आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विकृति–विसङ्गति विरुद्धको अभियान मैले सुरु गरेको हो : बद्री पंगेनी

‘नेपाली गीत–सङ्गीतको अवस्था सुखद् भने छैन’
बिहीबार, ०६ असार २०८१, १० : १३
बिहीबार, ०६ असार २०८१

काठमाडाैँ । बद्री पंगेनी चर्चित लोक तथा दोहोरी गायक हुन् । दोहोरी साँझ हुँदै गायनमा भित्रिएका उनका ‘पीएन क्याम्पस’, ‘ब्युटी नं वान’, ‘ससुरालीमा’ लगायत थुप्रै गीत हिट छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका उनी पछिल्लो समय नयाँ गीत–सङ्गीत बनाउन र स्टेज कार्यक्रमहरूमा ब्यस्त छन् ।

उनी अध्यक्ष रहिसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अहिले लोक तथा दोहोरी गीत–सङ्गीतमा भित्रिएको विकृति, विसङ्गतिको विरुद्ध लागेको छ । जस अनुसार केहीलाई कारबाहीसमेत गरिएको छ । कारबाहीमा परेकामध्ये केहीले आफूहरूले पंगेनी लगायत केही अग्रजबाट सिकेको बताएका छन् । यस विषयमा गायक बद्री पंगेनीसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ ।

लोक तथा दोहोरी गीत–सङ्गीतमा विकृति देखिएकै हो त ?

हो । यो अहिलेमात्र देखिएको होइन, म अध्यक्ष भएको समयमा पनि देखिएको थियो । यो विकृति–विसङ्गति न्यूनीकरणको थालनी मैले गरेको थिएँ । त्यो समय गठन भएको विभागले अहिले पनि निरन्तरता पाइरहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी गीत–सङ्गीतमा देखिएको विकृति–विसङ्गति विरुद्ध चालेको अभियानलाई कसरी हेर्नु भएको छ ?

प्रतिष्ठानले चालेको कदम राम्रो छ । लोक तथा दोहोरी गीत–सङ्गीतमा देखिएको विकृति–विसङ्गति विरुद्ध संस्थाले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । आफ्नो मातहतमा रहेकालाई सचेत गराउनुपर्छ । यो संस्थाको अधिकारको कुरो हो । संस्थाभन्दा बाहिरका मानिसलाई अनुरोध गर्ने हो ।

प्रतिष्ठानको कदमको विपक्षमा पनि मानिस देखिएका छन् नि ?

समाज अहिले विभाजित भइसकेको छ । हरेक कुरोमा पक्ष र विपक्ष देखिन थालेका छन् । राम्रो कुरोमा पनि कमजोरी देखाउने बढी छन् । बहसका लागि बहस गर्ने र कुतर्क गर्ने धेरै छन् । सबैसँग तर्क गरेर सकिन्न । संस्थाले राम्रोका लागि काम गर्ने हो । बोल्ने बोलिरहेका छन् । कराउने कराउदै गर्छन् । कसैले ‘फलानो नाङ्गै हिँड्यो, म हिँड्न नपाउने ?’ भन्छ भने त्यो उसको कुरो ।

कतिले तपाईंजस्ता अग्रजले विकृति–विसङ्गति सिकाएको आरोप लगाएका छन् नि ?

त्यो उहाँहरूको बुझाइको कुरो हो । अग्रजबाट कस्तो कुरो सिक्नुपर्ने हो, के सिक्नुभयो, के गर्नुभयो । त्यो उहाँले मनन् गर्ने कुरो हो । दर्शकले बुझ्ने कुरा हो ।

अहिले केही कलाकार एक खालको गीत–सङ्गीतबाट राम्रो आम्दानी गरिरहेका छन् । केही त्यसैलाई विकृति–विसङ्गति भनिरहेका छन् । लोकदोहोरी हुनुपर्ने कस्तो हो ?

समयसँगै केही कुरो परिवर्नत हुन्छ नै । मेरो दिदीले मेरो बुबालाई बा भन्नुहुन्थ्यो । मैले बुबा भनेँ । मेरो छोरीले मलाई बाबा भन्छिन् । छोरीको बच्चाबच्चीले ड्याडी भन्लान् । समय अनुसार धेरै कुरो रोक्न नसक्ने गरेर परिवर्तन भइरहेको हुन्छ । तर त्यसो भन्दैमा जे पनि गर्न पाइने भन्ने हुन्न । कुन हदसम्म गर्ने भन्ने हो । लोकगीत सारङ्गी, मादल र बाँसुरी बजाउँदामात्र राम्रो हुन्थ्यो । अहिले समयले भित्र्याएको केही बाजा गितार, अक्टोप्याड लगायत हामीले प्रयोग गर्न थालेका छौँ । त्यसकारण समयसँगै भएका केही परिवर्तनको प्रभाव गीत–सङ्गीतमा पर्नु स्वाभाविक हो । तर स्वयं कलाकारले मैले कतिसम्म गर्ने, कस्तो बनाउने भनेर बुझ्नु जरुरी छ ।

अहिले बजारका गीत–सङ्गीत हेर्ने हो भने सेन्सरको आवश्यकता महसुस हुन्छ । तपाईं यसमा के भन्नुहुन्छ ?

कतिपयले सेन्सर आवश्यक छ भनेका पनि छन् । कतिले आवश्यक छैन भन्छन् । यसमा पनि दुईमत छ । गीतको कुनै सीमा हुँदैन । जस्तो पनि गाउन पाउनुपर्छ भन्नेहरू पनि नभएको होइन । यो विषयमा कसैको एकमत छैन । यसमा राज्यले नीति बनाएर नेपाली गीत–सङ्गीतलाई कता लैजाने भनेर बाटो देखाउने हो । गीत–सङ्गीतको मौलिकता जोगाउने हो कि होइन, समय अनुसार परिवर्तन गर्ने हो कि । राज्यमा निर्भर हुने कुरो हो । मैले भनेर केही हुँदैन ।

गीत–सङ्गीतको बजार खस्किएको चर्चा चल्ने गरेको छ, के साँच्चै बजार खस्किएको हो ?

अलिअलि मात्र होइन, धेरै खस्किएको छ । अहिले युट्यबमा पनि पहिलेजस्तो भ्युज छैन । टिकटक पनि बन्द भयो । अर्काे कुरो, अहिले कलाकार पनि धेरै भए । जन्मदै कलाकार भए । नमर्दासम्म कलाकार नै । धेरै कलाकारबिच प्रतिस्पर्धा अस्वस्थ भयो । त्यसैले अहिले नेपाली गीत–सङ्गीतको अवस्था सुखद् भने छैन ।

अचेल सबै कलाकारको आफ्नै युट्युब च्यानल छ । त्यसले बिगारेको हो कि ?

त्यसो भन्न मिल्दैन । सबैको युट्युब च्यानल हुनु भनेको पछिल्लो समय भित्रिएको डिजिटल प्रविधिसँग हिँड्न सिकेको हो । अझै प्रविधिसँग हिँड्न सकेको छैन । डिजिटल मार्केटलाई एउटा आम्दानीको दायरामा ल्याउन सकेका छैनौँ । कमर्सियल बनाउन सकिरहेका छैनौँ ।

गीत–सङ्गीतमा गीतकारले लगानी नगरे बन्द हुन्छ भन्छन् त ?

त्यो सही कुरा हो । अहिले धेरै गीत–सङ्गीतमा गीतकारका लगानी छन् । पछिल्लो समय सबै कलाकारले पनि लगानी गरिरहेका छन् । पहिलापहिला म्युजिक नेपाल, विन्दवासिनी, धौलागिरी, पशुपति म्युजिक जस्ता कम्पनीले लगानी गर्थे । अहिले त्यो छैन ।

नेपाली गीत–सङ्गीत अझै किन अन्तर्राष्ट्रिय बजारमा जम्न सकेन ?

चलचित्र त पुगेको छैन । गीत–सङ्गीतको के कुरो ? अन्तर्राष्ट्रिय बजारमा गीत–सङ्गीत, चलचित्र, संस्कृति, हाम्रो परिकार पु¥याउनुपर्ने हो । हाम्रो राज्य निरीह छ । जनताको के खाने, के लगाउने, जनता कहाँ बस्ने, केही टुङ्गो छैन । जुन राज्यमा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाजस्ता सामान्य आधारभूत कुरा जनताले पाउन सकेको छैन, त्यो राज्यले नेपाली कलासंस्कृति, खेलकुदका लागि के गर्छ होला र ?

पछिल्लो समय तपाईं सेलाएको जस्तो देखियो नि ?

हैन, बेलाबेलामा गीत–सङ्गीत ल्याइरहेको छु । साङ्गीतिक कार्यक्रमहरूमा पनि ब्यस्त छु । केही गीत रेकर्ड गरिरहेको छु । ती आएपछि फेरि साङ्गीतिक क्षेत्र तात्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप