प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : प्रस्तावित बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ?

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रतिनिधिसभामा प्रस्तावित बजेट विनियोजनप्रति असन्तुष्टि पोखेका छन् । बिहीबार संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा गैरेले बजेट विनियोजनप्रति असन्तुष्टि पोखेका हुन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रु.तीन करोडभन्दा कम बजेट विनियोजन नहुने यसअघि गरेका घोषणाको उपहास भएको उनले टिप्पणी गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, आर्थिक वर्ष २०८१/८२ बजेट पास गर्ने प्रक्रियामा भएकाले संविधानको मर्म र भावना बमोजिम सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकारले रु तीन करोडभन्दा कम रकम विनियोजन नगर्ने घोषणा गर्नुभएको थियो । तर विनियोजन बजेटमा पाँच लाखदेखि हजारसम्म विनियोजन गरेको पाइन्छ ।
यो बजेट विनियोजनले तपाईँले गर्नुभएको घोषणाको उपहास भएन र ? यस्तो काम गर्ने मन्त्रीहरूलाई पुरस्कृत गर्नुहुन्छ वा के गर्नुहुन्छ ? प्रस्तुत बजेटको समर्थन गर्नुहुन्छ कि विरोध ? अथवा सच्चाउन निर्देशन दिनुहुन्छ ?, प्रधानमन्त्रीमाथि उनले प्रश्ने गरे ।