बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी–२० विश्वकपमा आज

अनुभवी भारत र महत्त्वाकांक्षी अफगानिस्तान आपसमा भिड्दै

बिहीबार, ०६ असार २०८१, १५ : ४५
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार भारत र अफगानिस्तानबिच ‘सुपर–८’ चरणमा भिडन्त हुँदैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः १५ बजे सुरु हुनेछ । 

‘सुपर–८’ चरणमा भारत र बङ्गलादेश ‘समूह–१’ मा परेका छन् । त्यो समूहमा अस्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् । ‘सुपर–८’ चरणमा ‘समूह–१’ अन्तर्गत खेल्न लागिएको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय बरीयतामा भारत पहिलो र अफगानिस्तान १० औँ स्थानमा छन् । 

प्रारम्भिक चरणमा भारतको प्रदर्शन

प्रारम्भिक चरणमा भारत र अफगानिस्तान फरक समूहमा परेका थिए । भारत समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर–८’ चरणमा पुगेको हो । अफगानिस्तान भने समूह ‘सी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो । 

भारतले प्रारम्भिक चरणमा आफूले खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । भारतको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । भारतले पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको थियो । 

यसैगरी भारतले आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भारतले आयोजक अमेरिकालाई सात विकेटले हराएको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । 

प्रारम्भिक चरणमा भारतले बनाएको उच्च स्कोर एक सय १९ रन हो । पाकिस्तानविरुद्धको खेलमा १९ ओभरमा अलआउट हुनुअघि भारतले त्यो स्कोर बनाएको हो । प्रारम्भिक चरणमा भारतको नेट रन रेट १.१३७ रहेको थियो ।

प्रारम्भिक चरणमा अफगानिस्तानको प्रदर्शन

अफगानिस्तानले पनि प्रारम्भिक चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको थियो । अफगानिस्तानको टोली एक खेलमा भने पराजित भएको थियो । अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो । तेस्रो खेलमा अफगानिस्तानले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पपुवा न्यु गिनीलाई सात विकेटले हराएको थियो । 

यसैगरी आफ्नो चौथो खेलमा अफगानिस्तानको टोली दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग एक सय चार रनले पराजित भएको थियो । प्रारम्भिक चरणमा अफगानिस्तानले बनाएको उच्च स्कोर पाँच विकेट गुमाएर एक सय ८३ रन हो । अफगानिस्तानले त्यो स्कोर युगान्डाविरुद्ध बनाएको थियो ।

अफगानिस्तानले प्रारम्भिक चरणको चारवटै खेलमा एक सयभन्दा बढी रन बनाएको थियो । न्युजिल्यान्डविरुद्ध पनि अफगानिस्तानले ६ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । अफगानिस्तानको नेट रन रेट १.८३५ रहेको थियो । 

भारतका सफल ब्याट्सम्यान र बलर

जारी विश्वकपको प्रारम्भिक चरणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा माथिल्लो २० स्थानभित्र कुनै पनि भारतीय खेलाडीको उपस्थिति छैन । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका ऋषभ पन्त २४ औँ स्थानमा छन् । उनले तीन खेलमा कुल ९६ रन बनाएका छन् ।

भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा कप्तान रोहित शर्मा दोस्रो स्थानमा छन् । उनले तीन खेल खेल्दै कुल ६८ रन बनाएका छन् । सूर्यकुमार यादवले पनि समूहगत चरणमा भारतका लागि ५९ रन बनाएका छन् ।

यसैगरी समूहगत चरणमा भारतका लागि सर्वाधिक विकेट लिने बलर हार्दिक पाण्ड्या हुन् । उनले तीन खेलमा सात विकेट लिएका छन् । अर्का भारतीय बलर अर्शदीप सिंहले पनि सात विकेट लिएका छन् । जसप्रित बुमराहले पाँच विकेट हात पारेका छन् ।

अफगानिस्तानका सफल ब्याट्सम्यान र बलर

जारी विश्वकपको समूहगत चरणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका खेलाडीहरू अगाडि छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका रहमानुल्लाह गुरबाज तेस्रो स्थानमा छन् ।

रहमानुल्लाह गुरबाजले चार खेलमा कुल एक सय ६७ रन बनाइसकेका छन् । यो सूचीमा पाँचौँ स्थानमा पनि अफगानिस्तानकै खेलाडी इब्राहिम जदरान रहेका छन् । उनले चार खेलमा कुल एक सय ५२ रन बनाएका छन् ।

यसैगरी समूहगत चरणमा सर्वाधिक विकेट लिने बलरको सूचीमा अफगानिस्तानका खेलाडी फजालहक फारुकी पहिलो स्थानमा आसिन छन् । उनले चार खेलमा कुल १२ विकेट लिइसकेका छन् । अफगानिस्तानका रासिद खानले पनि चार खेलमा ६ विकेट लिइसकेका छन् ।

टी–२० विश्वकप र भारत

भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । त्यसैले टी–२० विश्वकपमा भारतको यो नवौँ सहभागिता हो । भरत टी–२० विश्वकपको पूर्वविजेता पनि हो ।

भारतले पहिलो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । त्यसपछि सन् २०१४ मा पनि भारत टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको थियो ।

त्यसयता भारत टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन । भारतले टी–२० विश्वकपमा हालसम्म कुल ४७ खेल खेलेको छ । भारतले त्यसमध्ये ३० खेलमा जित र १५ खेलमा हार भोगेको छ । भारतको एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

टी–२० विश्वकप र अफगानिस्तान

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानको यो सातौँ सहभागिता हो । अफगानिस्तानले सन् २०१० देखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । टी–२० विश्वकपमा अफगान टोलीको उत्कृष्ट प्रदर्शन ‘सुपर–८’ चरण हो । 

अफगानिस्तान जारी संस्करणको ‘सुपर–८’ चरणमा पुगेको हो । अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म कुल २६ खेल खेलेको छ । अफगानिस्तानको टोली त्यसमध्ये १० खेलमा विजयी भएको छ । बाँकी १६ खेलमा भने अफगानिस्तानले हार बेहोरेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा दुई टोलीबिच भिडन्त

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म भारत र अफगानिस्तानबिच कुल आठ खेल खेलिएको छ । त्यसमा भारतीय टोली निकै बलियो देखिएको छ । यी दुई टोलीबिच खेलिएको कुल आठमध्ये सबै खेलमा भारत विजयी भएको छ । 

पछिल्लो पटक यी दुई टोलीबिच गत जनवरीमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिएको थियो । जनवरी ११ तारिखमा खेलिएको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । जनवरी १४ तारिखमा खेलिएको दोस्रो खेलमा पनि भारत ६ विकेटले नै विजयी भएको थियो ।

तर, जनवरी १७ तारिखमा खेलिएको शृङ्खलाको तेस्रो खेल भने निकै रोमाञ्चक थियो । त्यो खेलमा अफगानिस्तानले भारतलाई गतिलो चुनौती दिएको थियो । त्यो खेलमा भारतले चार विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । 

अफगानिस्तानले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गयो । पहिलो सुपर ओभर पनि बराबरीमा सकियो । पहिलो सुपर ओभरमा दुवै टोलीले एक विकेट गुमाएर १६ रन बनाएका थिए ।

त्यसपछि खेल दोस्रो सुपर ओभरमा गयो । दोस्रो सुपर ओभरमा भने भारतले अफगानिस्तानलाई १० रनले पराजित ग¥यो । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक दोस्रो सुपर ओभरमा पुगेर हार–जितको निर्णय भएको थियो । 

टी–२० विश्वकपमा दुई टोलीबिच भिडन्त

भारत र अफगानिस्तानबिच हालसम्म टी–२० विश्वकपमा तीन खेल खेलिएको छ । त्यसमध्ये तीनवटै खेलमा भारतले अफगानिस्तानलाई हराएको छ । सन् २०१० को टी–२० विश्वकपमा भारतले अफगान टोलीलाई सात विकेटले हराएको थियो ।

त्यसपछि सन् २०१२ मा खेलिएको टी–२० विश्वकपमा पनि भारतले अफगानिस्तानलाई २३ रनले पराजित गरेको थियो । पछिल्लो पटक यी दुई राष्ट्रबिच सन् २०२१ को टी–२० विश्वकपमा भिडन्त भएको थियो । त्यो खेलमा भारत ६६ रनले विजयी भएको थियो । 

तथ्याङमा अफगानिस्तानभन्दा भारत निकै बलियो देखिन्छ । तर, पछिल्लो समय अफगानिस्तानको प्रदर्शन अब्बल देखिन्छ । अफगानिस्तानले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको स्वाद चाख्ने उच्च महत्वाकांक्षा पाल्दै आएको छ । त्यसैले यी दुई टोलीबिचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । 

केनसिङ्टन ओभलको पिच

बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभलको पिचमा टस जित्ने टोलीले पहिले फिल्डिङको निर्णय लिने गरेका छन् । यो स्टेडियममा समूहगत चरणको कुल पाँच खेल लिएको थियो । त्यसमध्ये दुई खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका थिए ।

एक खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका थिए । बाँकी दुईमध्ये एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको थियो । यो स्टेडियममा बनेको उच्च स्कोर दुई सय एक रन हो । यो स्टेडियममा बन्ने औसत रन एक सय ४८ हो । 

वर्षाको सम्भावना कम

भारत र अफगानिस्तानबिच खेल हुने दिन बिहीबार बार्बाडसमा वर्षाको सम्भावना निकै कम रहेको समाचारमा जनाइएको छ । बार्बाडसको आकाश भने दिनभर बादलले ढाकेको हुनेछ । तर, वर्षाको सम्भावना भने निकै कम छ । बार्बाडसको तापक्रम २८ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली 

भारत : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज ।

अफगानिस्तान : राशिद खान (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, गुलबदिन नाइब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, नजिबुल्लाह जदरान, करिम जनत, नुर अहमद, नविन उल हक र फजालहक फारुकी ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप