शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सुन व्यवसायीको विवाद : जर्ती नलिने घोषणा फिर्ता नभएपछि वार्ता निष्कर्षविहीन

बुधबार, ०५ असार २०८१, १६ : २०
बुधबार, ०५ असार २०८१

काठमाडौँ ।  सुनचाँदी व्यवसायीहरुबीचमा उपभोक्ताबाट जर्ती बापतको शुल्क लिने कि नलिने भन्नेबारे देखिएको विवाद थप लम्बिने देखिएको छ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले उपभोक्ताबाट जर्ती बापतको कुनै पनि शुल्क नलिने घोषणा गरेपछि उत्पन्न  विवाद समाधानका लागि बुधबार भएको वार्ता निष्कर्ष विहीन भएको हो । 

राजधानीको त्रिपुरेश्वरस्थित नेपाल सुनचाँदी रत्न तथा आभूषण संघको कार्यालयमा भएको वार्तामा विवाद समाधानको पहल भएपनि कुनै सहमति जुट्न नसकेको संघका एक पदाधिकारीले बताए । 

बैठकमा रिद्धि सिद्धिका तर्फबाट सहभागी नरेन्द्र कुमार गुप्ताले उपभोक्ताबाट जर्ती भनेर रकम असुल्नु जायज नभएको भन्दै सबै व्यवसायीले जर्तीको व्यवस्था हटाउनुपर्ने धारणा राखे । यस्तै उनले जर्तीको नाममा ठुलो रकम अपचलन भइरहेको भन्दै यसबारे समेत संघ तथा महासङ्घहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए । 

बैठकमा सहभागी केही व्यवसायीले वैज्ञानिक ज्यालादर निर्धारण गरेर जर्तीको व्यवस्था हटाउन सकिने बताएपनि नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष अर्जुन रसाइलीलगायतले भने जर्ती नभई नहुने भन्दै रिद्धि सिद्धिले नै आफ्नो निर्णय फिर्ता लिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए । 

रसाइली लगायतको अडानपछि ३ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको ती पदाधिकारीको भनाइ छ । 

यस्तै गुप्ताले पनि बैठकपछि भने, ‘अब जर्ती नलिऊँ र ज्याला वैज्ञानिक लिऔँ भन्ने थियो । सौहार्दपूर्ण वातावरण छलफल पनि भएको हो तर, सहमति जुट्न सकेन ।’ जर्ती लिनै पर्ने जिद्धि भएपछि वार्ता सफल नभएको उल्लेख गर्दै उनले रिद्धि रिद्धिले उपभोक्ताको पक्षमा लिएको क्रान्तिकारी निर्णय कायमै रहने बताए । 

उनले कुल कारोबार हुने सुनमध्ये जर्तीको नाममा मात्रै वार्षिक करिब ३६५० किलो सुन हिनामिना भएको दाबी गर्दै यो छानबिनको विषय भएको बताए । उनले जर्तीको नाममा सुन कटाएर बिलमा मात्रै हराइरहेको पनि बताए । 

रिद्धि सिद्धिले पछिल्लो समय सुनको गहना बनाउन जर्तीको शुल्क नलिएर ज्यालामात्रै लिने घोषणा गरेको छ । जसअुनसार रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामा सुनका गहना दिने घोषणा गरेपछि अन्य केही व्यवसायीले विरोध गर्दै आएका छन् । यही विवादका बीच बुधबार वार्ता भएपनि सहमति हुन नसकेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप