बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

‘शिरफूल’ ले रोक्यो शुक्रबारको रिलिज

बिहीबार, ०६ असार २०८१, १७ : ०३
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । फिल्म ‘शिरफूल’ भोलि शुक्रबार प्रदर्शन नहुने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको रिलिज स्थगित गर्दै साउन १८ लाई प्रदर्शन मितिको रूपमा सार्वजनिक गरेको छ । फिल्मका निर्देशन कमल एक्चै मगर हुन् ।

प्रचार प्रसार नपुगेको लगायत केही प्राविधिक कारणले फिल्म सारिएको निर्देशक मगरले जानकारी दिए । मगरको यसअघि फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो ।

‘शिरफूल’ आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको निर्देशक मगर बताउँछन् । फिल्ममा आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । 

फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगर लगायतको अभिनय छ ।

हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म आशिर्वाद पुनमगर र माया छन्त्याल पुनको लगानीमा बनेको हो । फिल्मको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

अभिनेत्री मरिस्का पोखरेलको विशेष भूमिका रहेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप