शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले जिल्ला अधिवेशन

६६ जिल्लामा एमालेको नयाँ नेतृत्व, को–को आए पदाधिकारी ? (सूचीसहित)

बुधबार, ०५ असार २०८१, १७ : ४२
बुधबार, ०५ असार २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ पदाधिकारी छनोट गरेको हो । जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ ।

सम्पन्न जिल्ला अधिवेशनबाट कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा नयाँ नेतृत्वसहितको जिल्ला कमिटी चयन गरेको छ ।

त्यसैगरी मधेस प्रदेशमा आठमध्ये पाँच जिल्लाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदा बागमतीका १३ वटै जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ । बागमतीका १३ मध्ये ६ जिल्लाका अध्यक्ष दोहोरिँदा उपत्यकाका तीन वटै जिल्लाका अध्यक्ष दोहोरिएका छन् ।

गण्डकीका ११ मध्ये १० जिल्लाको अधिवेशन सकिएको छ । गण्डकीका दुई जिल्लाका अध्यक्ष दोहोरिएका छन् भने पाँच जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको एमालेले जनाएको छ । कर्णालीका १० मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्दा सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाकोमात्र अधिवेशन सम्पन्न भएको छ ।

यी हुन् दोहोरिएका जिल्ला अध्यक्ष

सोलुखुम्बुमा डुफकुमार बास्तोला जिल्ला अध्यक्षमा दोहोरिएका छन् भने काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा पुरानै अध्यक्ष दोहोरिएका छन् । ललितपुरबाट पुरुषोत्तम आचार्य, भक्तपुरबाट बचन देउजा र काठमाडौँबाट दीपक निरौला अध्यक्ष बनेका छन् ।

धादिङबाट अध्यक्ष बनेका भूमि त्रिपाठी, नुवाकोटबाट अध्यक्ष बनेका बद्री मैनाली र दोलखाबाट अध्यक्ष बनेका नरबहादुर श्रेष्ठ पनि दोहोरिएका छन् ।

त्यस्तै बागलुङबाट हिरा केसी र स्याङ्जाबाट सूर्यप्रसाद गैरे अध्यक्षमा दोहोरिएका छन् ।

अर्घाखाँचीमा पीताम्बर भुसाल, प्युठान विजयराज विष्ट, गुल्मी वालसिंह काउछा र नवलपरासीमा दिपेन्द्र अधिकारी अध्यक्षमा दोहोरिएका छन् । कर्णालीको जुम्ला र रुकुमको अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका हुन् भने रुकुम (पश्चिम) को अध्यक्षमा नन्दराम देवकोटा चयन भएका हुन् ।

अधिवेशन हुन बाँकी जिल्ला

१.कोशी–इलाम, मोरङ, तेह्रथुम

२. मधेस– सिराहा, सप्तरी, धनुषा

३.गण्डकी–मनाङ

४.कर्णाली–डोल्पा

५.सुदूरपश्चिम–अछाम, बझाङ र डोटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप