दृष्टि अपाङ्गताका लागि राज्यले के गर्नुपर्छ ?
कोशी प्रदेशको एउटा सामुदायिक विद्यालयमा कक्षा ९–१२ का लागि प्राविधिक विषयको शिक्षक भएर करिब साढे पाँच वर्ष अध्यापन गराउने अवसर पाएँ । उक्त विद्यालयमा दृष्टिको अपाङ्गता भएका विद्यार्थीका लागि पनि आवासीय रूपमा अध्ययन हुन्थ्यो । कहिलेकाहीँ मात्र भेट हुँदा पनि दृष्टिविहीन विद्यार्थीले हामीलाई आवाज सुन्नेबित्तिकै फलाना शिक्षक भनेर चिन्थे । त्यतिखेर मलाई दृष्टिविहीनको स्मरण क्षमता राम्रो हुँदो रहेछ भन्ने थाहा भयो ।
कुराकानीका क्रममा प्रायः व्यक्तिले उनीहरूलाई तिमीहरूले सपना देख्छौ कि देख्दैनौ भनेर सोध्नु हुँदो रहेछ । कतिपय जन्मँदा नै दृष्टिविहीन हुँदा रहेछन् भने कतिपयले पछि दृष्टि गुमाएका हुँदा रहेछन् । अर्कोतर्फ दृष्टिविहीनजस्तै श्रवण र बोलीसम्बन्धी अपाङ्गता भएका व्यक्तिका बारेमा आममानिसको बुझाइ फरक छ । यसले के देखिन्छ भने अपाङ्गता, यसको विविधता र जटिलताका बारेमा समाजको बुझाइ पुगेको छैन । यस विषयमा सरोकारवालाबिच बहस आवश्यक छ । प्रायः सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सरोकारवालाले छुट्टै किसिमको नभई एकै ठाउँमा राखेर हेर्ने गरेको देखिन्छ ।
यसै क्रममा त्यो विद्यालयमा एकजना दृष्टिविहीन शिक्षक नियुक्ति हुनुभयो । उक्त क्षेत्रमा यस्तो दृष्टिविहीनका लागि कक्षा हुने विद्यालय त्यही मात्र भएकाले विभिन्न सरकारी, अर्धसरकारी र निजी संस्थाबाट सहयोगका कार्यक्रम भइरहन्थे । एकजना अमेरिकामा बस्ने नेपाली दृष्टिविहीन महिला समाजसेवीले कार्यक्रम गरी कम्प्युटर र प्रिन्टर किन्नका लागि सहयोगी हातलाई जुटाउनुभएको थियो । छोटो समयमा चलेको उक्त कार्यक्रममा समेत केही व्यक्ति सहयोग गर्न उत्प्रेरित हुनुभएको थियो । त्यतिखेर सफ्टवेयरमार्फत दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर सिकाउने कुरा थियो । दृष्टिविहीनले कम्प्युटरमा कसरी कामकाज गर्न सक्छन् भन्ने मेरो मनमा जिज्ञासा थियो ?
त्यसको केही समयपछि मैले उक्त विद्यालय छोडी विकास साझेदार संस्थामा काम गर्न थालेँ । त्यहाँ पनि विभिन्न संस्थाले उक्त क्षेत्रमा काम गरेको पाएँ, तर उक्त विकास साझेदार संस्थाले नमुनाका रूपमा गरेको काम पछि सरकारको क्रार्यक्रमका रूपमा नपरेको पनि हुँदो रहेछ । जागिरका सिलसिलामा म गण्डकी प्रदेशमा रहँदा दृष्टिविहीनलाई कम्प्युटर सिकाउँदै गरेका एकजना प्रशिक्षकसँग मेरो भेट भयो । उहाँले एनभीडीए सफ्टवेयरमार्फत दृष्टिविहीनलाई कम्प्युटर सिकाउने कुरा गर्नुभयो । कतिपय दृष्टिविहीनले ४५ दिनमा धेरै कुरा सिक्नुभएको रहेछ । कतिजनालाई केही कुरामा असहजता हुँदो रहेछ । एकै प्रकारका दृष्टिविहीनलाई हामीले एकै रूपमा बुझ्न नहुँदो रहेछ ।
उहाँसँग कुरा भएपछि मेरो मनमा केही जिज्ञासा आए । दृष्टिविहीनले सूचना प्रविधिबाट कसरी आफ्नो दैनिक कार्यालयको कामकाज गर्न सक्छन् ? दृष्टिविहीनलाई सूचना प्रविधिले कुन हदसम्म सहजता प्रदान गर्न सक्छ ? सरकारले के–कस्ता नीति निर्माण गरेको छ ? ती नीति–नियमको के कति मात्रामा कार्यान्वयन भइरहेको छ ? यस विषयमा के कति रूपमा सरोकारवालाले चासो दिएका छन् ?
नेपालमा अपाङ्गतासम्बन्धी ऐन, नीति, नियम, विनियम, निर्देशिका निर्माण भएका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन– २०७४ ले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धी अधिकार उल्लेख गरेको छ । यस्तै अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना– २०६३, अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति– २०८०, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विनियमावली– २०७७, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका– २०६९, अपाङ्गतासम्बन्धी स्रोत पुस्तिका– २०७८ (अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध सेवा–सुविधा, अवसर र कानुनी प्रावधानसम्बन्धी सहजीकरण पुस्तिका) जारी गरिएको छ ।
यतिको संख्यामा नीति–नियम निर्माण भएपश्चात् अपाङ्गता भएका व्यक्ति के कति मात्रामा लाभान्वित भएका छन् त ? खासगरी उनीहरूका लागि आवासीय शिक्षामा राज्यले ध्यान दिनुपर्ने देखिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा प्रविधिमा उनीहरूको पहुँच पुग्नुपर्छ । अपाङ्गता भएका व्यक्तिलाई प्रविधिको प्रयोगमार्फत के कसरी सीप प्रदान गरी रोजगारीमा जोड्न सकिन्छ भन्नेमा राज्यसँग ठोस कार्यक्रम हुनुपर्छ ।
नेपालको संविधानले प्रत्येक नागरिकले समान अवसर प्राप्त गर्नेछन् भनी उल्लेख गरेको छ । नेपालमा श्रवण र दृष्टि अपाङ्गता भएका व्यक्तिप्रति आम सरोकारवालाले ध्यान किन दिनुपर्छ भन्ने विषयमा संवेदनशील हुन आवश्यक छ । श्रवण र दृष्टि अपाङ्गता भएका व्यक्तिले समाजमा समान रूपको अवसर र सहभागिता पाउनुपर्छ । उनीहरूको क्षमता र प्रतिभा प्रस्फुटन गर्न, उनीहरूको अधिकार र पहुँच सुनिश्चित गर्न र समावेशी समाज निर्माण गर्न हामी सबैले जिम्मेवारी लिन आवश्यक छ । यसबाट मात्र आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा सन्तुलित प्रगतिको आधारशिला तयार हुन्छ । श्रवण र दृष्टि अपाङ्गता भएका व्यक्तिहरूप्रति आम नागरिकको संवेदनशीलता र सहयोगले नेपाललाई समृद्ध र न्यायपूर्ण समाजमा रूपान्तरण गर्न मद्दत पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल