बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मनहरीको नीति कार्यक्रम : बालीको न्यूनतम मूल्य तोक्ने

नदीजन्य पदार्थको उपयोग नियन्त्रण चुनौती
बुधबार, ०५ असार २०८१, २० : ३१
बुधबार, ०५ असार २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार बसेको गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पछाडि रहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत शिक्षाको अवस्था सुधार गर्न विशेष जोड दिइएको छ । आर्थिक अभावको कारण विद्यालय जानबाट वञ्चित बालबालिका तथा श्रोत अभावको कारण शिक्षक व्यवस्थापन गर्न नसकेका विद्यालयलाई छात्रवृत्ति र अनुदानको व्यवस्था गरिएको छ ।

किसानलाई आवश्यक यन्त्र उपकरण रोजेर किन्न पाउने, प्लास्टिक टनेल अनुदान, उत्पादित तरकारी तथा फलफूल भण्डारणका लागि शीत भण्डार निर्माण, पशुपालन प्रवर्द्धन गर्न पशु बिमा अनुदान र दुग्ध उत्पादनमा सहयोग र कृत्रिम गर्भाधान सेवाको प्रयास गरिएको छ ।

नदीजन्य पदार्थको उपयोग नियन्त्रण चुनौती

स्थानीय आर्थिक श्रोतको रूपमा रहेको नदीजन्य पदार्थको उपयोगमा नियन्त्रण हुनु मनहरीको मुख्य चुनौती हो । नदी उकास जमिनहरू बाँझो रहनु र यातायातको सहज पहुँच नहुँदा विकासमा मनहरी पछि परेको गाउँपालिकाले जनाएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्र प्राकृतिक तथा पर्यावरणीयका दृष्टिले महत्त्वपूर्ण रहँदासमेत विद्यमान कानुनी अस्पटताका कारण समस्या भइरहेको छ । वन ऐन अनुकूल नबन्दा जल, जमिन र जङ्गलमाथिको अधिकारबाट स्थानीय बासिन्दा लाभान्वित हुनबाट वञ्चित रहेका छन् । निकुञ्जबाट बस्तीमा भित्रने जङ्गली जनावर र मानव बिचको द्वन्द्व बढ्दो रहेको छ । खहरेबाट हुने जमिनको कटानले मनहरीमा अर्को चुनौती थपिदिएको छ ।

गरिबीको दर २५.६१ प्रतिशत

मनहरीमा सुगम भौगोलिक पहुँचको अवसर सदुपयोग गर्दै आर्थिक विकासको माध्यमबाट गरिबीको दर घटाउने प्रबल सम्भावना रहेको छ । गरिबी निवारण र भोकमरी अन्त्य गर्न प्रचुर सम्भावना रहेको मनहरीमा  राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार निरपेक्ष गरिबीको दर २५.६१ प्रतिशत हुनु रहेको छ ।

मनहरीमा ज्याला मजदुरी गरेर जीविका चलाउने परिवार ३६.२४ प्रतिशत रहेका छन् भने गैर कृषि पेसा (उद्यम व्यापार र नोकरी) मा १२.४ प्रतिशत हरको छन् । मनहरीमा साक्षरता दर ७७.७ प्रतिशत, सिपयुक्त दक्ष जनशक्ति २८८ जना रहेका छन् । मनहरीका ६६.९ प्रतिशत घरपरिवारमा खानेपानीको पहुँच पुगेको छ भने ६.२८ प्रतिशत घरपरिवारले मात्र शौचालय प्रयोग गर्ने गरेका छन् ।

चालु वर्षको प्रगति

मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षको यस अवधिसम्म पूर्वाधार विकासका क्षेत्रमा कालोपत्रे सडक २ हजार १५७ मिटर, ११ हजार ८५५ मिटर सडक स्लाब ढलान गरिएको छ भने ग्राभेल बाटो निर्माण ६ हजार ९७२ मिटर, नयाँ ट्रयाक निर्माण २४ हजार मिटर गरिएको छ ।

नदी कटान नियन्त्रण गर्न २ हजार ४८६ मिटर (बाटो सहित)को ग्याविन ड्याम निर्माण गरिएको छ । मनहरीमा ६ वटा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएको छ भने मनहरी अस्पताल भवन निर्माण कार्य २१ प्रतिशत कार्य प्रगति भएको छ । निर्माणाधीन ५ वटा पक्की पुल मध्ये ३ वटा सम्पन्न सम्पन्न भएको छ भने अन्य २ निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ । लोपोन्मुख वनकरीया समुदायको आयआर्जनमा सघाउन पालिकाले पाडी वितरण गरेको छ ।

बालीको न्यूनतम मूल्य तोक्ने

मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो क्षेत्रमा उत्पादन हुने मुख्य बालीको न्यूनतम मूल्य तोक्ने भएको छ । माटो परीक्षण प्रयोगशाला स्थापना गरी निःशुल्क माटो परीक्षणको व्यवस्था गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ ।

पकेट क्षेत्र, सामूहिक, करार खेती, चक्लाबन्दी खेती प्रणालीलाई प्रोत्साहन गरिने छ । सरकारी निजी साझेदारीमा एक कृषि पर्यटन गाउँ स्थापना गर्ने, स्थानीय कच्चा पदार्थको प्रयोग गरी दुना टपरी झोला बनाउने तालिम सञ्चालन गर्ने, कोसेली घर निर्माण गरी सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको छ ।

रमौली प्रतापपुर क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन जिप हात्ती सफारी सञ्चालनको लागि निकुञ्ज क्षेत्रभित्रको बाटो स्तरीकरण गर्न वन मन्त्रालय, निकुञ्जसँग समन्वय गर्ने, होमस्टे पर्यटक प्रणालीको प्रवर्द्धन गर्न रैथाने बालीको उत्पादन, स्थानीय परिकारको खोज तथा प्रबन्ध गर्ने गाउँपालिकाको योजना रहेको छ ।

विस्तृत परियोजना प्रतिवेदन तयार भएका देउकोट भ्युटावर, गोगनपानी भ्युटावर, भिमान शहीदपार्क, वनकरिया होमस्टे, ट्री-हाउस लगायतका पूर्वाधार निर्माण कार्यमा पहल गर्ने, जङ्गली जीवजन्तु अवलोकन गर्न वडा नम्बर ५ को शिखरबास पिकनिक स्थललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, निकुञ्ज भित्रको पर्यापर्यटन, कृषि, बन तथा समुदायमा आधारित पर्यटन प्रवर्द्धनका लागि मनहरी पर्यटन विकास समिति बनाई एकीकृत पर्यटन विकास तथा प्रवर्द्धन समिति गठन र परिचालन गर्ने तयारी रहेको छ ।

गाउँपालिकाको गौरवका आयोजनाको रूपमा रहेको रजैया लामीटार चकरी मकरी सडक अन्तर्गत पर्ने ५ वटा पक्की पुलहरू सञ्चालनमा ल्याउने, निर्माणाधीन बस्तीपुर भुन्द्रुङ, रजैया–दरदरा पुल सम्पन्न गर्ने, क्रमगत रूपमा सञ्चालन भइरहेका लामिटार–चकरी, लोथर–हांगला–फरिवाङ, मनहरी–रुपाचुरी, तिन भंगाले बालुभञ्ज्याङ हुदै राक्सीराङ, वनकरीया बस्ती ट्वाग्रा देखि ज्यामिरेदोभान सडक लगायतका आयोजनाहरूलाई संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको छ ।

मनहरी गाउँपालिकाको आवधिक योजना तयार गरि मध्यकालीन खर्च संरचना, योजना बैंक लगायत तरीकाबाट आयोजना सञ्चालन हुन सक्ने प्रणालीको विकास गर्ने नीति रहेको छ ।

बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई संघीय तलबको अतिरिक्त थप ९ हजार रुपैयाँ तलब दिने, प्रथम चौमासिक अवधिभित्र प्रतिस्पर्धात्मक विधिद्वारा प्रधानाध्यापकहरू छनोट तथा नियुक्ति गर्ने,  विद्यालयहरूको सुपरिवेक्षणका लागि सिसिटिभी क्यामरा र ई-हाजिरी जडान गर्ने, प्राथमिकताको आधारमा विद्यालय बसको प्रबन्ध गर्ने, दरबन्दी अपुग भएका विद्यालयहरूलाई शिक्षक व्यवस्थापन अनुदान प्रदान गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ ।

पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराउने, रुपाचुरी बालभञ्ज्याङ क्षेत्रमा वर्थिङ सेवा सुरु गर्ने, पूर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितता तथा सबै बालबालिकालाई खोपको पहुँचमा पुर्‍याउन गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई प्रभावकारी बनाउने, गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्स-रे सेवा सबै स्वास्थ्य संस्थाबाट सेवा सञ्चालन गर्ने, मनहरी ९ मा स्थापित नागरिक आरोग्य केन्द्रलाई व्यवस्थित गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप