शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

बुटवलको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

बुधबार, ०५ असार २०८१, २१ : १७
बुधबार, ०५ असार २०८१

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।  

नगर सभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले आव नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक सहरका रूपमा स्थापित गर्ने र पर्यटकीय विश्राम स्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको बताए ।

नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रूपमा अगाडि सारेको छ ।

उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहर लाई जीवन्त बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्ने बुटवलमा मूल रणनीति हुन् ।

बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरूको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरूलाई समान तहको स्तरमा पुर्याउन अन्तर विद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबिच नियमित छलफल सञ्चालन गर्ने नीतिअगाडि सारेको छ ।

यसैगरी प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकलइस्टिच्युट आर्थिक सङ्कटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दा मापारामेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीतिअगाडि सारेको प्रमुख पाण्डेयले बताए ।

विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरूले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ ।

स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सने तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरू सञ्चालन गर्ने नीतिअगाडि सारेको छ ।

बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७हजार, एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्च बापत् २ हजार रुपैयाँ दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत्, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क बाइफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधा सम्पन्न बसपार्क बनाउने नीति बुटवलले लिएको छ ।

मुख्य राजमार्ग क्षेत्र र चोकहरूमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्थापन गरी आवश्यकताअनुसार पार्किङ क्षेत्रहरू तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायहरूलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि स्पेशलटास्क फोर्स सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ ।

आधुनिक पशु वधशालाको मासु उपभोग तथा बिक्री गर्ने मासु पसल, होटेल, रेस्टुरेन्ट र अन्य व्यवसायलाई प्रोत्साहनको नीति लिने र पशु बधशाला भन्दा बाहिर खसी बोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, विद्यालय स्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रमलाई नगरकै प्रमुख खेलका रुपमा सञ्चालन गर्ने र प्रशिक्षक, रेफ्री, अम्पायर उत्पादनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रमुख पाण्डेयले बताए ।

बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौँ बुटवल’अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने नीतिअगाडि सारिएको छ ।

बुटवलले सहकारी संस्थाहरूको एकीकृत लगानीमा सस्तो पसल, कृषि उत्पादन बिक्री केन्द्र, कोसेली घर, स्थानीय तथा रैथाने सामग्री बिक्री केन्द्र, स्वच्छ मासु बिक्री केन्द्र र शीत भण्डार गृहहरू सञ्चालनका लागि प्रोत्साहन गर्ने नीतिअगाडि सारेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप