बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने जोडिएको सहकारी काण्डका कागजात सर्वोच्चमा पेस

के छ सीआईबी प्रतिवेदन र जिल्ला अदालतको बयानमा ?
बिहीबार, ०६ असार २०८१, २० : ००
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी सम्बन्धमा नेपाल प्रहरीको जवाफ, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी) को अध्ययन प्रतिवेदन र रुपन्देही जिल्ला अदालतमा पेस भएको अभियोगपत्र लगायतका कागजात सर्वोच्च अदालतमा पठाइएको छ । रवि मुछिएको सहकारी ठगी सम्बन्धमा कागजात पेस गर्न दिएको आदेश बमोजिम सम्बद्ध निकायहरूले कागजात पेस गरेको सर्वोच्च स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

यसअघि परेको पेशी हेर्न नमिल्ने भएपछि सर्वोच्चले तोकेको पेशी बमोजिम रविविरुद्ध दायर रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।  शुक्रबारको सुनुवाइका लागि दुई न्यायाधीशको संयुक्त इजलास गोला प्रथाबाट तोकिने छ । रविलाई गृह मन्त्रीबाट निलम्बन माग गरिएको मुद्दा कुन–कुन न्यायाधीशको इजलासमा पर्ला भन्ने चासो सर्वत्र छ । 

यसअघि गृहमन्त्री रविलाई ‘क्लिन चिट’ दिने आशयले महान्यायाधिवक्ता कार्यालयबाट पत्र जारी भएसँगै यो प्रकरणले नयाँ ट्वीष्ट लिएको थियो । त्यसपछि सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै आदेश भए बमोजिम सुप्रिम सहकारी बुटवलको अभियोगपत्रदेखि  सीआईबीको प्रतिवेदनसम्म अदालतले प्राप्त गरेको छ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीबारे पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको पुरक जाहेरी (लामिछानेको नाम पहिलो नम्बरमा उल्लेख भएको) सम्बन्धी कागजात भने अझै प्राप्त नभएको अदालत  स्रोतले रातोपाटीलाई बताएको छ । प्रहरीले अदालतलाई छल्ने गरी सक्कल जाहेरी समेत नपठाएको स्रोतको भनाई छ । प्रहरीले पीडितसँग बुझेको उक्त पुरक जाहेरी दर्ता नै नभएको जवाफ कास्की प्रहरीले पठाएको छ ।

पुरक जाहेरीलाई लुकाउन खोजेको विषय बहसका क्रममा इजलासमा उठाउने तयारी  निवेदकको तर्फबाट भइरहेको छ भने गृहमन्त्री लामिछाने पक्षले पुरक जाहेरीलाई ‘सामान्य निवेदन’ भन्दै आएको छ । अदालतले पर्याप्त विवरणहरू र पक्ष विपक्षको बहस सुनेर अबको सुनुवाइपछि यसको छिनोफानो गर्ने छ ।  

सीआईबीको प्रतिवेदनमा के छ ?

वर्तमान उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेको बखत लामिछाने र जीबी राई जोडिएका सहकारी सम्बन्धमा सीआईबीले अनुसन्धान गरी प्रतिवेदन तयार पारेको थियो । अनुसन्धानका क्रममा एक समय गोर्खा मिडिया प्रालिका साझेदार नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको घरमा २०८० माघ २५ गते छापा मारेर सहकारीको सर्भर प्रहरीले लगेको थियो । त्यसबाट डाटाहरु निकालेर अध्ययन गरी प्रतिवेदन तयार पारेको प्रहरी स्रोतले बताएको छ ।

रातोपाटीले प्राप्त गरेको उक्त प्रतिवेदनमा पोखराको सूर्य दर्शन सहकारीबाट  लामिछानेको नाममा रकम गएको देखिएको उल्लेख छ । उक्त सहकारीको सदस्य नै नभएका उनका नाममा कसरी रकम गयो भन्ने विषय समेत प्रतिवेदनमा औँल्याइएको छ ।

सहकारीको ऋण प्राप्त गर्न सम्बन्धित सहकारीको शेयर सदस्य हुनुपर्ने सहकारी ऐनको प्रावधान विपरीत लामिछानेको नाममा कसरी रकम गयो भनेर सीआईबीले अध्ययन गरेको देखिन्छ । वार्षिक १४.७५ प्रतिशत ब्याज असुल गर्ने गरी २०७८ असार ३१ गते  लामिछानेको नाममा ऋण खाता बनाएर एक करोड रकम ऋण प्रवाह भएको देखिएको प्रतिवेदनमा लेखिएको छ ।

rabi-cib

rabi-cib1

 

बुटवलको सुप्रिम सहकारीबारे पनि अध्ययन गरेको सीआईबीले लामिछानेको नाममा भएको लगानीका विषयमा प्रश्न उठाएको छ । ‘ऋण लिँदा पुरा गर्नुपर्ने प्रक्रिया (निवेदन फर्म भर्नुपर्ने, व्यक्तिगत कागजात) नागरिकता/ धितोको कागजात, व्यापारिक कम्पनीको उद्देश्य, ऋण चुक्ता हुनसक्ने आधार खुल्ने कागजात) कुनै पनि नभेटिएको’ भन्दै प्रतिवेदनमा लेखिएको छ, ‘सहकारीको कुनै जिम्मेवारीमा सदस्य नरहेको व्यक्तिको नाममा (रवि लामिछाने) ऋण प्रवाह हुनु र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको कम्पनी ( गोर्खा मिडिया नेटवर्क प्रा.लि.) को नाममा ऋण प्रवाह भएको देखिन्छ ।’ 

सहकारी ऐन, २०७४ को दफा ५० मा  सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नुपर्ने व्यवस्था भएको अवस्थामा सहकारी सदस्य नभएका रवि लामिछानेको नाममा ऋण प्रवाह हुनु र रवि लामिछाने प्रबन्ध निर्देशक भएको कम्पनीमा रकम जानु  कानुनतः  दण्डनीय भएको सीआईबीको प्रतिवेदनमा स्पष्टै लेखिएको छ ।

सहकारी ऐनले कुनै पनि कम्पनीले सहकारी संस्थाबाट ऋण लिन नपाउने व्यवस्था रहेकोमा त्यसविपरीत ऋण लिनुलाई गैरकानुनी कार्यको रूपमा प्रतिवेदनले लिएको छ । ‘सुप्रिम सहकारीले रकम पठाएका कम्पनीहरूको सञ्चालक समितिको विवरण गोर्खा मिडिया प्रालिका सञ्चालकमा दुई जनाको नाम उल्लेख छ । जसमा सि न.. १ मा गितेन्द्रबाबु राईका नाममा १० लाख २० हजार सेयर सङ्ख्या बापत १० करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ’ प्रतिवेदन भन्छ, ‘ सि नं. २ मा रवि लामिछानेको नाममा सेयर सङ्ख्या १ लाख ८० हजार कित्ता त्यसबापत १ करोड ८० लाख रुपैयाँ रहेको देखिन्छ ।’ 

R 1R 2
सुप्रिम सहकारीले रकम पठाएका कम्पनीहरूको सञ्चालक समितिको विवरण गोर्खा मिडिया प्रालिका सञ्चालकमा दुई जनाको नाम उल्लेख भएको, जसमा सि न.. १ मा गितेन्द्रबाबु राईका नाममा १० लाख २० हजार सेयर सङ्ख्या बापत १० करोड २० लाख रुपैयाँ रहेको उल्लेख छ । सि नं. २ मा रवि लामिछानेको नाममा सेयर सङ्ख्या १ लाख ८० हजार कित्ता त्यसबापत १ करोड ८० लाख रुपैयाँ रहेको देखिन्छ । 

उसो त बुटवलको सुप्रिम सहकारीको लेखा परीक्षण प्रतिवेदनमा पनि रकम लिएको भनी लामिछानेको नाम उल्लेख छ ।  २०७८ जेठ ६ गते सहकारी संस्थाको चेक नम्बर २०२७२२१०८५ बाट ५० लाख रुपैयाँ  रकम गण्डकी विकास बैकमा गोर्खा मिडिया प्रालिको नाममा जम्मा गरेको प्रतिवेदनमा लेखिएको छ ।

lekha-rabi

 सीआईबी प्रतिवेदनमा पनि २०७८ असार ९ गते गोर्खा मिडिया नेटवर्कको नाममा पेस्की उल्लेख गरी ५० लाख नगदै भुक्तानी लिएको र त्यसपछिमात्र रवि लामिछानेको नाममा ऋण खाता खडा गरेको उल्लेख छ । २०८० असार १३ गते लामिछानेको नाममा देखाइएको ब्याज र ऋण समेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रुपैयाँ प्रालिको नाममा स्वामित्व हस्तान्तरण गरिएको देखिएको प्रहरी प्रतिवेदनमा जनाइएको छ ।

रुपन्देहीको अभियोगपत्रको बयानमा के छ ? 

सर्वोच्चमा रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी मुद्दामा दायर भएको पहिलो अभियोगपत्र पनि पेस भएको छ । सुप्रिम सहकारीको आन्तरिक लेखा परीक्षण प्रतिवेदन पनि पेस भएको छ । प्रतिवेदनमा निश्चित प्रतिशत ब्याज लिने गरी लामिछानेको नाममा २ करोड ऋण प्रवाह भएको उल्लेख छ । 

लेखा प्रतिवेदनको भाग ७ को निष्कर्षको २८ नम्बरमा क्यापिटल फन्ड १७ प्रतिशत रहेको भन्दै २ करोड ऋण प्रवाह गरेको उल्लेख गरेको छ ।  अदालतमा अनुसन्धानका क्रममा सरकारी वकिल र प्रहरी समक्ष गरेको बयान पनि पेस भएको छ । पक्राउ परेका मध्ये दुई जना कर्जा शाखाका दीपक न्यौपाने र रोशनी गुरुङले बयानमा लामिछानेलाई कसरी ऋण प्रवाह भएको भनेर बयानमा खुलाएका छन् ।

न्यौपानेको बयानको सवाल जवाफ नम्बर १ मा रवि लामिछानेका नाममा २०७७ चैत १८ गते बुटवल ११ ठेगाना राखी २ करोड रकम भुक्तानी भएको विषयमा प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफमा न्यौपानेले उक्त ऋण सम्बन्धी फाइल पत्र आफूले तयार गरेको र सदर गर्ने काम सागर केसीले गरेको भनी  लामिछानेको नाममा ऋण प्रवाह भएको स्वीकार गरेका छन् । उक्त समयमा लामिछानेको स्थायी ठेगाना बुटवल ११ भनी प्रतिवेदनमा उल्लेख छ । 

रहस्यमय तरिकाले लामिछानेको ठेगाना बुटवल–११ राखिएको रातोपाटीले पत्ता लगाएको छ । लामिछानेको ठेगाना राखिएको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले रवि लामिछाने नाम भएका कुनै व्यक्ति आफ्नो वडाको बासिन्दा नरहेको रातोपाटीलाई बताए ।

त्यस्तै रोशनी गुरुङको बयानमा लामिछानेको नाममा बैकले मिल्दैन भन्दा पनि कसरी रकम जम्मा गरियो र उनीहरूको अनुपस्थितिमा के के भयो भन्ने खुलासा गरिएको छ ।  गुरुङको बयानको सवाल जवाफको ९ नम्बरमा सोधिएको प्रश्नमा उनले लामिछानेका बारेमा भनेकी छिन् ,‘मैले विभिन्न व्यक्तिहरूको तथा कम्पनीहरूको नाममा रकम जम्मा गरेकी छु । बैकमा जुन कम्पनी वा व्यक्तिको नाममा रकम जम्मा गरिएको छ, निजहरूलाई मैले प्रत्यक्ष देखेको छैन । व्यवस्थापक सागर केसीले दिएको खाता नम्बर अनुसार रकम जम्मा गरेको हुँ ।’

‘सागर केसीले मलाई नाममात्र भरी अरू सबै खाली राखी खाता खोल्न भन्नुभएको र करोडौँ रकम निजहरूको नाममा राखी कम्पनीमा जम्मा गर्न भनेको हुँदा रवि लामिछाने र छविलाल जोशीको नाम थाहा छ ’ गुरुङको बयानमा उल्लेख छ ।  त्यस्तै सवाल जवाफको प्रकरण नम्बर १० झनै रमाइलो देखिन्छ । 

roshani 10

 ‘मैले सागर केसीले बताए अनुसार नै गरेको कुरा सवाल जवाफमा खुलाई लेखाई दिएकी नै छु, रवि लामिछाने र कुमार रम्तेललाई मैले चिनेको छैन । व्यवस्थापक सागर के.सी. ले उपलब्ध गराएको कम्पनी तथा व्यक्तिको  बैंक खाता नं. र नाम अनुसार बैंकमा गई निजले उपलब्ध गराएको चेकहरू लगी बैंकमा जम्मा गरेकी हुँ’ गुरुङले दोस्रो प्रश्नमा पनि उक्त कुरा दोहोर्याउँदै भनेकी छिन्, ‘मिति २०७८ वैशाख ५ गते  बैंक भौचरमा सागर सरले रकम जम्मा गर्नेमा रवि लामिछानेको नाम राख्न भनेको हुँदा मैले बैंक भौचर भोर्दा रवि लामिछानेको नाम राखेकी थिए, रकम जम्मा गर्ने बेलामा बैंकले रवि लामिछानेलाई खोजेको हुँदा मैले हुनु हुन्न भनेँ । व्यक्ति उपस्थित नभए पछि नाम लेख्न मिल्दैन हजुरको नाम साइडमा लेख्नुस् भन्नु भएको हुँदा मैले व्यवस्थापक  केसीलाई फोन गरी रवि लामिछानेको नाम राखी बैंकमा रकम जम्मा गर्न मिलेन के गर्ने भनेँ ? पछि  साइडमा तिम्रो नाम राखी रकम जम्मा गर्नु भन्नुभएको हुँदा मैले सोही भौचरमा रवि लामिछानेको नामको पछाडि मेरो नाम राखी रकम जम्मा गरेकी हुँ ।’ 

यसरी जम्मा गर्नुको प्रयोजन थाहा नभएको र बैंकमा जो जान्छ उसको नाम राख्ने पर्ने भएकोले बैंक भौचरमा फरक–फरक कर्मचारीको नाम रहेको उनले बयानमा बताएकी छिन् ।

‘सोही भौचरहरूमा उल्लेख भएको सम्बन्धित खाताहरूमा रकम पठाएकी हुँ, के कुन प्रयोजनको लागी पठाउन भनेका हुन सो कुरा मलाई थाहा भएन, मलाई अध्यक्ष ओमप्रकाश गुरुङ र व्यवस्थापक सागर केसीको दस्तखत चल्ने सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको चेक दिएको हुँदा मैले सोही चेकहरूलाई बैंकमा लगी जम्मा गरेकी हुँ’ उनले बयानमा भनिन् ‘म कर्मचारी भएकोले व्यवस्थापकले भने बताए अनुसार काम गरेकी हुँ, मेरो नाममा भएको बैंक भौचरमा भएको दस्तखत मेरो हो ।’ 

त्यस्तै सवाल जवाफ नम्बर ११ मा किन लामिछाने र जीबी राईको केवाइसी पुरा भरिएन भनी सोधिएको प्रश्नमा गुरुङले व्यवस्थापन सागर केसीको निर्देशनपछि नभरेको जवाफ दिएकी छिन् ।

‘मलाई याद भए अनुसार व्यवस्थापक सागर केसीले रवि लामिछाने र छविलाल जोशीको नाममा खाता खोल्दिनु भन्नु भएको र कागजात माग गर्दा काजजातहरु नराखी नाम, थर ठेगाना डटडट राखी खाता खोल्न भन्नु भएको थियो’ उनले जवाफमा भनेकी छिन् ‘करोडौँ रकम जम्मा गर्न लगाएको हुँदा किन यस्तो गर्नु भन्नु भएको होला भन्ने सोचेको हुँ । तर कर्मचारी भएकाले व्यवस्थापकले भने अनुसार नै गरेको हुँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा दुलाल
दुर्गा दुलाल
लेखकबाट थप