बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप क्रिकेट

टी–२० विश्वकपमा पहिलोपटक अस्ट्रेलियालाई हराउने योजना बुन्दै बङ्गलादेश

बिहीबार, ०६ असार २०८१, १७ : ४३
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शुक्रबार अस्ट्रेलियाले बङ्गलादेशसँग ‘सुपर–८’ चरणको खेल खेल्दैछ । अस्ट्रेलिया र बङ्गलादेशबिचको खेल नेपाली समय अनुसार, बिहान ०६ः१५ बजे एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा सुरु हुनेछ । 

‘सुपर–८’ चरणमा अस्ट्रेलिया र बङ्गलादेश ‘समूह–१’ मा छन् । भारत र अफगानिस्तान पनि सोही समूहमा रहेका छन् । अस्ट्रेलिया प्रारम्भिक चरणमा समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । 

प्रारम्भिक चरणमा आफूले खेलका चारवटै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । दोस्रो खेलमा अस्ट्रेलियाले साविक विजेता इङ्गल्यान्डलाई ३६ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाले तेस्रो खेलमा नामिबियामाथि नौ विकेटको सजिलो जित हात पारेको थियो । चौथो खेलमा भने अस्ट्रेलियाले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । बङ्गलादेश भने समूह ‘डी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । 

बङ्गलादेशले चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । त्यो समूहबाट दक्षिण अफ्रिका विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेका थियो । बङ्गलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई दुई विकेटले हराएको थियो ।

यसैगरी बङ्गलादेशी टोली दोस्रो खेलमा भने दक्षिण अफ्रिकासँग चार रनले पराजित भएको थियो । तेस्रो खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । आफ्नो चौथो खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गरेको थियो । 

जारी विश्वकपको समूहगत चरणमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान मार्कुस स्टोइनिस हुन् । उनले चार खेलमा कुल एक सय ५६ रन बनाएका छन् । यस क्रममा उनले दुई अर्धशतक पनि प्रहार गरेका छन् । 

अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा ट्राभिस हेड दोस्रो स्थानमा आसिन छन् । उनले चार खेलमा कुल एक सय ४८ रन बनाएका छन् ।  अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने बलर भने एडम जाम्पा हुन् । उनले चार खेलमा नौ विकेट लिएका छन् ।

यसैगरी जारी विश्वकपमा बङ्गलादेशका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान तोहिद हृदोय हुन् । उनले चार खेलमा कुल ९५ रन बनाएका छन् ।  बङ्गलादेशका लागि सर्वाधिक विकेट लिने बलर भने तानजिम हसन सकिब हुन् । उनले चार खेलमा नौ विकेट लिएका छन् । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया र बङ्गलादेशबिच कुल १० खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको छ । बाँकी चार खेलमा भने बङ्गलादेशले अस्ट्रेलियालाई पराजित गरेको छ ।  आईसीसी टी–२० विश्वकपमा भने हालसम्म अस्ट्रेलिया र बङ्गलादेशबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये पाँचवटै खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई हराएको छ । 

सन् २००७ को विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई नौ विकेटले हराएको थियो । सन् २०१० मा खेलिएको विश्वकपमा अस्ट्रेलिया २७ रनले विजयी भएको थियो । 

यसैगरी सन् २०१४ मा खेलिएको विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई सात विकेटले पराजित गरेको थियो । सन् २०१६ को विश्वकपमा अस्ट्रेलियाले बङ्गलादेशलाई तीन विकेटले हराएको थियो । सन् २०२१ को विश्वकपमा पनि अस्ट्रेलियाले बङ्गलादेशलाई आठ विकेटले पाखा लगाएको थियो । 

सन् २०२१ मा अस्ट्रेलियाली टोली पाँचवटा टी–२० खेलको शृंखला खेल्न बङ्गलादेश भ्रमणमा गएको थियो ।  त्यो शृङ्खलामा अस्ट्रेलिया बल्लतल्ल ‘ह्वाइट वाश’ हुनबाट जोगिएको थियो । शृङ्खलामा बङ्गलादेशले अस्ट्रेलियालाई ४–१ ले हराएको थियो । 

टी–२० विश्वकपमा अस्ट्रेलिया र बङ्गलादेश दुवैको यो नवौँ सहभागिता हो । यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् ।  अस्ट्रेलियाले सन् २०२१ को टी–२० विश्वकपको उपाधि जितेको थियो । बङ्गलादेश भने टी–२० विश्वकपमा ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन ।

एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियमको पिच खासगरी तीव्र गतिका बलरहरूलाई साथ दिने प्रकृतिको रहेको छ ।  उक्त स्टेडियममा खेलिएको १७ वटा खेलमा तीव्र गतिका बलरहरूले करिब ६२ प्रतिशत विकेट लिएका छन् । 

यो स्टेडियममा टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्ने गरेको पाइन्छ । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले करिब ७५ प्रतिशत खेल जितेका छन् ।  यद्यपि, ‘सुपर–८’ चरणमा यही स्टेडियममा अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले १८ रनले खेल जितेको थियो । 

एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियममा अस्ट्रेलिया र बङ्गलादेशबिच खेल हुने दिन वर्षाको सम्भावना ६० प्रतिशत रहेको बताइएको छ ।  त्यसैले वर्षाले खेल बिथोल्ने सम्भावना बलियो छ । शुक्रबारको तापक्रम २७ देखि ३० डिग्री सेल्सियसको बिचमा रहने छ । 

अस्ट्रेलियाको सम्भावित टोलीमा मिचेल मार्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर), प्याट कमिन्स, नाथन एलिस, एडम जाम्पा र जश हेजलउड रहेका छन् । 

यसैगरी बङ्गलादेशी टोलीमा नजमुल हुसैन सान्तो (कप्तान), तानजिद हसन, जेकर अली, लिटन दास (विकेटकिपर), तौहिद हृदोय, शकिब अह हसन, महमुदुल्लाह, रिशाद हुसैन, तास्किन अहमद, तनजिम हसन सकिब र मुस्तफिजुर रहमान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप