रातोपाटी ‘प्लसटु कन्क्लेभ’ शनिबार
काठमाडौँ । रातोपाटीले ‘प्लस टु कन्क्लेभ’ आयोजना गर्ने भएको छ । यही असार ८ गते शनिबार कुपण्डोलस्थित हिमालय होटलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर प्लस टु पढ्ने तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कन्क्लेभ गर्न लागिएको हो ।
डिस्कवरी न्युज नेटवर्कद्धारा सञ्चालित रातोपाटीले शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई एउटै मञ्चमा राखेर माध्यमिक तहबारे दुई वटा शीर्षकमा बहस गर्न लागेको हो ।
पहिलो सत्रमा ‘ह्वाट नेक्स्ट आफ्टर एसईई’ (एसइईपछि के ?) शीर्षकमा छलफल हुनेछ । यो सत्रको नारा ‘अबको शैक्षिक बाटो: सुहाउँदो समाज र माटो’ रहेको छ । शिक्षाविद् डाक्टर गणेश बहादुर सिंह, विश्व निकेतन स्कुलका प्रिन्सिपल हेरम्बराज कँडेल, शिक्षाविद् डाक्टर कल्पना ज्ञवाली र सूचना प्रविधि विज्ञ इन्द्र पीसी प्यानलिष्टको रूपमा रहनेछन् । यो सेसनको सञ्चालन शिक्षा पत्रकार रविचन्द्र पराजुलीले गर्नेछन् ।
दोस्रो सत्रमा ‘उच्च शिक्षा (माध्यमिक तह) को सपना’ अर्थात् ‘प्लसटुको उपलब्धि : दक्ष र सक्षम जनशक्ति’ विषयमा बहस हुनेछ । जसको प्यानलिष्टमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्ले, हिसान अध्यक्ष रमेश सिलवाल र शिक्षाविद् प्राडा विद्यानाथ कोइराला रहनेछन् । सेसन सञ्चालन रातोपाटीका शिक्षा पत्रकार कृष्णसिंह धामीले गर्नेछन् ।
डिस्कवरी न्युज नेटवर्कका प्रबन्ध निर्देशक अर्जुन पन्तले रातोपाटीले शिक्षा क्षेत्रलाई महत्त्व दिएर कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिए । उच्च शिक्षाका लागि विद्यार्थीहरू बाहिरिने क्रम बढिरहेको सन्दर्भमा नेपालभित्रै पनि विभिन्न अवसर रहेको तथ्य स्थापित गर्न यो कार्यक्रम सहयोगी हुने उनको विश्वास छ ।
कार्यक्रममा नेपालमा एसईईपछि प्लसटु मा के कस्ता विषयहरू पढ्ने ? राज्यका नीति र गतिविधि के कस्ता छन् ? प्लस टु अध्ययन गर्दागर्दै र सकेपछि विदेश पलायन हुनबाट युवाहरूलाई कसरी रोक्न सकिन्छ भन्नेबारे गहन छलफल हुने पन्तले बताए ।
कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाहरु र एसईई परीक्षाको रिजल्टको प्रतीक्षा गरिरहेका विद्यार्थी समेत गरी २०० जना भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता