जर्मन राष्ट्रपतिको प्रशंसाबाट फुरुङ राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल विदेश भ्रमणबाट फर्केको अर्को दिन बिहीबार राष्ट्रपति कार्यालयले भ्रमणको समीक्षा गरेको छ । शीतल निवासले भ्रमणबारे गरेको समीक्षाको सार पौडेलका सञ्चार विज्ञ किरण पोखरेलले बिहीबार केही सञ्चारकर्मीहरूलाई सुनाए ।
शीतल निवासमा जम्मा भएका केही सञ्चारकर्मीमाझ उनले राष्ट्रपतिको भ्रमणबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व जगतले नेपाल जस्ता कम विकसित पर्वतीय मुलुकहरूको प्राथमिकतालाई केन्द्रमा राख्नु पर्ने विषय अन्तर्राष्ट्रिय जगतमा स्थापित भएको सुनाए ।
जेठ २९ देखि सुरु भई असार ५ गते सम्पन्न भएको भ्रमण दलका सदस्य पोखरेलको भनाइमा ‘खासगरी राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनसम्बन्धी अन्तराष्ट्रिय श्रम संगठनको उद्घाटन सत्रमा मुख्य वक्ताको रूपमा व्यक्त गरेको विचार, जर्मनीमा वैज्ञानिकहरूसँग गरेको छलफलपछि जर्मन राष्ट्रपति डा। फ्राङ्क–वाल्टर स्टाइनमेयरले दुईपक्षीय वार्तामा जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा नेपालप्रति देखाएको सद्भावले यो विषय स्थापित भएको’ छ ।
पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरेका थिए । जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा त्यहाँका वैज्ञानिकहरूसँगको छलफलमा पौडेलले उनीहरूको अहिलेसम्मको अनुसन्धानको प्रशंसा गर्दै अब जलवायु परिवर्तनको असर न्यूनीकरणका उपायहरूमा अनुसन्धान केन्द्रित गर्न सुझाव दिएका थिए ।
पोखरेलको भनाइमा ‘राष्ट्रपति पौडेलले कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकसित मुलुकहरूले के–के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन’ उनीहरुलाई आग्रह गरे ।
“जलवायु परिवर्तनका सम्बन्धमा तपाईँहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ । तर अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ । साथै तपाईँहरूले यसका लागि कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकसित मुलुकहरूले के–के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिनुपर्छ”, राष्ट्रपति पौडेललाई उदृत गर्दै पोखरेलले भने ।
त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले वैज्ञानिकहरूसँग राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गर्दै नेपालजस्तो पर्वतीय मुलुकप्रति आफूहरूको सहानुभूति रहेको र आगामी दिनमा नेपाललाई हरतरहले सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । नेपालका राष्ट्र प्रमुख ३८ वर्षपछि जर्मनी भ्रमणमा पुगेका हुन् ।
पौडेलसँग जर्मनीका राष्ट्रपति स्टाइनमेयरले नेपालको प्राथमिकताप्रति चासो राखेका थिए । जवाफमा पौडेलले कृषि क्रान्ति, जलश्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षा अभिव्यक्त गरेका थिए । पौडेललाई सुनेपछि जर्मन राष्ट्रपतिले नेपाललाई हरतरहले सहयोग विश्वास दिलाए ।
राष्ट्रपति पौडेलले फसाइएर युक्रेनको सैन्य हिरासतमा पुगेका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन पनि जर्मनीसँग आग्रह गरेका थिए । रुस–युक्रेन युद्धमा नेटो सदस्य राष्ट्र जर्मनीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ ।
जर्मन भ्रमणअघि पौडेलले स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताकारुपमा सम्बोधन गरेका थिए । त्यस अवसरमा उनले ‘‘सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’ भनेर व्यक्त विचारले जलवायु परिवर्तनका नकारात्मक असरहरूको सम्बन्ध सामाजिक न्यायसँग जोडेर विश्व समुदायको ध्यानाकर्षण गर्न सफल भएको पनि शीतल निवासले ठहर गरेको छ ।
“विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठुला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन । जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ”, भन्ने पौडेलको भनाई निकै अर्थपूर्ण रहेको शीतल निवास बताउँछ ।
कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरहरूको मार खेपिरहेको र यसमा नेपालको कुनै दोष नभएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले, ‘तथापि पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुन थालेका र हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्’, भन्ने अभिव्यक्ति दिएको पोखरेलको भनाई छ ।
“जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ”’ भन्ने राष्ट्रपति पौडेलको अभिव्यक्तिमा आइएलओको कार्यक्रममा उपस्थित विश्व समुदायले गरेको स्वीकारोक्ति गौरवलाग्दो भएको पोखरलेको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा
-
रवि लामिछानेलाई रातारात पोखरा ल्याइयो
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा