शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको शून्य समय: सांसद्हरु कसले के विषय उठाए ?

बिहीबार, ०६ असार २०८१, १३ : ५०
बिहीबार, ०६ असार २०८१

काठमाडौँ । संसद् सचिवालयका कर्मचारी र दुधको भुक्तानी माग्ने किसानहरूको माग सम्बोधन गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले संसद् सचिवालयका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्नसमेत माग गरेका हुन् । 

 संसद् बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद शान्ति वि.कले संसद् सचिवालयका कर्मचारी ५ दिनदेखि आन्दोलित हुँदा संसद् सञ्चालन प्रक्रिया अवरुद्ध हुँदै आएको बताइन् । उनले कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

उनले सरकारका गृहमन्त्रीले संसदको रोष्टममा उभिएर देशको सूचना चुहाएको भन्दै बोलेको स्मरण गर्दै सूचना चुहाउने व्यक्ति सार्वजनिक गर्न माग गरिन् । 

नेपाली काँग्रेसकी सांसद सरस्वती वजिमायाले सदनमा कर्मचारीहरूको सांकेतिक आन्दोलनरत रहेको भन्दै कर्मचारीहरूको जायज माग सम्बोधन गर्न माग गरिन् । उनले किसानहरूको मुलुकमा केही महत्त्व नभएको हो ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले दुधको भुक्तानी माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने किसानलाई सरकारले दमन गर्नु जायज नभएको बताइन् । 

नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत नेपाल खुला सिमाना भएकाले आपराधिक क्रियाकलाप बढ्दै गएको बताइन् । उनले यस्ता गतिविधि रोक्नको लागि भारतबाट नेपाल प्रवेश गर्दा आधार कार्ड र नेपालबाट भारत जाँदा नागरिकता अनिवार्य गर्न माग गरिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय परिचय पत्रमार्फत सबै काम गर्नेगरी महाअभियानमा लागेको बताए । तर पछिल्लो समय सामाजिक सुरक्षा लगायतमा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने भनेसँगै विभिन्न जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढेको बताए । उनले राष्ट्रिय परिचय पत्र बनाउने पालिका तथा वडाहरूमा व्यवस्थापन गराउन गृह मन्त्रालयसँग माग गरे । 

नेकपा एमालेकी सांसद शान्ति चौधरीले सरकारले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य भनेको बताइन् । उनले सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा वृद्धावृद्धहरुलाई सास्ती भएको भन्दै सहज बनाउन माग गरिन् । 

नेकपा एमालेकी सचेतक सुनिता बरालले देश विकासको लागि कर राजश्वको महत्वपूर्ण भुमिका रहने बताइन् । उनले सरकार र अर्थमन्त्री राजश्व सङ्कलनको लागि बढी चिन्तित भइरहेको अवस्था राजश्व तिर्न समेत सास्ती जनताले भोग्नुपरेको बताइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल वायुसेवा निगमको सुधार सुझाव कार्यदल बनाउँदै प्रतिवेदन सार्वजनिक गरेर मात्रै बुझाएर सुधार नहुने बताइन् । उनले सरकारले २०५८ साल देखि अहिलेसम्म ९ वटा सुझाव कार्यदल बनाएको तर पनि निगम सुधार हुन नसकेको बताइन् । उनले अहिलेसम्म सुझाव कार्यदलले दिएका सुझावहरु सरकारले कार्यान्वय ग¥यो सदनलाई जानकारी दिन आग्रह गरिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजारलाई नियमन गर्ने निकाय धितोपत्र बोर्डलाई सरकारले नै ढिलोपत्र बोर्ड भनेर प्रमाणित गरेको बताए । उनले  गत पुस २१ गतेदेखि बोर्डको अध्यक्ष नभएको माघमा मन्त्रीपरिषद्ले अध्यक्ष बनाउनको लागि सिफारिस समिति बनाएको बताए । उनले गत चैत २५ गते देखि पाकेको खिचडीको अब भाग लगाउने बेला भएको बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष नहुँदा पुँजी बजारलाई प्रत्यक्ष रुपमा असर परेको समेत बताए । 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत फागुन १९ गते नयाँ सरकार गठबन्धनका लागि र दुग्ध किसानको माग पूरा गर्नको लागि भएका सम्झौतामध्ये पहिलो मात्रै पूरा भएको बताए । उनले दोस्रो दुग्ध किसानको भुक्तानी दिने सम्झौता सरकारले कार्यान्वयन नभएकाले प्रधानमन्त्रीले नै गम्भीरतापूर्ण लिएर माग सम्बोधन गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप