बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

दुईपटकका विजेता टोलीबिचको रोचक भिडन्त

बुधबार, ०५ असार २०८१, १६ : ४१
बुधबार, ०५ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डको सामना गर्दैछ । खेल सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपको ‘सुपर–८’ चरणमा खेल्न लागिएको यो दोस्रो खेल हो । प्रतियोगिताको ‘सुपर–८’ चरणमा वेस्ट इन्डिज र इंग्ल्यान्ड ‘समूह–२’ मा परेका छन् । दक्षिण अफ्रिका र आयोजक अमेरिका पनि यही समूहमा छन् ।

  • समूहगत चरणमा वेस्ट इन्डिज

वेस्ट इन्डिज प्रारम्भिक चरणमा समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । प्रारम्भिक चरणमा आफूले खेलेको चारवटै खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । त्यसैले जारी विश्वकपमा वेस्ट इन्डिज बलियो टोलीका रूपमा देखिएको छ । 

क्यारेबियन टोलीले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजले युगान्डामाथि एक सय ३४ रनको जित हात पारेको थियो । तेस्रो खेलमा वेस्ट इन्डिजले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डमाथि १३ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

यसैगरी आफ्नो चौथो खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो । समूहगत चरणको खेलमा सबैभन्दा ठुलो स्कोर बनाउने टोली पनि हो, वेस्ट इन्डिज । वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धको खेलमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।

त्यसअघि समूहगत चरणमा दुईवटा टोलीले मात्र दुई सयभन्दा बढीको स्कोर बनाउन सकेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा श्रीलंकाले दुई सय एक रन बनाएको थियो । इंग्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाले पनि दुई सय एक रन बनाएको थियो । 

यसका अतिरिक्त जारी विश्वकपको समूहगत चरणमा रनका आधारमा सबैभन्दा फराकिलो अन्तरले जित हात पार्ने टोली पनि वेस्ट इन्डिज नै हो । वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले हराएको थियो । वेस्ट इन्डिजले अफगानिस्तानलाई पनि एक सय चार रनले हराएको थियो । 

यसैगरी समूहगत चरणको खेलको ‘पावर प्ले’ अवधिमा (अघिल्लो ६ ओभरभित्र) सबैभन्दा बढी रन बनाउने टोली पनि हो, वेस्ट इन्डिज । वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धको खेलमा सुरुको ६ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाएको थियो । 

त्यो उपलब्धिसँगै वेस्ट इन्डिजले टी–२० विश्वकपमा १० वर्षअघिको कीर्तिमान पनि तोडेको थियो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा नेदरल्यान्ड्सले आयरल्यान्डविरुद्ध ‘पावर प्ले’ मा एक विकेट गुमाएर ९१ रन बनाएको थियो । 

  • वेस्ट इन्डिजका सफल ब्याट्सम्यान र बलर

यसैगरी जारी विश्वकपमा हालसम्म सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचीमा पनि वेस्ट इन्डिजका निकोलस पुरन दोस्रो स्थानमा छन् । निकोलस पुरनले चार पालीमा कुल एक सय ६४ रन बनाइसकेका छन् । वेस्ट इन्डिजका अर्का ब्याट्सम्यान सेरफन रुथरफोर्डले पनि चार पालीमा कुल ९३ रन बनाएका छन् ।

वेस्ट इन्डिजका बलरहरू पनि लयमा छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा वेस्ट इन्डिजका दुई खेलाडी संयुक्त रूपमा दोस्रो स्थानमा छन् । क्यारेबियन टोलीका बलर अकेल होसैन र अल्जारी जोसेफले नौ–नौ विकेट लिइसकेका छन् । गुडाकेश मोटीले पनि सात विकेट हात पारेका छन् ।

  • टी–२० विश्वकप र वेस्ट इन्डिज

वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । वेस्ट इन्डिज दुईपटकको टी–२० विश्वकप विजेता पनि हो । दुईपटक टी–२० विश्वकपको उपाधि जित्ने वेस्ट इन्डिज पहिलो राष्ट्र हो । 

वेस्ट इन्डिजले सन् २०१२ मा पहिलो पटक उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो । क्यारेबियन टोलीले सन् २०१६ मा दोस्रोपटक उपाधि हात पारेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो । 

  • समूहगत चरणमा इंग्ल्यान्ड

अर्कोतिर, जारी विश्वकपमा साबिक विजेता इंग्ल्यान्डको प्रदर्शन खासै सन्तोषजनक थिएन । इंग्ल्यान्ड समूह ‘बी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको हो । इंग्ल्यान्डले चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।

इंग्ल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । इंग्ल्यान्ड र स्कटल्यान्डबिचको खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्डलाई अस्ट्रेलियाले ३६ रनले हराएको थियो । तेस्रो खेलमा इंग्ल्यान्डले ओमानलाई आठ विकेटले पराजित गरेको थियो । चौथो खेलमा इंग्ल्यान्डले नामिबियालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ४१ रनले हराएको थियो । 

  • इंग्ल्यान्डका सफल ब्याट्सम्यान र बलर

जारी विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ह्यारी ब्रुक हुन् । उनले दुई खेलमा कुल ६७ रन बनाएका छन् । जस बट्लरले पनि टोलीका लागि ६६ रन बनाएका छन् । फिल साल्टले पनि ६० रन जोडेका छन् ।

Harry-Brook-1

यसैगरी जारी विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर जोफ्रा आर्चर हुन् । उनले पाँच विकेट लिएका छन् । अदिल रसिदले पनि इंग्ल्यान्डका लागि पाँच विकेट लिइसकेका छन् । तुलनात्मक रूपमा जारी विश्वकपमा इंग्ल्यान्डको भन्दा वेस्ट इन्डिजको प्रदर्शन गतिलो देखिन्छ ।

  • टी–२० विश्वकप र इंग्ल्यान्ड

टी–२० विश्वकपमा इंग्ल्यान्डको पनि यो नवौँ सहभागिता हो । इंग्ल्यान्डले पनि पहिलो संस्करणदेखि नै विश्वकप खेल्दै आएको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजबिच अर्को पनि एउटा समानता छ । इंग्ल्यान्डले पनि दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ ।

इंग्ल्यान्डले सन् २०१० मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । त्यतिबेला फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो । इंग्ल्यान्डले सन् २०२२ मा दोस्रो पटक उपाधि चुमेको थियो । त्यतिबेला फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

  • टी–२० अन्तर्राष्ट्रियमा दुई टोलीबिच भिडन्त

यसको विपरित विगतको इतिहासलाई हेर्दा भने वेस्ट इन्डिजभन्दा इंग्ल्यान्ड बलियो देखिन्छ । हालसम्म यी दुई राष्ट्रबिच कुल २९ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १७ खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । बाँकी १२ खेलमा वेस्ट इन्डिज विजयी भएको छ । 

165433-uadunlsieq-1634887405

यी दुई टोलीबिच खेलिएको पछिल्लो पटक क्यारेबियन राष्ट्रमा पाँच खेलको टी–२० शृङ्खला खेलिएको थियो । त्यो शृङ्खलामा वेस्ट इन्डिजले तीन र इंग्ल्यान्डले दुई खेल जितेका थिए । टी–२० विश्वकपमा भने यी दुई राष्ट्रबिच कुल ६ खेल खेलिएको छ । 

  • टी–२० विश्वकपमा दुई टोलीबिच भिडन्त

विश्वकपमा खेलिएको कुल ६ मध्ये वेस्ट इन्डिजले पाँच खेलमा इंग्ल्यान्डलाई हराएको छ । एक खेलमा भने इंग्ल्यान्ड विजयी भएको छ । पछिल्लो पटक यी दुई टोली सन् २०२१ को टी–२० विश्वकपमा आपसमा भिडेका थिए । त्यो खेलमा इंग्ल्यान्ड विजयी भएको थियो । 

वेस्ट इन्डिजविरुद्धको एउटै खेलमा सर्वाधिक रन बनाउने इंग्ल्यान्डका ब्याट्सम्यान फिल साल्ट हुन् । उनले वेस्ट इन्डिजविरुद्ध बनाएको उच्च स्कोर एक सय १९ रन हो । इंग्ल्यान्डविरुद्ध एउटै खेलमा सर्वाधिक रन बनाउने क्यारेबियन ब्याट्सम्यान भने रोभमन पोवेल हुन् । उनले इंग्ल्यान्डविरुद्ध बनाएको उच्च स्कोर एक सय सात रन हो । 

  • ड्यारेन सामी क्रिकेट स्टेडियम

इंग्ल्यान्ड र वेस्ट इन्डिजबिचको खेल ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिने छ । यो स्टेडियममा हालसम्म २० वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये १० खेलमा पहिले ब्याटिङ गर्ने टोली र बाँकी १० खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । 

darren sammy cricket stadium

यो स्टेडियममा बनेको उच्च स्कोर पाँच विकेट गुमाएर दुई सय १८ रन हो । सन् २०२४ मा वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध उक्त स्कोर बनाएको हो । यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर एक सय पाँच रन हो । यो स्कोर सन् २०१० मा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध बनाएको थियो । 

यो स्टेडियममा बन्ने औसत रन एक सय ६६ हो । यो स्टेडियममा कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा ठुलो विजयलक्ष्य एक सय ९७ रन हो । सन् २०१० मा पाकिस्तानविरुद्ध अस्ट्रेलियाले १९.५ ओभरमा सात विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजयलक्ष्य पुरा गरेको थियो । 

यो स्टेडियममा कुनै पनि टोलीले हासिल गरेको सबैभन्दा सानो विजयलक्ष्य एक सय ४५ रन हो । सन् २०२१ मा अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले ६ विकेट गुमाएर एक सय ४५ रन बनाउँदै यो विजयलक्ष्य पुरा गरेको थियो ।  

  • सुरेश रैना र देवेन्द्र बिसुको नाममा लेखिएको इतिहास

suresh raina

यो स्टेडियममा खेलिएको एउटै खेलमा उच्च स्कोर बनाउने खेलाडी भारतका सुरेश रैना हुन् । उनले सन् २०१० मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६० बलमा एक सय एक रन बनाएका थिए । 

यो स्टेडियममा खेलिएको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर वेस्ट इन्डिजका देवेन्द्र बिसु हुन् । उनले सन् २०११ मा खेलिएको पाकिस्तानविरुद्धको खेलमा चार ओभरमा केवल १७ रन खर्चिएर चार विकेट लिएका थिए । 

devendra bishoo

यसैगरी यो स्टेडियममा हालसम्म कुल दुई सय ७९ छक्का र चार सय ७८ चौका प्रहार भइसकेको छ । एउटा शतक बनेको छ भने विभिन्न टोलीका खेलाडीले ३३ वटा अर्धशतब प्रहार गरेका छन् । 

  • ड्यारेन सामी स्टेडियम र वेस्ट इन्डिज

ड्यारेन सामी क्रिकेट स्टेडियममा हालसम्म वेस्ट इन्डिजले कुल १० वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमध्ये वेस्ट इन्डिज ६ खेलमा विजयी र चार खेलमा पराजित भएको छ । यो स्टेडियममा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै पाँच खेल जितेको छ ।

वेस्ट इन्डिजले जवाफी ब्याटिङ गर्दै एक खेलमा सफलता हात पारेको छ । यो स्टेडियममा वेस्ट इन्डिजले बनाएको उच्च स्कोर दुई सय १८ रन हो । वेस्ट इन्डिजले बनाएको सबैभन्दा कम स्कोर भने एक सय पाँच रन हो । 

  • ड्यारेन सामी स्टेडियम र इंग्ल्यान्ड

ड्यारेन सामी क्रिकेट स्टेडियममा हालसम्म इंग्ल्यान्डले तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । तीनवटै खेलमा इंग्ल्यान्ड विजयी भएको छ । तीनवटै खेलमा जवाफी ब्याटिङ गर्दै इंग्ल्यान्डले सफलता हात पारेको हो । इंग्ल्यान्डले यो स्टेडियममा बनाएको उच्च स्कोर एक सय ६१ रन हो । इंग्ल्यान्डले बनाएको सबैभन्दा कम स्कोर भने एक सय ४५ रन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप