बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
युरोकप फुटबल :

नकआउट चरणमा पुग्न आतुर दुई महारथी स्पेन र इटाली आपसमा भिड्दै

बिहीबार, ०६ असार २०८१, १६ : २६
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा शुक्रबार बिहान दुई महारथी स्पेन र इटालीबिच भिडन्त हुनेछ । विश्व फुटबलका यी दुई हस्ती राष्ट्रबिचको खेल नेपाली समयअनुसार, बिहान ००ः४५ बजे सुरु हुनेछ । 

त्यसअघि बिहीबार युरोकपका थप दुई खेल हुनेछन् । बिहीबार साँझ १८ः४५ बजे स्लोभानियाले सर्बियाको सामना गर्नेछ । त्यसलगत्तै बिहीबार राति २१ः४५ बजे नकआउट चरणमा पुग्न आतुर इङ्गल्यान्ड र डेनमार्कबिच भिडन्त हुनेछ । 

जारी युरोकपमा स्पेन र इटाली समूह ‘बी’ मा छन् । क्रोएसिया र तुलनात्मक रूपमा कमजोर अल्बानिया पनि सोही समूहमा रहेका छन् । पहिलो खेलमा विजयी भएका यी दुवै टोली युरोकपको नकआउट चरणमा पुग्न आतुर देखिन्छन् ।

समूह ‘बी’ मा स्पेन र इटालीले एक–एक तथा क्रोएसिया र अल्बानियाले दुई–दुई खेल खेलेका छन् । तालिकामा तीन अंकसहित स्पेन पहिलो र समान अङ्क बटुलेको इटाली दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा आसीन अल्बानिया र चौथो स्थानमा रहेको क्रोएसियाले एक–एक अङ्क जोडेका छन् ।

जारी युरोकपमा तीनपटकको विजेता स्पेन र दुई पटकको उपाधिधारी इटालीलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । स्पेन लगातार दुई पटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । इटालीले हालसम्म दुई पटक युरोकपको उपाधि चुमेको छ । स्पेन र इटाली दुवै पहिलो सहभागितामै युरोकपको उपाधि जित्ने राष्ट्र पनि हुन् ।

स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियामाथि ३–० गोलको जित हासिल गरेको थियो । इटालीले भने अल्बानियामाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित हात पारेको थियो । क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । 

इटाली र स्पेनबिचको खेलमा विजयी हुने टोली प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ । विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा पनि यी दुई टोलीबिच ठुलो अन्तर छैन । पछिल्लो फिफा वरीयतामा स्पेन आठौँ र इटाली नवौँ स्थानमा आसीन छन् ।

स्पेन युरोकप फुटबल प्रतियोगितामा जर्मनीपछि सबैभन्दा बढी पटक सहभागिता जनाउने राष्ट्र हो । स्पेनले यसअघि ११ पटक युरोकपमा सहभागिता जनाइसकेको छ । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो ।

इटालीले भने यसअघि १० पटक युरोकपमा सहभागिता जनाइसकेको छ । इटालीले सन् १९६८ मा पहिलो पटक युरोकप खेलेको थियो । स्पेन र इटाली दुवै युरोकपको पूर्वविजेता हुन् । स्पेनले तीन र इटालीले दुई पटक युरोकपको उपाधि चुमिसकेका छन् ।

हालसम्म स्पेनका अतिरिक्त जर्मनीले मात्र तीन पटक युरोकपको उपाधि चुम्न सकेको छ । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई २–१ गोलले हराएको थियो ।

त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकप जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई नै ४–० गोलले हराएको थियो । 

स्पेन लगातार दुई पटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । 

यसैगरी इटालीले हालसम्म दुई पटक युरोकपको उपाधि जितेको छ । इटालीले पनि सन् १९६८ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि उचालेको थियो । इटालीले त्यतिबेला फाइनलमा युगोस्लाभियालाई हराएको थियो ।

त्यसपछि इटालीले सन् २०२० मा दोस्रो पटक युरोकपको उपाधि कुम्ल्याएको थियो । साविक विजेता समेत रहेको इटालीले अघिल्लो संस्करणको फाइनलमा इङ्गल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै उपाधि हात पारेको थियो । 

यसका अतिरिक्त इटाली सन् २०१२ को युरोकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा इटालीलाई स्पेनले हराएको थियो । त्यसअघि सन् २००० मा पनि इटाली युरोकपको फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । 

जारी विश्वकपमा इटाली र स्पेन दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । यी दुवै टोलीले जारी युरोकपको छनोट प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा छनोट भएको हो ।

स्पेन अन्तिम चरणको छनोट प्रतियोगितामा आफूले खेलेका आठमध्ये सात खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । छनोट प्रतियोगितामा स्पेनले विपक्षीको पोस्टमा कुल २५ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो । 

यसैगरी इटाली छनोट प्रतियोगितामा आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा उपस्थित भएको हो । त्यो समूहबाट इङ्गल्यान्ड विजेता बनेको थियो । इटाली छनोट प्रतियोगितामा खेलेका आठमध्ये चार खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । 

छनोट चरणको प्रतियोगितामा केही कमजोर प्रदर्शन गरेको इटालीको टोली दुई खेलमा भने बराबरीमा रोकिएको थियो । छनोट प्रतियोगितामा इटालीले विपक्षीको पोस्टमा १६ गोल गरेको थियो भने नौ गोल खाएको थियो । 

स्पेन र इटालीबिच ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म कुल १५ खेल खेलिएको छ । विगतको तथ्याङ्कलाई हेर्दा स्पेनभन्दा इटाली कमजोर देखिन्छ । १५ मध्ये ६ खेलमा स्पेन विजयी भएको छ । इटालीले स्पेनलाई दुई खेलमा मात्र हराउन सकेको छ । यी दुई टोलीबिचको सात खेल भने बराबरीमा सकिएको छ । 

इटाली र स्पेनबिचको खेलमा हालसम्म कुल ३० गोल भएको छ । स्पेनले इटालीको पोस्टमा १९ गोल गरेको छ भने इटालीले स्पेनविरुद्ध ११ गोल गरेको छ । घरेलु मैदानमा स्पेनले पाँचपटक इटालीलाई हराएको छ भने इटालीले घरेलु मैदानमा स्पेनलाई हराउन सकेको छैन ।

स्पेनको घरेलु मैदानमा इटालीले दुई खेल जितेको छ भने इटालीको घरेलु मैदानमा स्पेनले एक खेलमात्र जित्न सकेको छ । युरोकपमा भने हालसम्म यी दुई राष्ट्रबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये दुवै टोली एक–एक खेलमा विजयी भएका छन् । बाँकी तीन खेल भने बराबरीमा सकिएको छ । 

इटालीको टोली आफूले खेलेको पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमध्ये चारमा विजयी भएको छ । इटाली एक खेलमा भने बराबरीमा रोकिएको छ । स्पेनको पछिल्लो पाँचमध्ये तीन खेलमा विजयी र एक खेलमा पराजित भएको छ । स्पेनको एक खेल बराबरीमा सकिएको छ । 

जारी युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल म्याड्रिडका नाचो र डानी कार्भाजल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरन टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् ।

यसैगरी इटालीको प्रमुख प्रशिक्षकमा लुसियानो स्पालेट्टी रहेका छन् । इटालीको टोलीमा पेरिस सेन्ट जर्मनका जियानलुइगी डोनारुमा (कप्तान तथा गोलरक्षक), नापोलीका जियोभानी लोरेन्जो, इन्टर मिलानका फेड्रिको डिमार्को, युभेन्ट्सका फेड्रिको गाट्टी र फेड्रिको चिएसा, आर्सनलका जर्जिन्हो, रोमाका लोरेन्जो पेलेग्रिनीलगायतका चर्चित खेलाडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप