बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
बेथिति

बजेट दुरुपयोग : तटबन्ध निर्माण योजनामा कुलो सफाइ गरेर भुक्तानी !

सिँचाइ डिभिजन प्रमुखविरुद्ध अख्तियारमा उजुरी
बिहीबार, ०६ असार २०८१, ११ : २१
बिहीबार, ०६ असार २०८१

बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा तटबन्ध निर्माण योजनामा अनियमितता भएको सरोकारवालाले बताएका छन् । 

जीतपुर सिमरा–४ स्थित सङ्घीय र मधेस प्रदेश सरकारको खोला तटबन्ध शीर्षकको योजनामा कुलो सफाइ गरेर भुक्तानी लिएको सरोकारवालाहरूले बताएका हुन् ।  

सङ्घीय सरकारको २५ लाख र प्रदेश सरकारको २० लाख गरी कुल ४५ लाख बजेटबाट बाहुनी खोला तटबन्ध निर्माण शीर्षकको योजनामा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गुपचुप रूपमा कुलो मात्र सफाइ गरेर भुक्तानी दिन भूमिका खेलेको जीतपुर सिमरा उपमहानगर वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्रीले बताए । 

 खोलामा तटबन्ध शीर्षकमा प्रदेश र सङ्घ सरकारद्वारा विनियोजन भएको ४५ लाख बजेटबाट एक दिन डोजर चलाउँदै कुलो सफा गरेर भुक्तानी बुझेको उनको भनाइ छ । 

 यो कार्यका लागि डिभिजन कार्यालयले उपभोक्ता समिति गठन गरेर आफू अनुकूलको ठेकेदारमार्फत काम गराएको उनको आरोप छ । 

बाहुनी खोला तटबन्ध निर्माणको लागि चालु आर्थिक वर्षको असोज  १२ गते उपभोक्ता समिति गठन भएर असोज २५ गते उपभोक्ता समिति र  डिभिजन कार्यालयबिच सम्झौता भएको थियो । 

सो योजनामा जेठ दोस्रो साता काम सम्पन्न गरेर भुक्तानी समेत भइसकेको जनाइएको छ । 

बाहुनी कुलोका अध्यक्ष सहदेव चौधरीले सिँचाइ कार्यालयका प्रमुखले नै खटाएको ठेकेदार मार्फत डोजर लगाएर कुलो सफा गरेको स्वीकार गरे । उनले भने, ‘बजेट यति हो, उत्ति हो भन्ने मलाई थाहा छैन । बजेट हिनामिना गर्‍यो कि सदुपयोग गर्‍यो त्यो पनि थाहा छैन । हामीलाई काम चाहिएको हो काम गरायौँ त्यति हो । हाम्रो रोहवरमा ३ वटा कुलो सफाइ भएको छ ।’ 

k2 (1)

खोला तटबन्ध निर्माणका लागि भने गोविन्द प्रसाद आचार्यको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन भएको थियो । जसमा  सचिवमा जानुका कुमारी सुवेदी, कोषाध्यक्षमा द्रोपती देवी चौधरी र सदस्यहरूमा  टिका निधी, मेघराज आचार्य र कमला देवी शर्मा आचार्य रहेका छन् । 

उपभोक्ता समितिका अध्यक्ष गोविन्द आचार्यले बजेट अनुसार पुरानो कुलो सफा गर्ने, नयाँ कुलो निर्माण गर्ने काम भएका बताए ।  उनले ठाउँ ठाउँमा माटोको तटबन्ध समेत गरिए पनि पछि भत्किएको बताए । 

यता वडाध्यक्ष खत्रीले जेसीबी लगाएर भटाभट बाहुनी खोलाको माथिल्लो भाग र तल्लो कुलो सफा गरेको देखेपछि आफूले पैसा कहाँबाट आयो भनेर सोध्दा स्पष्ट जवाफ नआएको बताए । खत्रीले भने ‘२/३ घन्टा भित्र कुलो सफा गरेर ४५ लाख सकेछन् । काम सम्पन्न भएपछि वडामा भुक्तानीको चिठी लिन पनि आएनन् ।’ 

आर्थिक वर्षको अन्ततिर फिल्डमा कामै नगरी भागबन्डामा बजेट सक्ने उद्देश्यले प्रदेश र सङ्घको बजेटबाट स्थानीय तहलाई जानकारी समेत नगराई भुक्तानी भइसकेको वडाध्यक्ष खत्रीको भनाइ छ ।

डिभिजन कार्यालय कलैयाका प्रमुख रामकुमार कर्णले सो योजनामा माटोको तटबन्ध निर्माण गरिएको तर्क गरे ।   ‘तटबन्ध भनेको इँटा, ढुङ्गाको पनि हुन्छ माटोको पनि हुन्छ । खोलाको पानी किसानको खेतसम्म पुर्‍याउन हामीले माटोको तटबन्ध निर्माण गरेका थियौँ । पछि त्यो भत्कियो’, कर्णले भने, ‘हामीले किसानको हितमा काम गर्ने हो, काम जति पनि भएको छ । यसमा जनताको कुनै सिकायत छैन ।’

कर्णले करिब २५/२६ दिन लगाएर काम गरेको दावी गरेका छन् । उनलाई खोला तटबन्ध निर्माण शीर्षकको बजेटमा कुलो सफाइ गरेर के आधारमा भुक्तानी गर्नुभयो भन्ने जिज्ञासामा माटोको तटबन्ध निर्माण गरिएको र एउटा कल्भर्ड समेत बनाएको दाबी गरे । 

तर, जीतपुर सिमरा वडा नं ४ का स्थानीयहरूले भने ठुलो रकमबाट झारा टार्ने मात्रै काम भएको बताएका छन् ।  शीर्षक अनुसार काम नभएको र बजेट दुरुपयोग भएको भन्दै उनीहरूले उपभोक्ता समिति र सिँचाइ डिभिजन कार्यालयका प्रमुख कर्णविरुद्ध अख्तियारमा उजुरी दिएका छन् । 

अख्तियारले यसबारे अनुसन्धान प्रक्रिया सुरु गरेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप