आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

बुमराह र सूर्यकुमार चम्किँदा भारतको अपराजित यात्रा जारी

बिहीबार, ०६ असार २०८१, २३ : ५४
बिहीबार, ०६ असार २०८१

ब्रिजटाउन । जसप्रित बुमराहको घातक बलिङ र सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सक्यो ।

योसँगै भारतले प्रतियोगितामा अपराजित यात्रा जारी राखेको छ । टी–२० मा भारतले अफगानिस्तानविरुद्धको शतप्रतिशत रेकर्ड पनि कायम राख्न सफल भएको छ ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । २० बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

383385

नजिबुल्लाह जादरानले १७ बलमा १९ रन जोडे भने गुलबदिन नाइबले २१ बलमा १७ रन बनाए । मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । उनले ४ ओभरमा ३६ रन खर्चिए । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए । 

त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने  पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।

सूर्यकुमार यादवले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । 

यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए । 

hardik pandya

अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे ।

rasid

अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए । फारुकीले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए । उनी यो विश्वकपमा सर्वाधिक विकेट खेलाडी पनि हुन् । कप्तान खानले ४ ओभरमा २६ रनमात्र दिएका थिए ।

टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को यो पहिलो खेल थियो । यो समूहमा अस्ट्रेलिया र बंगलादेश पनि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप