काठमाडौँ । काष्ठमण्डप स्कुल र यूनाइटेड स्कुलका झन्डै ३ सय विद्यार्थी प्रतिनिधि सभा बैठकको प्रत्यक्ष अवलोकन गर्न पाउँदा दंग देखिन्थे ।
सामाजिक शिक्षा विषयको ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका’ बारेको पाठमा उल्लेख भएका कुरा स्थलगत रुपमा अवलोकन गर्न पाउँदा धेरै कुरा बुझ्ने मौका पाएको विद्यार्थीहरुको अनुभव छ ।
काष्ठमण्डप विद्यालयबाट बुधबार संसद् बैठकको अवलोकनमा आएकी कक्षा १० कि छात्रा निर्वाणी दाहालले संसद् बैठक अवलोकनबाट धेरै नयाँ कुराहरू जान्ने,सुन्ने र बुझ्ने मौका पाएको सुनाइन् ।
दाहालले प्रत्यक्ष बैठकमा उपस्थित हुँदा धेरै नेताहरुको सोच बिचार सुन्ने, विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले फरक फरक विषय ल्याउने र देशको राजनीतिक, आर्थिक र सामाजिक विषयका बारेमा जानकारी लिन पाएकोमा खुसी लागेको बताइन् ।
दाहालको जस्तै अनुभव छ –यूनाइटेड स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा प्राञ्जली सापकोटा र मिर्जु खत्रीको पनि । जनताको हकहितमा कसरी बोल्ने भन्ने कुरा सिक्ने मौका पाएको उनीहरू दुवैको अनुभव छ ।
उपचार नपाएका जनताका बारेमा सांसदहरूले बोलेको र समस्या समाधान गर्न कसरी बोल्ने भन्ने कुरा आफूले सिकेको उनीहरूको भनाइ छ ।
उनीहरूले किताबमा पढेको कुरा प्रत्यक्ष देख्दा रमाइलो लागेको सुनाए । मानिसहरुका धेरै समस्या समाधान गर्न लाग्नुपर्ने भएकोले भविष्यमा सांसद नबनौँ जस्तो आफूलाई लागेको सापकोटाले बताइन् ।
यता मिर्जु खत्रीले संसदमा सांसदले उठाएका विषय भन्दा पनि आफूले भोलिपर्सि अझ राम्रोसँग कुरा राख्न सक्छु कि जस्तो लागेको बताइन् । जनताका समस्या समाधान गर्न अहिलेका नेताहरू भन्दा राम्रोसँग तयारी गरेर आउन सकिने उनको भनाई छ ।
उनले भनिन्, ‘जनताको समस्या के छन् भन्ने कुरा अनुसन्धान गरेर अझ राम्रोसँग भन्न सक्छु कि जस्तो लाग्छ । भोलिपर्सि पढ्दै जाँदा राजनीतिमा पनि आउन सकिन्छ कि जस्तो लाग्छ ।’
काष्ठमण्डप विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी क्रियस सापकोटाले किताबमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको बारेमा अध्ययन गरेकोमा व्यवस्थापिकाले गर्ने काम प्रत्यक्ष देख्न पाएकोमा खुसी लागेको बताए ।
‘सामाजिक शिक्षा विषय अन्तर्गत अध्ययनका लागि हामीलाई संसद् बैठकमा ल्याउनुभएको हो । सामाजिक विषयमा हामीले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको विषयमा पढिरहेका थियौ, आज हामीले यहाँ आएर व्यवस्थापिका संसदको काम प्रत्यक्ष हेर्न पायौँ’, सापकोटाले रातोपाटीसँग भने, ‘नेताहरूले देशलाई कसरी सञ्चालन गरिरहनुभएको छ भन्ने कुरा हामीले यहीँबाट जानकारी पाउन सक्यौँ । हामी युवाहरूले भोली राजनीतिक क्षेत्रमा गएर देशका लागि केही गर्न चाह्यौँ भने त्यसका लागि संसदबाट धेरै कुरा सिक्न सक्छौँ ।’
संसदमा नेताहरूले जनताका लागि भाषण गरेको, समाजमा भएको विकृतिको बारेमा बोलेको र देशका समग्र समस्याका बारेमा विभिन्न कोणबाट कुराहरु राखेकोले देशमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन सजिलो भएको सापकोटाको भनाइ छ ।
काष्ठमण्डप विद्यालयका सिनियर कोअर्डिनेटर भीमलाल गौतमले सामाजिक शिक्षा अन्तर्गत विद्यार्थीहरूलाई देश बनाउनेहरुले कसरी छलफल गर्छन् भन्ने विद्यार्थीलाई देखाउन संसदमा अवलोकन गर्न ल्याएको बताए । उनले भने,‘जनप्रतिनिधिहरूले देशका बारेमा कसरी छलफल गर्छन् भन्ने कुरा प्रत्यक्ष रूपमा विद्यार्थीलाई जानकारी गराउनका लागि ल्याएका थियौँ । हाम्रा विद्यार्थीहरूले संसदमा धेरै कुराहरू सिक्ने अवसर पाएका छन् ।’
यस्तै यूनाइटेड स्कुल कक्षा १० मा अध्ययनरत छात्रा भूमिका निरौलाले संसदमा आउँदा धेरै कुरा सिक्ने अवसर पाएको बताइन् ।
उनले भनिन्–‘हाम्रो सामाजिक शिक्षाको पाठ्यक्रम अन्तर्गत व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको पाठमा भएको विषयको स्थलगत अवलोकन गर्यो । प्रत्यक्ष रूपमा सबै सांसदहरूको बहस, छलफल गरेको देख्दा मलाई पनि राष्ट्रिय हितमा लागेर आफ्नो क्षेत्रको वा आफ्नो पूरै देशको उन्नति प्रगति र हितका लागि आफूले पनि यसरी नै धारणा राख्न पाउँ भन्ने लागेको छ ।’
सांसदको कुरा सुन्दा आफ्नै देशमा बसेर काम गर्न प्रेरणा मिलेको उनले बताइन् ।
अर्का विद्यार्थी आरभ गौतमले संसद् आउँदा राजनीतिको बारेमा बुझ्न पाएको, पक्ष विपक्षमा कसरी अनुशासित भएर तर्क राख्ने भन्ने कुरा सिक्न पाएको बताए ।
शिक्षा, स्वास्थ्य र विभेदका कुराहरू सांसदहरूले छलफलमा राखेको र त्यसको समाधान खोजेको प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको गौतमको अनुभव छ ।
अर्का विद्यार्थी किर्तव्य शाक्यले जनताका प्रतिनिधिहरूले संसदमा गम्भीर तर्क हुन्छ भन्ने सोचेको तर सांसदहरूले एक अर्कालाई आलोचना गरेको प्रत्यक्ष देखेको बताए । उनले आलोचना गर्नु नराम्रो नभएको र मान्छेलाई सही बाटोमा लैजानका लागि आलोचना चाहिने बताए ।
कहिलेदेखि भएको थियो संसदमा विद्यार्थीलाई प्रवेश
संसद्को बैठकको कारबाही र संसदीय अभ्यासका सम्बन्धमा विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी दिई व्यवहारिक ज्ञान आर्जन गर्नमा सफलता हासिल होस् भन्ने अभिप्रायले संसद् बैठक चलिरहेको बेला अवलोकन गर्न दिने गरिएको छ ।
देशका विभिन्न विद्यालयहरूमा अध्ययन गर्ने कक्षा पाँच कक्षा दश सम्मका विद्यार्थीहरूका लागि संसद्को दुवै सदनको कारबाही अवलोकन गर्न छुट्टै स्थान उपलब्ध गराउने नीति बमोजिम २०५७ असार २ गते शुक्रबारदेखि विद्यार्थीहरुलाई संसद्को अवलोकन खुला गरिएको थियो ।
विद्यार्थीहरुलाई संसद्को अवलोकन गराउने कार्यको शुभारम्भ नवदीप अङ्ग्रेजी स्कुल चापागाउँ, ललितपुरले एक जना शिक्षकसहित १० जना विद्यार्थी पठाएर गरेको थियो । संसद्को अवलोकन गराउन चाहने विद्यालयले सदनको बैठक प्रारम्भ हुनुभन्दा एक हप्ता अगाडी अनुरोध पत्र लेख्नु पर्ने व्यवस्था छ ।
संसद् बैठकमा आउँदा एक जना अगुवाइ गर्ने शिक्षकसहित विद्यार्थीहरू विद्यालय पोसाकमा आउन सक्ने नीतिगत व्यवस्था छ ।
प्रतिक्रिया