्या परिरहेको उल्लेख गरे ।

यता केही नगरपालिकाका प्रमुखहरू भने दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत नभए पनि निमित्तले पनि राम्रोसँग काम गरिरहेको बताउँछन् ।

निमित्तको रूपमा काम गर्ने कर्मचारी पनि प्रशासनिक काम कारबाही बुझेको हुनाले खासै समस्या नभएको उनीहरुले अनुभव छ । दैलेखको दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले आफ्नो नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत स्थानीय भएकोले काम गर्न सहज भएको सुनाउँछन् ।

दुल्लु नगरपालिकामा तिलक वि.क. निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा छन् । आफ्नो नगरपालिकामा ४० प्रतिशत दलित समुदाय रहेकोले समावेशिताको हिसाबले पनि उनी उपयुक्त कर्मचारी र निमित्त नै भएपनि फरक नपरेको रिजालको भनाइ छ । उनले कर्मचारी र जनप्रतिनिधि मिलेर काम गरिरहेको बताए ।

यता तेह्रथुमको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले निमित्त भएपनि नगरपालिकाको काम कारबाही चलिरहेको बताए ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले विगतमा पनि निमित्त भएर काम गरेको र अनुभवी कर्मचारी भएकोले दरबन्दी अनुसारको कर्मचारी नभए पनि नगरपालिकाको काम कारबाहीमा समस्या नभएको उल्लेख गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप