१० बजे, १० समाचार
आज मिति २०८१ साल असार महिनाको ६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. अदालतमा देवकोटा
गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै बिहीबार उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन् ।
२. बढुवामा कडा व्यवस्था
नेपाल प्रहरीमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै स्टाफ कलेज लागु हुने भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कलेज संचालन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन लिइसकेको छ ।
यससँगै मास्टर इन पुलिस साइन्स (एमपीएस) कोर्सका रूपमा स्टाफ कलेज लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआईजी) सुदिप गिरीले रातोपाटीलाई जानकारी दिए ।
३. संसदमा मन्त्रालयगत छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने बताएकी छिन् ।
बिहीबार विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न निर्देशिका जारी भइसकेको बताइन् ।
संसदका थप समाचार
४. संसदमा प्रश्नोत्तर
प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा १० सांसदका २१ प्रश्नको जवाफ दिएका छन् । सांसदहरुले सोधेका समसामयिक विषयमा प्रधानमन्त्रीले क्रमैसँग जवाफ पेश गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
यसैगरी प्रधानमन्त्रीले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताए ।
५. आगामी एसईई
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
६. प्रदेश समाचार
चरम गुटमा धकेलिएको नेकपा एमाले गण्डकीको राजनीतिमा पछिल्लो एक घटनाले तरंग मच्चिएको छ । एमाले गण्डकी संसदीय दलले सांसद गणेशमान गुरुङलाई स्पष्टीकरण सोधेको प्रशंगले पार्टीभित्र गुटगत आरोप प्रत्यारोप हुन थालेको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटको हिसाब नमिलेपछि प्रतिपक्षी दलले संसद् बैठक अवरुद्ध गरेको छ । सरकारले ल्याएको बजेटको हिसाब नमिलेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक रोेकेको हो ।
माओवादी केन्द्र सुदूरपश्चिमका नेताहरू काठमाडौँ केन्द्रित छन् । पार्टीभित्रको जिम्मेवारी सम्बन्धी विवाद झन्–झन् बढ्दै गएपछि नेताहरू काठमाडौँ केन्द्रित बनेका हुन् ।
जीतपुर सिमरा उपमहानगरपालिकामा तटबन्ध निर्माण योजनामा अनियमितता भएको सरोकारवालाले बताएका छन् ।
जीतपुर सिमरा–४ स्थित सङ्घीय र मधेस प्रदेश सरकारको खोला तटबन्ध शीर्षकको योजनामा कुलो सफाइ गरेर भुक्तानी लिएको सरोकारवालाहरूले बताएका हुन् ।
कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो ।
बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरू बिच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।
७. सेयर बजार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट आएको हो ।
८. कोकिन बरामद
लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।
९. क्रिकेट टोली स्वदेश फिर्ता
टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।
एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।
१०. सीमा विवाद
नेपाल–चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक बस्ने भएको छ । त्यसको लागि बुधबारदेखि संयुक्त विज्ञ समूहको बैठक चीनमा जारी छ ।
उक्त समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक असार ११ गते नेपालमा बस्ने भएको हो ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
-
जनमतका नेताहरू जसपामा प्रवेश
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
-
एमाले जग्गा विवाद : आज पनि हेर्न नभ्याइनेमा
-
काठमाडौँ–१६ का उम्मेदवार घरदैलो अभियानलाई तीव्रता दिँदै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !