पुस्तकको पुनर्प्रयोगको नीति ल्याउँदै शिक्षा मन्त्रालय
काठमाडौँ । सरकारले नयाँ पाठ्यपुस्तकका लागि हरेक वर्ष साढे तीन अर्बभन्दा बढी रकम खर्च गर्दै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीका लागि सरकारले निःशुल्क रूपमा पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्षमा मात्रै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीका लागि दुई करोड थान पाठ्यपुस्तक खरिद गरिएको थियो । जसका लागि तीन अर्ब ८४ करोड रुपैयाँ खर्च भएको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
हरेक वर्ष ठुलो सङ्ख्यामा बजेट पाठ्यपुस्तक खरिदका लागि खर्च हुँदै आएको छ । शिक्षा मन्त्रालयले उक्त खर्च जोगाउन पाठ्यपुस्तकको पुनर्प्रयोगको योजना अघि सारेको छ । त्यसका लागि शिक्षामन्त्री सुमना श्रेष्ठ नीतिगत व्यवस्था गरेर अघि बढ्न खोजिरहेकी छन् ।
शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयार पार्छ । त्यही पाठ्यपुस्तक छाप्नका लागि कक्षा (१–४) सम्म निजी मुद्रक र बाँकी (५–१२) जनक शिक्षा सामाग्री केन्द्रलाई दिइन्छ । त्यसपछि जनक शिक्षाले पुस्तक छापेर प्रादेशिक डिपोमा र प्रादेशिक डिपोले जिल्लागत स्थानीय विक्रेताकहाँ पठाउँछ । विद्यालयले स्थानीय विक्रेताबाट खरिद गरी विद्यार्थीलाई पुस्तक दिने गरेका छन् ।
यसक्रममा प्रदेश सरकारले वितरणको अनुगमन गर्ने भूमिका निर्वाह गर्ने गरेको छ भने पुस्तक छाप्ने पैसा चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी सङ्ख्याका आधारमा स्थानीय तहमा एकमुष्ट बजेट दिन्छ । त्यसअनुसार पालिकाले विद्यालयलाई रकम निकासा गर्दै आएको छ । यसरी राज्यका विभिन्न निकायको समय र ठुलो स्रोत पुस्तक छाप्न र वितरण गर्न लाग्ने गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
औसतमा हिसाब गर्दा कक्षा १ देखि १२ सम्म कूल पुस्तक छपाइ तथा वितरणमा वार्षिक तीन अर्ब ८४ करोड रुपैयाँ खर्च हुने गरेको शिक्षा मन्त्रालयको हिसाब निकालेको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थीले पुस्तक जतन गरेर राखेर अर्को वर्षका विद्यार्थीलाई दिएको खण्डमा तीन अर्ब ८४ करोड रुपैयाँ बचत हुने बताइन । सोही आधारमा मन्त्री श्रेष्ठले पाठ्यपुस्तकको पुनर्प्रयोग अभियान सञ्चालन गर्न लागिएको बताइन् ।
मन्त्री श्रेष्ठले कक्षा ८ को मात्रै पुस्तक एक वर्षमा पुनः प्रयोग गर्ने हो भने त्यो बचतले के गर्न सकिएला भनेर हिसाब निकालेकी छन् । जसमा
- ६३ वटा विद्यालय भवन बनाउन सकिन्छ ।
- प्रति विद्यार्थी २० रुपैयाँका दरले खाजा दिने हो भने पनि थप एक लाख ३६ हजार ६१३ जना थप विद्यार्थीले खाजा खान पाउँछन् ।
- ४५५ स्कुलमा शौचालय बनाउन सकिन्छ ।
- २१० विद्यालयलाई नमुना विद्यालय बनाउन लगानी गर्न सकिन्छ ।
त्यसैले पुस्तकको पुनः प्रयोग गर्नु अति नै जरुरी रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले २०८१ वैशाख ३० गते काठमाडौँको बालाजुस्थित तरुण माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थीहरूसँग अन्तरक्रिया गरेकी थिइन् । उनले कक्षाकोठामा विद्यार्थीहरूसँग पुस्तक पुनर्प्रयोग लगायतका विषयमा कुराकानी गरेकी थिइन् ।
पुस्तक पुनः प्रयोग गर्ने नीति कार्यान्वयन गर्न सके त्यसबाट बचेको रकम विद्यालयले दिवा खाजालगायत विद्यार्थीकै हितमा प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।
तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले पुरानो पाठ्यपुस्तक प्रयोग गर्न सकियो भने राम्रै हुने बताए । शिक्षामन्त्रीले छलफल गरेपछि आफूहरूले समेत विद्यार्थीलाई किताब जतन गरेर राख्न भन्दै आएको उनको भनाइ छ ।
अहिले पनि कतिपय विद्यार्थीहरूले पुरानै पुस्तकहरू प्रयोग गर्ने गरेको बताउँदै उनले भने, ‘सरकारले नयाँ किताब दिनैपर्ने भनेकाले हामीले नयाँ किताब पनि दिन्छौं । विद्यार्थीहरूले पुरानो किताब पनि लिएका हुन्छन् ।’
लगभग २ हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा विद्यार्थीलाई किताब सुरक्षित राख्ने, जथाभाबी केरमेट नगर्ने, किताबमा कभर हालेर राख्नुपर्ने जस्तो विषयमा शिक्षकहरूले जानकारी गराउने गरेका छन् ।
विद्यार्थीहरूको मनोभावमा समेत त्यस्तो नयाँ र पुरानो किताबप्रति खासै फरकपन नपाएको प्रधानाध्यापक न्यौपानेले बताए ।
तथ्याङ्क हेर्दा यस्तो देखिन्छ पाठ्यपुस्तकमा बजेट :
तथ्याङ्क स्रोत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालय ।
अहिले शिक्षा मन्त्रालयले पाठ्यपुस्तकको पुनः प्रयोगको नीति बनाउने विषयमा छलफल अघि बढाएको छ । यो विषयमा जनस्तरमा नै छलफल अघि बढेको शिक्षामन्त्री श्रेष्ठले बताइन ।
आफ्नो कार्यकाल १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले पुस्तकको पुनर्प्रयोग गर्ने हो भने त्यसले ठुलो रकम बचाउन सकिने बताइन । त्यो रकम विद्यालय शिक्षामा नै प्रयोग गर्न सकिने उनको भनाइ छ ।
यो विषयमा शिक्षा मन्त्रालयत मातहतका निकायले समेत अध्ययन थालेको छ । पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले पाठ्यपुस्तकको पुनर्प्रयोग गर्नु एकदमै राम्रो भएको बताए । देशको वर्तमान परिस्थितिले गर्दासमेत पाठ्यपुस्तकको पुनर्प्रयोग अत्यन्तै राम्रो भएको बताए ।
किताबको पुनर्प्रयोग गर्न सकियो भने सधैँ नयाँ पाठ्यपुस्तक छापिरहनु नपर्ने उनको भनाइ छ । ‘त्यसका लागि पुनर्प्रयोग योग्य बनाउनुपर्छ । अगाडिका पाना सबै गायब हुने, च्यातिएको हुने, बिचका पाना नै नहुने हुनुहुँदैन । ‘डग इएर’ भन्छन्, कुकुरको कान बाङ्गिएको जस्तो पानाहरू बाङ्गिएको हुनुभएन । गाताहरू हालेर राम्रो अवस्थामा रहेका पाठ्यपुस्तक पुनर्प्रयोग गर्नु राम्रो कुरा हो,’ ढुङ्गेलले भने ।
उनले शिक्षा मन्त्रालयको प्रणालीमा हुँदासमेत पुस्तकको पुनर्प्रयोगका लागि विभिन्न प्रयास गरेका थिए । पुनर्प्रयोगका लागि किताबको गुणस्तरसमेत राम्रो हुनुपर्ने उनको भनाइ छ । ‘राम्रो गुणस्तरको कागज हुनुपर्छ । अहिले ७० ग्रामको कागज चलेको छ । ८० ग्रामको बनाउन सकियो भने राम्रो हुन्छ । राम्रो गाता भएको, राम्रो झोलाको व्यवस्था गर्न सके झनै राम्रो हुन्छ,’ उनले भने ।
पुराना किताबले बालबालिकाहरूको मनोविज्ञानमा असर पर्छ कि भनेर सोच्न नहुने उनको भनाइ छ । सरकारले निःशुल्क रूपमा पाठ्यपुस्तक वितरण गर्नुअघि विद्यार्थीहरूले पुरानै किताब पढ्न पाएपनि भाग्यमानी सम्झिने अवस्था थियो । त्यो बेला आफ्ना अग्रज तथा दाइदिदीले पढेका किताब नै पढ्ने चलन थियो । तर, सरकारले निःशुल्क किताब वितरण गर्न थालेदेखि किताबको सुरक्षामा कमी देखिएको उनको भनाइ छ ।
किताबको सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन सकियो भने राम्रो हुने उनले बताए । त्यसका लागि स–साना बालबालिकालाई घर लैजान नदिएर विद्यालयमै राख्न सकियो भने पनि सुरक्षित हुन उनको भनाइ छ ।
‘माथिल्लो कक्षाका विद्यार्थीहरूको हकमा सुरक्षित राखिहाल्छन् । तल्लो तहका स–साना नानीबाबुहरूले किताबको जतन गर्न सक्दैनन् । यसमा विद्यालयमै किताब राख्ने र उनीहरूलाई होमवर्क दिने हो भने पनि किताब सुरक्षित राख्न सकिन्छ,’ ढुङ्गेलले भने ।