बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमतीको बजेटमा अर्थ मन्त्रीको हाबी भएको आरोप, संसद् बैठक अवरुद्ध

सत्तापक्षकै सांसद असन्तुष्ट
बिहीबार, ०६ असार २०८१, २० : ३५
बिहीबार, ०६ असार २०८१

हेटौंडा । बागमती प्रदेशको बजेटमा आर्थिक मामिला तथा योजना मन्त्री हाबी भएको भन्दै प्रदेशसभा बैठकमा विरोध भएको छ । बिहीबार बसेको बैठकमा प्रतिपक्ष दलहरूले विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध जनाउँदै संसद् अवरुद्ध पारेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ भएको र बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न अर्थ मन्त्री जगन्नाथ थपलियालाई समय दिएलगत्तै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।

उनीहरुले बजेटमा अर्थ मन्त्री हाबी भएको भन्दै बजेट पुनः लेखन माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरुले बजेट पुनः लेखनको माग राखेका हुन् । 

बैठकमा विशेष समय माग गरेर बोल्दै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बजेट पुनः लेखन नभएसम्म प्रदेश सभामा बजेटमाथिको छलफल अगाडि नबढ्ने चेतावनी समेत दिए ।

उनले बोले लगत्तै कांग्रेस र राप्रपाका सांसदहरूले बेन्चबाट उठेर सदनमा विरोध जनाएका थिए । सभामुख पाठकले सदन सञ्चालन गर्न पटकपटक रुलिङ गरेपनि कांग्रेस र राप्रपाका सांसदहरूले सदनमा नाराबाजी गरेका थिए । प्रतिपक्ष दलका सांसदहरूको विरोध नरोकिएपछि अन्ततः दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक सूचना टाँस गरी शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

के हो प्रतिपक्षको माग ?

उनीहरुले आर्थिक रूपमा तालमेल नमिलेको, आफूहरूलाई उपलब्ध गराएको बजेट पुस्तिका गलत भएको, अर्थ विविध शीर्षकको बजेट लुकाइएको आरोप लगाएका छन् । सांसदहरूले बजेट वक्तव्य र कार्यक्रम किताबमा बजेटको आकार फरक परेको, नियमन गर्ने अर्थ मन्त्रालयमा विकासे मन्त्रालयको रूपमा बजेट राखेको बताएका थिए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नरहेको बताए । सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको बजेट राखेको, बजेटमा आर्थिक अराजकता देखिएको, वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएर झुक्क्याउने काम गरेको उनले बताए । सरकारले आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गरेर बजेटमा आय र व्ययको हिसाब फरक गरेको उनको भनाई छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बजेट पुस्तिका र बजेटको पाण्डुलिपि नै फरक भएको बताए । उनले विपद् व्यवस्थापनको बजेट पुँजीगत खर्च शीर्षकमा राख्ने काम गरेको बताए । आयव्यय र खर्च शीर्षक नै निर्क्योल गर्न सरकार असक्षम भएको उनको भनाई छ । बजेट कार्यक्रममा शीर्षकहरू दोहोरोपन देखिएको र सांसदहरूलाई उपलब्ध गराएको सिलिङ अनुसारको कार्यक्रम प्राप्त हुन नसकेको उनले बताए । उक्त विषयहरू बजेटमा समावेश नभएसम्म संसद् बैठक चल्न नसक्ने नेता थापाले बताए ।

सत्तापक्षको असन्तुष्टि

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दल एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदहरूले बजेटमा त्रुटि भएको स्वीकार गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले बजेटका त्रुटि सच्याउन माग गरेका छन् । उनले बजेटले आम नागरिकको मागलाई सम्बोधन गर्न नसकेको र बजेट सिस्टम नै फेल गर्ने गरी कार्यक्रमहरु समावेश भएको बताए ।

उनले सांसदहरूले उठान गरेको विषयलाई बजेटमा समेट्न नसकेको र अर्थ मन्त्रीले आफू अनुकूल बजेट चलाएको बताए । बजेट निर्माणको चरणमा प्रदेशसभाका दलहरूबिच भएको सहमतिलाई समेत अर्थ मन्त्रीले सम्बोधन गर्न नसकेको उनको भनाई छ ।

माओवादी केन्द्रका सांसदले बजेटले प्रदेशको समृद्धिको विषयहरू छुटेको र थुप्रै त्रुटिहरू रहेकाले त्यसलाई समेट्न जरुरी रहेको बताए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले बजेट त्रुटिपूर्ण रहेकाले हुबहु स्वीकार गर्न सक्ने अवस्था नरहेको बताए ।

बजेटमा भएका त्रुटिलाई सच्याएर नयाँ बजेट पुस्तिका छपाई गरेर ल्याउनु पर्ने उनले बताए । बजेटमा प्रदेशका महत्त्वपूर्ण विषयहरू छुटेकाले त्यसलाई समेट्नुपर्ने उनको भनाई छ । बजेट निर्माणको क्रममा भएका छलफल र सहमति भएको विषयहरू पनि छुटेको उनले बताए ।

प्रदेश सरकारले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएको थियो । सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप